९ महिनापछि सरुवा खुल्यो
सरकारले झन्डै ९ महिनापछि स्थानीय तहका १ हजार ६५० कर्मचारीको एकसाथ सरुवा गर्ने भएको छ । लोकसेवा आयोगबाट सिफारिसमा नियुक्त भई स्थानीय तहमा कार्यरत ती कर्मचारीलाई ‘अन्तर स्थानीय तह कामकाज’का नाममा सरुवा गर्न लागिएको हो । ‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ अनुसार कर्मचारीको सरुवा हुन लागेको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए ।
सरकारले यसअघि पनि स्थानीय तहका कर्मचारीको सरुवा गरेको थियो । तत्कालीन संघीय मामिलामन्त्री गणेश ठगुन्नाले गत २९ माघमा ‘लोकसेवा आयोगको सिफारिसमा नियुक्त भई खटिएका कर्मचारीलाई कामकाजका लागि अन्तरस्थानीय तहमा खटाउने निर्णय गरेका थिए ।
तर, उनले १ चैतमा अन्तर स्थानीय तह सरुवा रोकिदिएका थिए । योबीचमा संघीय मामिला मन्त्री र मन्त्रालयका उच्च अधिकारीको जोडबलमा अन्तरतह सरुवा हुँदै आए पनि नियमतस् सरुवा खुलेको थिएन । दोहोरो सहमतिका आधारमा अन्तर स्थानीय तह सरुवा हुन लागेको अधिकारीले बताए ।