सुदूरपश्चिम प्रदेश सरकारले डेढ दशकभित्र पाँच हजार किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्यसहित सडकको गुरुयोजना तयार गरेको छ । प्रदेश सरकारअन्तर्गत यातायात पूर्वाधार निर्देशनालयले तयार पारेको गुरुयोजनामा नौवटै जिल्लाका एक सय ६६ सडक समावेश गरिएको छ ।
कुल पाँच हजार किलोमिटर लम्बाइका यी सडक कालोपत्रे गर्न करिब डेढ खर्ब लाग्ने निर्देशनालयको अनुमान छ । बढीमा १५ वर्षभित्र गुरुयोजनाअनुसार सडक निर्माण कार्य पूरा गरिने यातायात पूर्वाधार निर्देशनालयका प्रमुख जगतप्रसाद जोशीले बताए । ‘स्रोत जुटाउन सके १० वर्षभित्रै पाँच हजार किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य हो, समस्या भए बढीमा १५ वर्ष लाग्ला,’ जोशीले भने, ‘गुरुयोजनालाई अन्तिम रूप दिएर राजपत्रमा प्रकाशित गर्ने तयारी छ ।’ हरेक पालिका केन्द्रसम्म कालोपत्रे सडक पुर्याउने र ग्रामीण क्षेत्रलाई सडक सञ्जालसँग जोड्ने लक्ष्य गुरुयोजनाको छ । जिल्ला सदरमुकामदेखि पालिका केन्द्र जोड्ने, राजमार्गदेखि पालिका जोड्ने र दुई वा दुईभन्दा बढी जिल्ला जोड्ने आधारमा सडक योजनाहरू छनोट गरिएको निर्देशनालयले जनाएको छ । त्यस्तै, उत्तर–दक्षिण र पूर्व–पश्चिम जोड्ने, पर्यटकीय केन्द्र तथा आर्थिक केन्द्र जोड्ने सडकलाई गुरुयोजनामा समावेश गरिएको निर्देशनालयका प्रमुख जोशीले जानकारी दिए ।
तराइका दुई जिल्ला कैलालीमा पाँच सय ५६ किलोमिटर लम्बाइका २३ वटा सडक र कञ्चनपुरमा दुई सय ७९ किलोमिटर लम्बाइका १४ वटा सडकलाई गुरुयोजनामा समावेश गरिएका छन् । त्यस्तै, अछाममा सात सय ७२ किलोमिटर लम्बाइका १९ वटा, बैतडीमा सात सय १२ किलोमिटरका २६ वटा र डोटीमा ६ सय १७ किलोमिटर लम्बाइका १५ वटा सडक कालोपत्रे गरिनेछन् । सुदूरपश्चिमको विकट हिमाली जिल्ला बाजुरामा २० वटा र दार्चुलामा १७ वटा सडकलाई गुरुयोजनामा समावेश गरिएको छ, जसको लम्बाइ क्रमशः चार सय ८९ किलोमिटर र चार सय ४२ किलोमिटर रहेको छ । बझाङमा ६ सय ४८ किलोमिटर लम्बाइका १९ वटा सडक, डडेलधुरामा १३ वटा योजनाअन्तर्गत चार सय ७९ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य छ । यीमध्ये अधिकांश ट्र्याक खोलिएका छन् । सडकहरूलाई प्रदेश लोकमार्ग र सहायक लोकमार्ग भनेरसमेत वर्गीकरण गरिएको छ ।
यातायात पूर्वाधार निर्देशनालयका अनुसार प्रदेशका ८८ वटा पालिकामध्ये तीनवटा पालिकाको केन्द्रसम्म सडक नै पुगेको छैन । त्यस्तै, ३२ वटा पालिकाको केन्द्रलाई कालोपत्रे सडकले छोएको छैन । करिब सात वर्षको अवधिमा प्रदेश सरकारले पाँच सय २५ किलोमिटर सडक मात्र कालोपत्रे गर्न सकेको छ । सरकारले हालसम्म करिब एक सय, दुई सय किलोमिटर सडक ग्राभेल गरेको र करिब दुई हजार किलोमिटर ट्र्याक खोलेको पूर्वाधार निर्देशनालयका प्रमुख जोशीले जानकारी दिए । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालले आगामी वर्षदेखि सडक गुरुयोजनामा समावेश भएका सडकमा मात्र बजेट विनियोजन गरिने बताए ।