मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
हेमन्त केसी जाजरकोट
२०७८ मङ्सिर १३ सोमबार ०७:५६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जाजरकोटमा बस दुर्घटना ६ को मृत्यु, २७ घाइते

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर १३ सोमबार ०७:५६:००

नेपालगन्जबाट राडिबजार आउँदै गरेको ना.६ख २७५७ नम्बरको रात्रिबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् । आइतबार बिहान २ बजे जाजरकोटको कुदु बराहचौरनजिक बस दुर्घटना भएको हो । चालक चित्रबहादुर देनारले स्याल जोगाउन खोज्दा गाडी दुर्घटना भएको बताएका छन् । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ । गाडीमा ३२ जना यात्रु थिए ।

मृत्यु हुनेमा रुकुमपश्चिम आठबिसकोट नगरपालिका–४ की दिव्या शाही, नलगाड नगरपालिका–१० का शेरबहादुर परियार, सप्तरीका गंगाराम यादव, कुसे गाउँपालिका–९ की अनिला नेपाली, रुकुमपश्चिम आठबिसकोट–५ की सन्ध्या मल्ल शाही र कुसे–९ का वीरबहादुर नेपाली छन् । उनीहरूको नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते देवीसरा नेपाली, आस्था ओली, प्रचण्ड नेपाली, धर्मी मल्ल र सरोजचन्द्र शाहीलाई हेलिकोप्टरमार्फत नेपालगन्ज लगिएको छ । घाइते विपना परियार, उनकी छोरी वर्षा परियार, छोरा अभिषेक परियार, शेरबहादुर खत्री, दत्त परियार, मोहन खत्री, संगीता बुढा, काली बोहरा, रमेश विष्टको पनि नेपालगन्जस्थित अस्पतालमा उपचार भइरहेको छ । हजारी वली, अमर दमाईं, अजयकुमार रिजाल, शेरबहादुर खत्री, गीता नेपाली र गणेश नेपालीको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार गाडी दुई सय मिटर तल खसेको छ । गाडी कच्याककुचुक भएको छ । राति नै डिएसपीको कमान्डमा गएको प्रहरी टोलीले घाइतेको उद्धार गरेको थियोे । सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीसमेत उद्धारमा खटिएको थियो । प्रहरीले बाक्लो हुस्सु र तीव्र गतिका कारण दुर्घटना भएको जनाएको छ । प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले अगाडि बाटो क्लियर नदेखेरै चालकले गाडी हुइँक्याएका कारण दुर्घटना भएको हुन सक्ने बताए । 

‘गाडीका सबै यात्रु निदाएका थिए । एक्कासि ठूलो आवाज आयो, बम पड्केको जस्तै । त्यसपछि केही थाहा भएन,’ घाइते शेरबहादुर खत्रीले भने, ‘होस खुल्दा यात्रुहरू कराइरहेका थिए । कोही बसमै चेपिएका थिए । केही बेरपछि प्रहरी आएर अस्पताल पु¥यायो ।’ केही यात्रुले भने चालकसमेत निदाएकाले दुर्घटना भएको आशंका गरेका छन् ।