मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १३ सोमबार ०९:३२:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल ग्लोबल छनोटमा पुग्न सकेन

युएईसँग नेपाल ४८ रनले पराजित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १३ सोमबार ०९:३२:००

नेपाली महिला क्रिकेट टोलीले आइसिसी महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल छनोटमा स्थान बनाउन सकेन । एसियन ग्लोबल छनोटअन्तर्गत आइतबार राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपाल युएईसँग ४८ रनले पराजित भएको हो । राउन्ड रोबिन लिगमा अपराजित रहँदै युएईले ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको छ । एसियन छनोटमा शीर्ष स्थानमा रहने टोली ग्लोबल छनोटमा पुग्ने व्यवस्था छ । युएईले पाँचै खेल जित्दै सर्वाधिक १० अंक जोडेको छ । 

नेपालले युएईलाई हराउँदा छनोट हुने सम्भावना थियो । तर, निर्णायक खेलमा फराकिलो अन्तरले पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना पुनः एकपटक तुहिएको छ । युएईमा भएको छनोट प्रतियोगितामा नेपालले खेलेका पाँचमध्ये तीन खेलमा जित निकाल्यो । ६ अंकका साथ नेपाल तेस्रो स्थानमा झरेको छ । नेपाल प्रतियोगिताको पहिलो खेलमा हङकङसँग पराजित भएको थियो । हङकङ आठ अंकका साथ दोस्रो स्थानमा उक्लेको छ । नेपालले भुटान, कुवेत तथा मलेसियामाथि सानदार जित निकालेर छनोटको आशा जगाएको थियो । प्रतियोगितामा कुवेतले भने पाँचै खेल गुमाएको छ । 

नेपाललाई युएईको १२८ रनको लक्ष्य
आइसिसिए–२ मैदानमा युएई महिला टोलीले पहिलो ब्याटिङ गरी पाँच विकेटको क्षतिमा एक सय २७ रन जोडेको थियो । प्रत्युत्तरमा नेपाल १९.२ ओभरमा ७९ रनमै समेटियो । युएईको जितमा चमानी सेनेभिरात्नले अलराउन्ड प्रदर्शन गरेकी थिइन् । उनले ब्याटिङका क्रममा ३६ बलमा ५२ रन र बलिङ गर्दा ६ रन खर्चेर दुई महत्वपूर्ण विकेट लिएकी थिइन् । यसै प्रदर्शनका कारण उनी खेलकै म्यान अफ दी म्याच घोषित भइन् । ब्याटिङ गर्दा उनले सात चौका प्रहार गरिन् । 

लक्ष्य पछ्याएको इनिङ्समा नेपालको ब्याटिङ कमजोर देखियो । नेपालले पाँचजना ब्याट्सम्यान गुमाउँदा स्कोर बोर्डमा ५८ रन जोडेको थियो । त्यसवेला १३औँ ओभर चलिरहेको थियो । ओपनर इन्दु बर्मा र सीता रानामगरले पहिलो विकेटका लागि २.२ ओभरमा १७ रनको साझेदारी गरी युएईमाथि दबाब राखे । सीताको विकेटसँगै नेपालको ब्याटिङ धर्मराउँदै गयो । ओपनर इन्दु आउट हुँदा नेपाल ४३–४ को अवस्थामा थियो । 

इन्दुले २० बलमा एक चौकाको सहयोगमा १५ रन तथा सीताले आठ बलको सामना गरी तीन चौकाको मद्दतमा १३ रन बनाएका थिए । यी दुई ब्याट्सम्यानबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो रन बनाउन नसक्दा नेपाल सहजै युएईसँग पराजित भयो । खेलमा कविता कुँवरले ४, कप्तान रुविना क्षेत्रीले ८, सीता मगरले ८ तथा अप्सरी बेगमले ४ रन बनाएका थिए । अप्सरीपछिका चार ब्याट्सम्यानले समग्रमा आठ रन मात्रै जोडे । नेपालको इनिङमा सर्वाधिक रन अतिरिक्तबाट आयो । युएईले १७ अतिरिक्त रन दिएको थियो । 

पहिलो ब्याटिङ गरेको युएईको सुरुवात कमजोर रह्यो । ओपनर ईशा ओजा चार रनमै आउट भइन् । त्यसपछिका ब्याट्सम्यानहरूले उत्कृष्ट प्रदर्शन गर्दा नेपालले युएईलाई रोक्न सकेन । युएई दोस्रो तथा तेस्रो विकेटका लागि मजबुत साझेदारीको साथ पायो ।  ओपनर थिर्था सतिस र काभिसा इगोडजेले दोस्रो विकेटका लागि ५८ रनको बलियो साझेदारी गर्दै युएईलाई ४–१ बाट ६२–२ को अवस्थामा पुर्‍याए । काभिसाले २७ बलमा एक चौकाको सहयोगमा २२ रनको योगदान दिइन् । सतिस र चमारीले तेस्रो विकेटका लागि ४९ रनको साझेदारी गरे । सतिसले ४६ बलमा तीन चौका प्रहार गरी ४७ रन बनाइन् । नेपाली बलरले निकै अनुशासित रूपमा बलिङ गरेका थिए । 

 सीता रानामगर एसिया छनोटकै सर्वोत्कृष्ट
नेपाल ग्लोबल छनोटमा नपुगे पनि उपकप्तान तथा ब्याट्सम्यान सीता रानामगर प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेकी छन् । सीताले पाँच खेलमा एक सय रन बनाउनुका साथै ६ विकेट लिएकी थिइन् । यही प्रदर्शनका आधारमा उनी एसियन छनोट प्रतियोगिताको म्यान अफ दी सिरिज भएकी हुन् । सीताले हङकङविरुद्ध ४० रन, भुटानविरुद्ध १७ रन, मलेसियाविरुद्ध ३० रन, युएईविरुद्ध १३ रन बनाइन् । बलिङ क्रममा हङकङसँग एक विकेट, भुटानविरुद्ध तीन, कुवेतविरुद्ध एक र युएईविरुद्ध एक विकेट लिइन् ।