मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १७ शुक्रबार
  • Monday, 16 December, 2024
२o७८ मङ्सिर १७ शुक्रबार २o:१५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

शंकर पोखरेलले  टारीगाउँ  एयरपोर्ट बन्नु हुँदैन भनेर लबिङ गरे : मेटमणि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १७ शुक्रबार २o:१५:oo

नेकपा  (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्य  तथा लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चैधरीले दाङ तुल्सीपुरस्थित टारीगाउँ एयरपोर्ट स्तरवृद्धि गर्ने कार्य रोकिनुमा शंकर पोखरेलको हात रहेको बताएका छन् । शुक्रबार तुल्सीपुरमा भएको पार्टीको जिल्लास्तरीय भेलामा प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले भने, ‘६४ मा तुल्सीपुरका  जनताले भोट नदिएकै कारण शंकर पारखेलले यहाँको एयरपोर्ट  नबनाउने भन्ने लबिङ गर्नुभयो ।’ 

एयरपोर्टका लागि परेको बजेटमा समेत २५ प्रतिशतभन्दा बढी काम नगरेको उनले बताए। पोखरेल एयरपोर्ट स्तरवृद्धि गर्ने पक्षमा नरहेको समेत उनले बताए। साथै, शंकर पोखरेलले विभिन्न नौ ठाउँमा आफ्ना मान्छेहरूलाई नियुक्ति खुवाएको समेत चौधरीले आरोप लगाए।  

साथै, उनले घोराही–तुलसीपुर चार लेन  निर्माणको कार्य तुल्सीपुरका मेयर घनश्याम पाण्डेकै कारण ढिलासुस्ती भएको बताए। ‘घनश्याम पाण्डेको छोरा अनुप पाण्डे ठेकेदार हो कि घनश्याम पाण्डे ठेकेदार हो,?’ उनले भने, ‘उहिल्यै सकिने चार लेन सडक आज त्यसको पोजिसन के छ? आज निर्माण  गर्न नसकेर  पैसा असुल गरेर घनश्याम पाण्डेबाट ठेक्का खोसिएको छ।’ 

त्यस्तै, जनप्रतिनिधिहरूले अहिले करोडौँको भ्रष्टाचार गरेको समेत आरोप लगाए। ‘घनश्याम पाण्डे (तुल्सीपुर उपमहानगरपालिकाका मेयर)ले प्रत्येक योजनाबाट ७ प्रतिशत कमिसन खान्छन्,’ उनले भने, ‘धेरै योजनाहरू असफल बनाउनतिर पनि लागेका छन्।’  

अर्काे एक प्रसंगमा उनले विद्रोह गरेर उम्किएको पार्टी ठूलो पार्टी बन्ने पनि बताएका छन्। ‘इतिहासमा विद्रोह गरेर आएका पार्टीहरू ठूला बनेका छन्, अब एकीकृत समाजवादी पार्टी ठूलो बन्छ, देशकै नेतृत्व हामीले गर्छाैं,’ उनले भने ‘केपी ओलीको पार्टी विलय भएर जान्छ।’  

केपी ओलीले झापाबाट, शंकर पोखरेलले दाङबाट र विष्णु पौडेलले बुटवलबाट अब चुनाब नजित्नेसमेत बताए। उनले शंकर पोखरेलले जित्ने त के चुनाबमा लड्ने ठाउँसमेत नभेटाउने बताए।‘ शंकरले ०७४ सालको निर्वाचनमा तुल्सीपुरबाट चुनाब लड्ने  हिम्मत गरेनन्, हिम्मत नगरेपछि निर्वाचन क्षेत्र २ को क बाट चुनाब लडे। जहाँ उनको नामावलीसमेत छैन,’ उनले भने, ‘आफ्नो  निर्वाचन क्षेत्रका मान्छेको विश्वास छैन, कृष्णबहादुर महराको सहारा लिएर चुनाब जित्ने अपेक्षा गरेर चुनाब लडे। फेरि पनि ३ नम्बर क्षेत्रबाट चुनाब लड्ने हिम्मत गर्नेवाला छैनन्।’ हिम्मत भए आफ्नो निर्वाचन क्षेत्रमा आएर चुनाब लड्न पनि चौधरीले पोखरेललाई चुनौती दिए। ‘यदि चुनाब लड्ने कुनै पनि ठाउँ  नभए मेरो निर्वाचन क्षेत्रमा आउनु, चुनाबमा लाग्ने खर्च १५ लाख म दिन्छु,’ उनले भने । साथै, उनले सबै कम्युनिस्ट पार्टीसँग एकता गरेर अगाडि बढ्ने मार्गमा आफूहरू हिँडिरहेकोसमेत बताए।