मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २२ बुधबार ०६:४५:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सन्दीपसहित ११ नेपाली खेलाडी पिएसएलको ड्राफ्टमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २२ बुधबार ०६:४५:००

नेपालका लेग स्पिनर सन्दीप लामिछानेसहित ११ नेपाली खेलाडी पाकिस्तानको सुपर लिग (पिएसएल)को ड्राफ्टमा परेका छन् । पाकिस्तानको विभिन्न सहरमा अर्को वर्ष २७ जनवरीदेखि २७ फेब्रुअरीसम्म पिएसएल लिग हुने गर्छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेट किपर ब्याट्सम्यान विनोद भण्डारी, सोमपाल कामी, सुसन भारी, शरद भेषवाकर, सुवास खकुरेल, ललितनारायण राजवंशी, पवन सर्राफ, वसन्त रेग्मी, साहव आलम र विक्रम सोब पिएसएल लिगको ड्राफ्टमा परेको पाकिस्तानी एजेन्सीहरूले जनाएका छन् । 

ड्राफ्टमा परेका खेलाडीको किनबेच (अक्सन) १२ डिसेम्बरमा हुनेछ । गत वर्ष सिल्भर क्याटेगोरीको विदेशी कोटामा नेपाली टोलीका ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, कुशल मल्ल, पारस खड्का, अभिनाश बोहोरा, पवन सर्राफ र आसिफ सेख ड्राफ्टमा छनोट भएका थिए । तर, पिएसएलका फ्रेन्चाइज टोलीले उनीहरूमाथि नजर नै लगाएनन् । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले खेलाडीहरूलाई प्लाटिनम, डायमन्ड, गोल्ड, सिल्भर र इमर्जिङ क्याटेगोरीमा विभाजन गरेको छ ।

 सन्दीप प्लाटिनममा
सन्दीप प्लाटिनम समूहमा छन् । यो क्याटेगोरीमा छनोट हुने खेलाडीले कम्तीमा एक लाख ३० हजारदेखि एक लाख ७० हजार डलरसम्म पाउनेछन् । गत वर्ष पनि सन्दीपले आफूलाई प्लाटिनम क्याटेगोरीमा राखेका थिए । तर, उनी बिकेनन् । अहिले सन्दीप अस्ट्रेलियाको चर्चित बिग बास लिग (बिबिएल) खेल्न अस्ट्रेलियामै छन् ।
प्लाटिनममा रसिद खान, क्रिस लियन, डेभिड मिलर, क्रिस गेल तथा टोम बान्टोनजस्ता विश्वचर्चित खेलाडी छन् । सन्दीपले यिनै दिग्गज खेलाडीसँग ड्राफ्टमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

नेपालका विकेट किपर विनोद गोल्ड क्याटेगोरीमा परेका छन् । यसैगरी, सिल्भर क्याटेगोरीमा नेपालका फास्ट बलर सोमपाल, सुसन, शरद, सुवास, ललितनारायण, पवन, वसन्त, विक्रम र सहाव रहेका छन् । पिसिबीका अनुसार यसपटक ड्राफ्टमा विभिन्न मुलुकका तीन सय ५६ विदेशी खेलाडी छन् । पिएसएलका फ्रेन्चाइज टोलीले प्लाटिनम, डायमन्ड र गोल्ड क्याटेगोरीबाट समान तीन विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने हुन्छ । सिल्भर क्याटेगोरीबाट पाँच विदेशी खेलाडीसम्म किन्न पाउने व्यवस्था छ । यसपटक इमर्जिङ र वैकल्पिकका रूपमा सहभागी टोलीले समान दुई खेलाडी अनुबन्ध गर्न सक्छन् ।

 पिसिबीका अनुसार प्रत्येक टोलीमा १६ खेलाडी हुनुपर्नेछ । जसमध्ये पाकिस्तानका ११ खेलाडी अनिवार्य रूपमा समावेश गर्नुपर्ने पिसिबीले जनाएको छ । प्रतिस्पर्धाको दिनमा चार विदेशी खेलाडीलाई मैदानमा उतार्न सकिन्छ । खेलाडी रिजर्भमा राख्नुपर्ने भएकाले पिसिबीले यसपटक सहभागी टोलीलाई खेलाडी धेरै राख्न पाउने व्यवस्था मिलाउने तयारी गरेको छ । पाकिस्तानको इस्लामाबाद, कराँची, लाहोर, पेसावर तथा वेन्टा सहरका नाममा टोली बनेका छन् । प्रतियोगिताका सुरुवाती १५ खेल कराँचीमा हुनेछन् । लाहोरमा फाइनल खेल हुनेछ ।