त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले तीन दिनमै ४८ केजी सुन नियन्त्रणमा लिएको छ । विद्यमान कानुनविपरीत गरगहनाका नाममा काँचो सुन ल्याएको भन्दै भन्सार कार्यालयले विभिन्न मुलुकबाट आएका नौ सय ८५ नेपाली यात्रुबाट ४८ केजी एक सय १० ग्राम सुन नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएकामध्ये २९ केजी चार सय ९४ ग्राम सुन सम्बन्धित यात्रुले भन्सार महसुल तिरेर लगिसकेका छन् । बाँकी १८ केजी सुन भने कार्यालयमै रहेको छ । भन्सारले नियन्त्रणमा लिएको सुन ६० दिनभित्र भन्सार महसुल बुझाएर लैजान (छुटाउन) पाउने व्यवस्था रहेको छ ।
अहिले विदेशबाट फर्किएका यात्रुले ५० ग्रामसम्मको सुनका गरगहना साथमा ल्याउँदा भन्सार नलाग्ने कानुनी व्यवस्था रहेको छ । तर, राजस्व छल्ने नियतले काँचो सुनलाई समेत गहनाका रूपमा ल्याएपछि सरकारले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख महेश भट्टराईले जानकारी दिए । सुनका बाला र नौ स्टेपसम्मको बेरुवा औँठी बनाएर ल्याइएका सुन भन्सार राजस्व तिराउने प्रयोजनका लागि नियन्त्रणमा लिइएको उनले स्पष्ट पारे ।
‘गरगहना लगाउने नेपालको सामाजिक तथा सांस्कृतिक व्यवस्था र परम्परालाई ध्यानमा दिएर सरकारले विदेशबाट फर्किंदा प्रतियात्रुले ५० ग्रामसम्मको सुनका गरगहना ल्याउन पाउने व्यवस्था गरिदिएको छ,’ उनले भने, ‘तर, यो व्यवस्थाको दुरुपयोग गर्दै गरगहनाका नाममा काँचो सुन नै ल्याउने प्रवृत्ति बढेपछि भन्सार कार्यालयले त्यसलाई रोक्न अपरेसन सुरु गरेको छ ।’
भन्सार कार्यालयले यात्रुको व्यक्तिगत प्रयोगका मालवस्तु (गुन्टा) अन्तर्गत गरगहनाका नाममा काँचो सुन भित्रन थालेपछि त्यसलाई रोक्न १३ मंसिरदेखि अपरेसन सुुुरु गरेको हो । सोही दिन चार सय १५ यात्रुबाट २० केजी सात सय ५० ग्राम सुन नियन्त्रणमा लिइएको थियो । त्यस्तै, १४ मंसिरमा दुई सय ४४ यात्रुबाट १२ केजी दुई सय ग्राम र १५ मंसिरमा तीन सय २६ जना यात्रुबाट १५ केजी एक सय ६५ ग्राम सुन नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ ।
यसरी नियन्त्रणमा लिइएकामध्ये सात सय ५५ यात्रुले दुई करोड ८४ लाख रुपैयाँ राजस्व बुझाएर २९ केजी चार सय ९४ ग्राम सुन लगेका (छुटाएका) छन् । ‘भन्सार कार्यालयले कसैको पनि सुन जफत गरेको छैन, नियन्त्रणमा लिएको मात्रै हो,’ कार्यालय प्रमुख भट्टराईले भने, ‘उहाँ (यात्रु)हरूले कानुनअनुसार ६० दिनभित्र भन्सार महसुल बुझाएर सुन छुटाउन पाउनुहुन्छ, यसबीचमा नियन्त्रणमा लिएका सुनमध्ये सम्बन्धित यात्रुहरूले भन्सार महसुल बुझाएर सुन लैजानसमेत थालिसक्नुभएको छ ।’
गरगहनाका रूपमा काँचो सुन ल्याउनेमा वैदेशिक रोजगारीबाट फर्कने नेपालीदेखि गैरआवासीय नेपालीसम्म रहेका छन् । ‘८० देखि ९० प्रतिशतले अर्कैको सुन ल्याउने गरेको पाइयो, उनीहरू भरिया मात्रै देखिएका छन्,’ उनले भने, ‘बाँकी १० देखि २० प्रतिशत भने भ्रमण भिसामा गएर फर्कने (पर्यटक)हरू र गैरआवासीय नेपालीहरू रहेका छन् ।’ प्रतितोला १० हजार रुपैयाँसम्म फाइदा हुने भएकाले उनीहरूले विदेशबाट गरगहनाका नाममा काँचो सुन ल्याएर नेपाली बजारमा बिक्री गर्ने गरेका छन् । अपरेसनका क्रममा वैदेशिक रोजगारीबाट फर्किएका यात्रुलाई प्रतिव्यक्ति पाँच हजार रुपैयाँ दिएर, सुन बोकाएर पठाउने गरेको पाइएको उनले जानकारी दिए ।
भिजिट भिसामा जाने नेपालीले समेत पासमा ५० ग्राम सुन ल्याउने गरेको देखिएको कार्यालयले जनाएको छ । अहिले वैदेशिक भ्रमणमा जाँदा एक हजार पाँच सय अमेरिकी डलर विदेशी मुद्रा लैजान पाउने व्यवस्था छ । तर, प्रतियात्रुले तीन हजार पाँच सय डलरसम्मको सुन ल्याएको पाइएको कार्यालयले जनाएको छ । ‘१५ सय डलर बोकेर गएको यात्रुले ३५ सय डलरको सुन ल्याएको देखियो,’ उनले भने, ‘यो कसरी सम्भव भयो ?’
कति सुन ल्याउँदा कति भन्सार तिर्नुपर्छ ?
नेपाली र गैरआवासीय नेपालीले सुनको गहना ५० ग्रामसम्म ल्याउन पाउने व्यवस्था छ । यसरी साथमा लिई आउन पाउने परिमाणसम्मको गहना ल्याउँदा कुनै पनि महसुल लाग्नेछैन । थप सय ग्रामसम्मका गरगहना ल्याउँदा प्रतिदश ग्राम १० हजार पाँच सय रुपैयाँका दरले र त्यसभन्दा बढी थप सय ग्राम ल्याउँदा प्रतिदश ग्राम १२ हजार रुपैयाँका दरले भन्सार बुझाउनुपर्ने हुन्छ । त्यस्तै, विदेशबाट फर्किएका यात्रुले एक सय ग्रामसम्म काँचो सुन ल्याउन पाउने व्यवस्थासमेत रहेको छ । तर, यसरी ल्याउने सुनमा भने ५० ग्रामसम्मको प्रति १० ग्राम नौ हजार पाँच सय र त्यसपछिको ५० ग्रामममा प्रतिदश ग्राम १० हजार पाँच सय रुपैयाँ भन्सार महसुल बुझाउनुपर्ने हुन्छ ।