नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश अधिवेशन शनिबारबाट सुरु भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सातवटै प्रदेशको अधिवेशन भर्चुअल माध्यमबाट संयुक्त रूपमा उद्घाटन गरे। धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेश अधिवेशनमा करिब एक हजार दुई सयजना प्रतिनिधिको सहभागिता रहेको छ। अधिवेशनले नौजना पदाधिकारीसहित दुई सय २३ सदस्यीय प्रदेश कमिटी गठन गर्ने माओवादी केन्द्रका प्रदेश इन्चार्ज खगराज भट्टले जानकारी दिए। सहमतिका आधारमा प्रदेश कमिटी गठनको प्रयास भइरहेको उनले बताए। सहमति नभएको अवस्थामा लोकतान्त्रिक विधि निर्वाचनका माध्यमबाट प्रदेश कमिटी गठन हुने माओवादी केन्द्रले जनाएको छ।
दुई सय २३ सदस्यीय प्रदेश कमिटी गठन हुने र त्यही कमिटीले पदाधिकारी चयन गर्नेछ। प्रदेश अध्यक्षका लागि सातजना आकांक्षी देखिएका छन्। यद्यपि, आकांक्षीहरूले आफ्नो दाबी औपचारिक घोषणा गरिसकेका छैनन्। आइतबार हुने बन्दसत्रमा नेतृत्व चयनबारे छलफल हुने बताइएको छ।
वर्तमान प्रदेश अध्यक्ष एवं केन्द्रीय सदस्य शरदसिंह भण्डारी, प्रदेशका सहइन्चार्ज एवं केन्द्रीय सदस्यद्वय वीरमान चौधरी, नेपबहादुर चौधरी, केन्द्रीय सदस्य एवं बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुँवर अध्यक्षका आकांक्षी हुन्। यस्तै, माओवादी सुदूरपश्चिम प्रदेश कमिटी सदस्यसमेत रहेका राष्ट्रिय सभा सदस्य हरि चौधरी ‘उत्सव’ र प्रदेश कमिटी सदस्य हरि ज्ञवालीले पनि अध्यक्षमा आकांक्षी देखाएका माओवादी स्रोतले जनाएको छ।
सहमतिका आधारमा नेतृत्व चयनका लागि प्रयास भइरहेको नेताहरूले बताएका छन्। कमिटी गठन गर्दा पहिलो प्राथमिकता सहमतिको प्रयास रहने इन्चार्ज भट्टले बताए। ‘सहमति जुट्न सकेन भने लोकतान्त्रिक विधिबाट नेतृत्व छान्छौँ।’ उनले भने, ‘पालिका र वडा अधिवेशनमा पनि सहमति नभएको ठाउँमा हामीले यो अभ्यास गरिसकेका छौँ।’ निर्वाचन भए पनि स्वच्छ र वैज्ञानिक पद्धतिबाट हुने उनको दाबी छ।
माओवादीमा प्रतिनिधिले कार्यसमिति सदस्य र सदस्यहरूले सदस्यबाटै पदाधिकारी चयन गर्ने व्यवस्था छ। समितिमा महिला प्रतिनिधित्व ३५ प्रतिशत, ४० वर्षमुनिका युवा २० प्रतिशत, दलित १५ प्रतिशत र मुस्लिम समुदायको प्रतिनिधित्व ५ प्रतिशत अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ। माओवादीले पालिका र वडा सम्मेलन यसअघि सम्पन्न गरिसकेको छ। सुदूरपश्चिममा माओवादीका ८० हजार ४२७ हजार सदस्य रहेका माओवादी प्रदेश अध्यक्ष शरदसिंह भण्डारीले जानकारी दिए। सबैभन्दा बढी कैलालीमा २८ हजार ५४७ जनाले पार्टी सदस्य लिएकाे उनले बताए।