लगातार तीन खेलमा हार व्यहोरेको नेपाल एपिएफ क्लब आइतबार सहिद स्मारक ए डिभिजन लिगको चौथो चरणमा अंक जोड्न सफल भएको छ । खराब फर्ममा गुज्रिरहेको एपिएफले दशरथ रंगशालामा पूर्वविजेता थ्री स्टारलाई गोलरहित बराबरीमा रोकेको हो । उपाधि दाबेदार मानिएको थ्री स्टारलाई रोकेको एपिएफले एक अंक खातामा चढाएको छ ।
अघिल्लो खेलमा सातदोबाटोसँग १–० ले स्तब्ध भएको थ्री स्टारले चार खेलबाट पाँच अंक जोडेको छ । थ्री स्टार पाँचौँ स्थानमा उक्लेको छ । लिगमा संकटा, नेपाल पुलिस र न्युरोडले पाँचै अंक जोडेका छन् । तर, गोलअन्तरमा थ्री स्टारले उनीहरूलाई पछि पारेको छ । लिगमा थ्री स्टारले लिगमा दोस्रोपटक बराबरी नतिजा आत्मसात् गरेको हो । यसअघि थ्री स्टारले फ्रेन्ड्ससँग १–१ को बराबरी खेलेको थियो । पहिलो चरणमा थ्री स्टारले च्यासल युथमाथि ३–० को सानदार जित निकाली लिगमा उत्कृष्ट सुरुवात गरेको थियो ।
एपिएफको एक स्थान सुधार
कुमार थापाको प्रशिक्षणमा रहेको एपिएफले सुधारिएको प्रदर्शन गर्दा लिगमा एक स्थान सुधार गरेको छ । एपिएफ एक अंकका साथ १३औँ स्थानमा उक्लिएको छ । यद्यपि, एपिएफ रेलिगेसन जोनमै छ । एपिएफ पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३–२ ले पराजित भएको थियो । त्यसपछि च्यासलसँग १–० ले हारको सामना गरेको एपिएफ नव प्रवेशी सातदोबाटोसँग ४–१ ले पराजित भयो ।
पुछारको जावलाखेल अंकविहीन छ । थ्री स्टारले एपिएफविरुद्ध आक्रामक खेल रणनीति अपनाएको थियो । तर, थ्री स्टारको फिनिसिङ कमजोरी एपिएफसँगको प्रतिस्पर्धामा पनि निरन्तर देखियो । खेलको २९औँ मिनेटमा हेमन्त थापामगरको कर्नरमा रिमगागोको हेडिङ क्रसबारमाथि गएको थियो । त्यसको लगत्तै एपिएफले एक राम्रो गोल अवसर गुमायो । खेलको ३०औँ मिनेटमा मणिकुमार लामाले प्रहार गरेको फ्रिकिकलाई थ्री स्टारका गोलरक्षक प्रिसोले गोललाइनमा मुस्किलले नियन्त्रणमा लिए । मध्यान्तरमा एपिएफ राम्रो देखिएको थियो ।
एपिएफको सुधारिएको प्रदर्शन
एपिएफका प्रशिक्षक थापा बलियो टोलीविरुद्ध अंक बटुल्न पाउँदा खुसी देखिए । ‘आजको खेलमा एक अंक बटुलेका छौँ, यसमा निकै खुसी छु,’ थापाले भने, ‘मलाई विश्वास छ, आउने खेलमा अझ खेल सुधारिनेछ ।’ थ्री स्टारविरुद्धको प्रतिस्पर्धामा खेलाडीले शतप्रतिशत जितका लागि मिहिनेत गरेको उनको भनाइ छ । ‘मेरा खेलाडीले आज निकै मिहिनेत गरेका छन्, उनीहरूले अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्न सफल भए,’ खेलाडीको प्रशंसा गर्दै थापाले भने, ‘सम्भवतः खेलअनुसार तीन अंक पाउनुपर्ने थियो ।’ थ्री स्टारको तुलनामा एपिएफले गोल सिर्जना धेरै निकालेको थापाको दाबी रह्यो । ‘खेल हे¥यौँ भने हामीले नै जित्नुपर्ने थियो, थ्री स्टारमाथिको दबाब अन्तिमसम्म कायम नै भयो, तर प्राप्त मौका गोलमा परिणत भएन,’ उनले भने ।
मध्यान्तरपछि थ्री स्टार कमजोर
दोस्रो हाफमा थ्री स्टारले गोल अवसर सिर्जना नै गर्न सकेन । मध्यान्तरपछिको खेलमा एपिएफ निकै बलियो देखिएको थियो । तर, खेलाडीले उत्कृष्ट फिनिसिङ गर्न नसक्दा एपिएफ एक अंकमै सीमित भयो । थ्री स्टारका प्रशिक्षक रवीन्द्र सिंखाकारले एपिएफ दबाबमा रहेका कारण नै आफूहरूविरुद्ध राम्रो खेलेको बताएका छन् । ‘हामी आक्रामक शैलीमा प्रस्तुत भएका थियौँ, तर खेल अगाडि बढ्दा दबाबको सामना गर्न बाध्य भयौँ,’ थ्री स्टारका प्रशिक्षक सिंखाकारले भने, ‘हामीले जुन किसिमको प्रदर्शन गर्नुपर्ने थियो, त्यो एपिएफविरुद्ध गर्न सकेनौँ ।
एपिएफको १५०औँ खेल
विभागीय टोली एपिएफले आइतबार थ्री स्टारविरुद्ध प्रतिस्पर्धा गर्दै एउटा रेकर्ड बनाएको छ । ए डिभिजन लिगमा एपिएफको यो १५०औँ खेलका रूपमा रह्यो । लगातार हारको जिंक पनि एपिएफले थ्री स्टारविरुद्ध नै तोडेको छ । रेलिगेसनमा संघर्षरत एपिएफले एक अंक बटुल्दा राहतको महसुस गरेको छ । एपिएफले थ्री स्टारसँग ०६९ पछि लगातार हारको शृंखला पनि तोडेको छ ।
इतिहास हेर्दा थ्री स्टार एपिएफमाथि बलियो नै देखिन्छ । आइतबारको खेलमा भने एपिएफले थ्री स्टारविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपालको माथिल्लो डिभिजन लिगमा एपिएफले ०६२ सालमा सीधै इन्ट्री गरेको थियो । लिग इतिहासमा एपिएफले थ्री स्टारमाथि एकपटक मात्र जित निकालेको छ । ०६८ को लिगमा एपिएफले थ्री स्टारलाई ४–० को फराकिलो अन्तरले हराएको थियो ।
सो खेलमा स्ट्राइकर गणेश लावतीले थ्री स्टारको पोस्टमा चारै गोल गरेका थिए । ०६८ पछिका लिगमा थ्री स्टारले पाँच खेलमा एपिएफलाई हराएको छ । ०६९ मा थ्री स्टारले एपिएफलाई २–१ ले निराश पार्यो । अखिल नेपाल फुटबल संघले ०७० मा दोहोरो लिग अवधारणा ल्याएको थियो । जसमा थ्री स्टारले दुवैपटकको लिगमा एपिएफलाई समान २–१ कै नजितामा पाखा लगायो । लगभग चार वर्ष ए डिभिजन लिग हुन सकेन ०७५ मा थ्री स्टारले रञ्जन विष्टको दुई गोलको मद्दतमा एपिएफमाथि २–० को जित निकाल्यो । गत वर्ष थ्री स्टारले एपिएफलाई १–० ले हरायो ।