मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर १४ मंगलबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ मङ्सिर १४ मंगलबार १o:३o:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रसुवागढी र सान्जेन जलविद्युत् आयोजना छिट्टो सक्न प्राधिकरणको ताकेता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ मङ्सिर १४ मंगलबार १o:३o:oo

सान्जेन र रसुवागढी निर्माणको जिम्मा पाएका चिनियाँ ठेकेदार कम्पनीका प्राविधिक करिब दुई वर्षपछि मंगलबार नेपाल आइपुग्ने भएका छन् । दुवै आयोजनाका इलेक्ट्रोमेकानिकल उपकरणहरूको उत्पादन, जडान, परीक्षण सञ्चालनको ठेक्का पाएको कम्पनीका प्राविधिक चीनबाट आउन नसक्दा काम प्रभावित भइरहेको छ । निरन्तरको प्रयासपछि चिनियाँ प्राविधिक मंगलबार नेपाल आउन लागेको र त्यसपछि चिनियाँ तथा नेपाली प्राविधिकले उपकरणहरू जडान सुरु गर्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्रसारण लाइनका टावरहरू निर्माण भइसकेका छन् भने तार टाँग्न बाँकी छ । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणस्थलको अनुगमनमार्फत आयोजना व्यवस्थापन, निर्माणमा संलग्न ठेकेदारहरू, परामर्शदातासँग छलफल गरी बाँकी रहेका काम छिट्टो सम्पन्न गर्न निर्देशन दिएका छन् । आयोजनाका मुख्य सिभिल संरचनाहरूको निर्माण सम्पन्न भइसकेका छन् । ‘बाँकी रहेका कामहरू समानान्तर रूपमा अगाडि बढाएर सात–आठ महिनाभित्रमा सम्पन्न गर्न गर्नुपर्छ,’ उनले भने ।

प्राधिकरणले चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन एक सय ११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको निर्माण छिट्टो सम्पन्न गर्न ताकेता गरेको हो । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत सर्वसाधारणको पनि लगानीमा निर्माण भइरहेका आयोजनाहरू सम्पन्न हुन ढिलाइ भएपछि प्राधिकरणले आफ्नो तथा सहायक कम्पनीको समेत लगानी रहेका आयोजनाहरू काम छिट्टो सम्पन्न गर्न पहल गरेको हो । 

भूकम्प, भारतीय सीमामा भएको अवरोधले निर्माण सामग्री तथा उपकरणको ढुवानीमा कठिनाइ, कठिन भौगोलिक अवस्था, ठेक्का कार्यान्वयनमा देखिएका जटिलता तथा ठेकेदारको कमजोर कार्यसम्पादन, बाढीपहिरो, कोभिड–१९ को महामारीलगायतका कारणले आयोजनाहरूको निर्माण प्रभावित हुँदै आएको छ । माथिल्लो सान्जेनको बाँध, बालुवा थिग्र्याउने पोखरी, सुरुङलगायतका सिभिल संरचनाको निर्माण र गेट, पेनस्टक पाइपजस्ता हाइड्रोमेकानिकल उपकरणहरू जडान सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण प्रगति ९१ प्रतिशत छ । माथिल्लो सान्जेनको क्यासकेडका रूपमा रहेको सान्जेनको सुरुङ, सर्जट्याङ खन्ने कार्य सम्पन्न भई त्यसलाई अन्तिम रूप दिने काम भइरहेको छ । विद्युत्गृहका उपकरण रहने संरचनाहरूको निर्माण सम्पन्न भइसकेको छ । सान्जेनको समग्र निर्माण प्रगति ८३ प्रतिशत छ । 

दुवै आयोजनाका इलेक्ट्रोमेकानिकल उपकरणहरूको उत्पादन, जडान, परीक्षण सञ्चालनको ठेक्का पाएको कम्पनीका प्राविधिक चीनबाट आउन नसक्दा काम प्रभावित भएको छ । निरन्तरको प्रयासपछि चिनियाँ प्राविधिक मंगलबार नेपाल आउन लागेको र त्यसपछि चिनियाँ तथा नेपाली प्राविधिकले उपकरणहरू जडान सुरु गर्नेछन् । यसअघि नेपालमा कोभिड महामारी सुरु हुनुअघि नै घर गएका चिनियाँ ठेकेदार कम्पनीका प्राविधिक काममा फर्केका थिएनन् । 

रसुवागढी जलविद्युत् आयोजनाको मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । सिभिल संरचना र हाइड्रोमेकानिकल उपकरणहरूको ठेकेदारले आफ्नो काम आगामी चैतभित्रमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । इलेक्ट्रोमेकानिकलको ठेकेदारका कारण आयोजनाको निर्माण प्रभावित भएको हो । इलेक्ट्रोेमेकानिकलका ९९ प्रतिशत उपकरणहरू आयोजनास्थलमा आइसकेका छन् भने अहिले जडान कार्य भइरहेको छ ।