१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
प्रदेश २ विरुद्ध विकेट लिएपछि लुम्बिनी प्रदेशका खेलाडी खुसियाली मनाउँदै ।
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १६ बिहीबार ०७:०६:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

लुम्बिनीको सानदार जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १६ बिहीबार ०७:०६:००

लुम्बिनी प्रदेशले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा प्रदेश २ माथि नौ विकेटको सानदार जित निकालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको प्रदेश २ ले ३९.५ ओभरमा एक सय ६८ रन मात्र जोडेको थियो । प्रत्युत्तरमा लुम्बनीले २६.५ ओभरमा एक विकेट मात्र गुमाएर एक सय ७० रन जोड्दै जित हात पार्‍यो । 

प्रदेश २ लाई एक सय ३९ बलअघि नै हराएको लुम्बिनीले ६ खेलबाट सर्वाधिक १० अंक जोड्दै शीर्ष स्थान बलियो बनाएको छ । पराजित प्रदेश २ चार अंकका साथ सातौँ स्थानमा छ । लुम्बिनीको जितमा ओपनर आकाश त्रिपाठी र कप्तान देव खनालले उत्कृष्ट ब्याटिङ गरेका थिए । दुवैले पहिलो विकेटका लागि २२.४ ओभरमा एक सय ४१ रनको साझेदारी गर्दै लुम्बिनीलाई जितको नजिक पुर्‍याए । 

आकाशलाई विवेक यादवले आउट पारे । आकाशले ६२ बलमा नौ चौकाको सहयोगमा ५७ रनको योगदान दिए । त्यसपछि कप्तान देवले ८९ बलमा ६ चौका र दुई छक्का प्रहार गरी सर्वाधिक ६२ रन जोडे । प्रज्ज्वल थापाले ११ बलमा तीन चौका हिर्काएर १३ रन बटुले । प्रदेश २ का बलरले प्रतियोगिताकै धेरै अतिरिक्तका रूपमा ३८ रन खर्चेका थिए । प्रदेश २ का बलरले २४ नो बल, ११ लेग वाई, १ नोबल तथा दुई वाइड फ्याँकेका थिए ।

यसअघि ब्याटिङ गरेको प्रदेश २ ले वासिर अहमेदको घातक बलिङ सामना गर्न सकेनन् । अहमेदले ७.५ ओभरमा तीन मेडन राखी सर्वाधिक पाँच विकेट लिए । उनले २४ रन खर्चेका थिए । प्रदेश २ को ब्याटिङ इनिङ्समा तीन ब्याट्सम्यानले मात्र दोहोरो रन बनाए । ओपनर सन्तोष कार्कीले सर्वाधिक ८२ रन बनाए । उनले ९२ बलमा सात चौका र पाँच छक्का प्रहार गरेका थिए । ओपनर सन्तोष इनिङ्सको २७.६ ओभरमा आउट भएका थिए । 

उनी आउट हुँदा प्रदेश २ १४१–४ को स्थितिमा थियो । यसैगरी गुलसन झाले २३ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ३२ रन बनाए । आठौँ क्रमका ब्याट्सम्यान आदिल अन्सारीले २४ बलमा २२ रन जोडे । उनको आफ्नो इनिङ्समा तीन चौका र एक छक्का प्रहार गरेका थिए । आठ ब्याट्सयम्यानले दोहोरो रन बनाए । 

सुदूरपश्चिम ६ विकेटले विजयी
यसैगरी, प्रतियोगिताअन्तर्गत मूलपानी मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश १ लाई ६ विकेटले हराएको छ । पहिलो ब्याटिङ गरेको प्रदेश १ २४ ओभरमा ९० रनमा अलआउट भयो । सुदूरपश्चिमले ३१ ओभरमा चार विकेट ९४ रन बनाएको थियो । सुदूरपश्चिमको जितमा वसन्त कार्की र अर्जुन साउदले पाँचौँ विकेटका लागि ७१ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाए । वसन्तले ७० बलमा एक चौका र एक छक्का प्रहार गरी ३७ रन जोडे । अर्जुनले ६६ बलमा चार चौका र दुई छक्का प्रहार गरी ३२ रन बनाएका थिए । 

प्रदेश १ लाई कम योगफलमा समेट्ने क्रममा सेर मल्लले सर्वाधिक चार तथा नरेन साउदले तीन विकेट लिए । सेरले ३१ रन तथा नरेनले १३ रन खर्चेका थिए । सो इनिङ्समा अंकित सुवेदीले ६१ रन बनाएका थिए । उनले ७१ बलमा नौ चौका प्रहार गरेका थिए । यसबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो रन पनि बनाएनन् ।