नेपाली कांग्रेसको प्रदेश २ अधिवेशन महाधिवेशनपश्चात हुने गरी स्थगित भएको छ ।
प्रदेश अधिवेशनको उद्घाटन भएको पाँच दिनपछि प्रदेश २ का निर्वाचन संजोजक तथा केन्द्रीय सदस्य रमेश रिजालले सोमबार बिहान पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशन स्थगित भएको जानकारी दिएका हुन् ।
सबै जिल्लाबाट अधिवेशन प्रतिनिधीहरूको नामावली प्रदेश निर्वाचन समितिलाई प्राप्त हुन नसकेको र जनकपुरधाम विवाहपञ्चमी भएकाले प्रदेश अधिवेशन पार्टीको महाधिशेनपश्चात् हुने गरी सबै पक्षको सहमतिमा प्रदेश अधिवेशन स्थगित गरिएको संयोजक रिजालले बताए ।
प्रदेशका २ का ८ वटा जिल्लामा ३२ वटा निर्वाचन क्षेत्र रहेको छ । ती मध्ये सप्तरीको १, रौतहटको १ र सर्लाहीका चारवटै निर्वाचन क्षेत्रबाट मतदाताहरूको नाम निर्वाचन समितिलाई प्राप्त भएको छैन । त्यस्तै, महोत्तरी क्षेत्र नं. ३ को अधिवेशन रद्द भएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
कांग्रेसको प्रदेश नेतृत्वका लागि अहिलेसम्म तीनजनाले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका छन् । सभापति तथा प्रधानमन्त्री शेरबहादुरर देउवाको समूहबाट रौतहटका सभापति कृष्ण यादव, उपसभापति विमलेन्द्र निधिको समूहबाट प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र रञ्जित कर्णले स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गरेका छन् ।