मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २५ बिहीबार
  • Thursday, 09 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २५ बिहीबार o७:४५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

शान्ति प्रक्रिया टुंग्याउन माओवादीले दबाब दिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २५ बिहीबार o७:४५:oo

प्रमुख प्रतिपक्षी दल माओवादीले शान्ति प्रक्रिया टुंग्याउन दबाब दिने भएको छ । शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउन दलहरूसँग छलफल गर्ने र सरकारलाई दबाब दिने नीति माओवादीले लिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाँडै दलका शीर्ष नेताहरूसँग भेटेर ध्यानाकर्षण गराउने र रोकिएको प्रक्रिया अघि बढाउन आग्रह गर्ने तयारी गरेका छन् । शान्ति प्रक्रिया लम्बिनुका धेरै कारण रहेको र अहिले ती कारणका पोका खोल्ने पक्षमा आफू नरहेको उनले बताए । आवश्यक परे सडक संघर्षमा समेत जाने तयारी माओवादीको छ ।

सडकबाट दबाब नदिई शान्ति प्रक्रिया अघि नबढ्ने निष्कर्ष माओवादीको छ । राज्यद्वारा बेपत्ता पारिएका राजेन्द्र ढकालको २६औँ स्मरण दिवसका अवसरमा ढकाल परिवारले आयोजना गरेको ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ विषयक कार्यक्रममा बुधबार प्रचण्डले शान्ति प्रक्रियालाई केही राजनीतिक शक्तिले माओवादीविरुद्ध प्रयोग गर्ने हतियारका रूपमा लिएको दाबी गरे । 

राजनीतिक सहमतिकै आधारमा शान्ति प्रक्रिया टुंग्याउनुपर्छ भनेर आफूले निरन्तर पहल गरेको उनले बताए । ‘अघिल्लो संसद्कै वेलामा विधेयक टुंग्याउने कुरा थियो, तर अन्तिममा समस्या आयो,’ उनले भने, ‘यसपटक विधेयक टुंगिएर पनि आयोग गठनका लागि सिफारिस समिति बनेको वेलामा अन्तिम समयमा समस्या आएको छ, यसको मुख्य कारण राजनीतिक नै हो । शान्ति प्रक्रियालाई माओवादी कमजोर बनाउने अन्तिम हतियारका रूपमा लिएकाले नै यो नटुंगिएको हो । अब बिस्तारै दबाब बढाउन यो विषय सडक र सदनमा लैजानुपर्छ भन्ने लागेको छ ।’

मंगलबार सम्पन्न माओवादी केन्द्रीय समिति बैठकले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने सन्दर्भमा देखिएको सरकारी उदासीनताप्रति आपत्ति जनाएको थियो । तत्काल सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका नागरिकहरूको छानबिनसम्बन्धी आयोगहरूको गठन प्रक्रिया अगाडि बढाइ शान्ति प्रक्रियाका बाँकी कार्य सम्पन्न गर्न बैठकले माग गरेको थियो । 

माओवादीले पीडितहरूको पक्षबाट नेतृत्व गर्ने प्रचण्डको दाबी छ । पीडितहरूले पटक–पटक यो विषयलाई उठाइरहनुपर्ने भन्दै उनले सडक आन्दोलनको तयारीमा जुट्न सुझाव दिए । पीडितले सरकार र राजनीतिक नेतृत्वलाई अब त शान्ति प्रक्रिया नटुंग्याए बर्बाद हुन्छ भन्ने ठाउँमा नपुर्‍याएसम्म अर्को १८ वर्ष यत्तिकै जाने खतरा रहेको उनले औँल्याए । प्रचण्डले दबाब बढ्दै गयो भने शान्ति प्रक्रिया चाँडै टुंगिने, तर दबाब पुगेन भने राजनीति हाबी भएर समस्या जहाँको त्यहीँ रहने बताए । १२ बुँदे समझदारी र शान्ति सम्झौता संविधानको अंग भइसकेपछि कार्यान्वयन गर्नु राज्यको दायित्व भएको उनले बताए । 

प्रचण्डले युद्ध र क्रान्तिको नेतृत्वकर्ता तथा शान्ति सम्झौताको हस्ताक्षरकर्ता हुनुको नाताले छिटोभन्दा छिटो यो विषय टुंगियोस् भन्ने प्रयासमा रहेको स्पष्ट पारे । आफू प्रधानमन्त्री हुँदा पटक–पटक पीडितहरूलाई बोलाएर छलफल गरेको स्मरण गर्दै उनले सोचेजसरी टुंगिन नसकेको बताए । उनले पटक–पटक आफूलाई बहुमत र अल्पमतका आधारमा शान्ति प्रक्रियासँग जोडिएको विधेयक टुंग्याउन आग्रह गरिए पनि त्यसलाई इन्कार गरेको उनले स्पष्ट पारे । ‘हामीले जसरी १२ बुँदे समझदारी र शान्ति सम्झौतामा सहमति गरेका छौँ, त्यसैको मर्म र भावनाअनुसार नै यसलाई टुंग्याउनुपर्छ । यसबाट विचलित भयौँ भने कहिल्यै पनि टुंगिँदैन भनेर नै यसमा निरन्तर सहमतिको प्रयास भइरहेको छ,’ उनले भने । तत्कालीन जिल्ला बार एसोसिएसन गोरखाका अध्यक्ष ढकाललाई सुरक्षाकर्मीले २४ पुस ०५५ मा तनहुँबाट गिरफ्तार गरी बेपत्ता पारेका थिए ।