नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा व्यवस्था गरेको नीतिले निजी क्षेत्र निराश भएको बताएका छन्। न्युज एजेन्सी नेपालसँग मौद्रिक नीतिको समीक्षाको विषयमा प्रतिक्रिया दिँदै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन्।
अध्यक्ष गोल्छाले कोरोना महामारीबाट प्रभावित उद्योग व्यवसाय पुनरुत्थान गर्ने गरी थप राहतका प्याकेज मौद्रिक नीतिको समीक्षाले व्यवस्था गर्ने अपेक्षा गरे पनि त्यसअनुरूपका प्याकेजहरू नआउँदा निजी क्षेत्रमा निराशा छाएको बताए। यसले सरकारले लिएको ७ प्रतिशतको आर्थिक वृद्धिदरमा समेत असर पार्न सक्ने उनको बुझाइ छ।
अध्यक्ष गोल्छाले भने, ‘मौद्रिक नीतिको समीक्षाले निजी क्षेत्रले अहिलेको जोखिम मोल्न सक्ने नीति आउनुपर्ने माग गरेको थियो। तर, कोराना महामारीबाट प्रभावित उद्योग व्यवसायीका लागि मौद्रिक नीतिको समीक्षामा कुनै प्याकेज आएन। यसरी निजी क्षेत्रको माग सम्बोधन नहुँदा मौद्रिक नीतिको समीक्षाबाट निजी क्षेत्र पनि निराश भएको छ। मौद्रिक नीतिको समीक्षाले सरकारले लिएको जुन ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य छ, त्यो लक्ष्यमा पुग्नसमेत मुस्किल पर्छ।’