१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७८ मङ्सिर १३ सोमबार ०६:३२:००
Read Time : > 10 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बिहान साढे ३ बजे ओलीले छाने १९ पदाधिकारी

पदाधिकारीमा भीम रावल र घनश्याम भुसाल अटाएनन्, सर्वसम्मत बन्न खोजेका ओलीसँग रावल भिड्दै

Read Time : > 10 मिनेट
२०७८ मङ्सिर १३ सोमबार ०६:३२:००

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका रोकेर मध्यरातमा ३०१ केन्द्रीय सदस्यको नाम हलबाट अनुमोदन गराएका अध्यक्ष केपी ओलीले बिहान साढे ३ बजे १९ पदाधिकारी पनि छानेका छन्, जसलाई हलले पारित गरेको छ । 

ओलीले छानेको पदाधिकारीको टिमभित्र नेता भीम रावल र घनश्याम भुसाल अटाएका छैनन् । रावलले अध्यक्षमा भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीविधानविपरित व्यक्तिले कार्यसमितिको नाम वाचन गर्ने र हलबाट पारित गर्ने विधि लोकतान्त्रिक नभएको भन्दै रावलले असहमति जनाएका छन् ।

आइतबार मध्यरातमा सुरुमा ओलीले तीन सय एक केन्द्रीय सदस्यको नाम हलमा पढेर सुनाएका थिए । दोस्रो चरणमा पदाधिकारीको नाम हलमा पेस गरेका थिए । हलबाट पदाधिकारी र केन्द्रीय सदस्यको नाम बहुमतबाट अनुमोदन भएको छ । पदाधिकारीमा अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ छन् । पूर्वमाओवादीबाट पदाधिकारीमा तीन नेता समेटिएका छन् । 

ओलीले महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुव्वा गुरुङ र विष्णु रिमाललाई ल्याएका छन् । सात सदस्यीय सचिवमा टोपबहादुर रायमाझी,रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल छन् । रायमाझी र भट्ट पूर्वमाओवादी समूहका नेता हुन् । ओलीले लेखा आयोगमा पुष्प कँडेल र अनुशासन आयोगमा केशव बडालको नाम सिफारिस गरेका थिए, जसलाई पनि हलले अनुमोदन गरेको छ । 

शनिबार बन्दसत्रले सर्वसम्मत नेतृत्व चयनका लागि पदाधिकारीसहित केन्द्रीय कमिटीको नाम सिफारिस गर्न अध्यक्ष ओलीलाई जिम्मा दिएको थियो । ओलीले प्रस्तावित गरेको नाम हलबाट अनुमोदन भएको छ । बन्दसत्रको हलमा अनुमोदन भएका तीन सय एक केन्द्रीय सदस्यमा एक सय ९४ जना पुरानै छन् भने बाँकी नयाँ अनुहार केन्द्रीय कमिटीमा प्रवेश गरेका छन् । 

आइतबार दिनभर होटेलमै बसेर तयार पारेको सूची ओलीले हलमा पेस गरेका हुन् । ओलीको सूचीमा रहेका पदाधिकारी र केन्द्रीय सदस्यहरू औपचारिक प्रक्रिया पूरा गर्न निर्वाचन प्रक्रियामा जानेछन् । उनीहरूले केन्द्रीय सदस्यका लागि सोमबार मनोनयन दर्ता गर्नेछन् । ओलीले पेस गरेको नाममा भीम रावल र घनश्याम भुसालले असन्तुष्टि जनाएका छन् । ‘हलमा जसरी नाम पेस भएको छ र अनुमोदन गरियो, यी सम्पूर्ण प्रक्रियाप्रति मेरो असहमति छ । म निर्वाचनमा जान्छु । अध्यक्षको उम्मेदवार हुन्छु । प्रतिनिधिले जे गर्नुहुन्छ, त्यसलाई स्वीकार गर्छु,’ रावलले बन्दसत्रलाई सम्बोधन गर्दै भने, ‘अलोकतान्त्रिक विधिबाट गरिएका निर्णय मान्य हुँदैनन् ।’ 

उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका घनश्याम भुसालले बन्दसत्रमा पेस भएको नाममा कैयौँ योग्य व्यक्ति छुटेको प्रतिक्रिया दिए । ‘बन्दसत्रको हलमा प्रस्तुत भएका नाममा कैयौँ योग्य साथीहरू छुट्नुभएको छ । तीन सय एकजनामा योग्य साथीहरूको नाम छैन,’ उनले भने । ओलीले केन्द्रीय सदस्यको नाम पढेर सुनाउँदा केही प्रतिनिधिले भने हुटिङ गरेर विरोध गरेका थिए । बन्दसत्रमा विरोधको स्वर उठेपछि ओलीले प्रस्तावित नाममा चित्त नबुझे निर्वाचनमा जान सकिने बताएका थिए । 

एमालेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले तोकिएको संख्याभन्दा धेरै उम्मेदवारी परे ती पदमा निर्वाचन हुने बताए । तोकिएको संख्याअनुसार मात्रै उम्मेदवारी परेर निर्विरोध नभएका पदमा निर्वाचन हुनेछ । ‘सर्वसम्मत नभएका पदमा निर्वाचन हुन सक्छ,’ सुब्बाले भने । राति पौने १० बजे आफू बसेको होटेलबाट बन्दसत्र हल पुगेका ओलीले सुरुमा अध्यक्षमण्डलको बैठक बसालेका थिए । ओली नेतृत्वको अध्यक्षमण्डलमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल, भीम रावल, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा सदस्य छन् । पहिलो चरणको अध्यक्षमण्डलको बैठक सकेपछि ओलीले केन्द्रीय सदस्यको नाम हलमा पेश गरेका थिए ।

त्यसपछि उनले पुन अध्यक्ष मण्डलको बैठक बसालेका थिए । त्यहाँ भीम रावललाई उपाध्यक्षमा बस्न आग्रह गरेका थिए । रावलले नमानेपछि ओलीले अन्य नेताहरू राखेर पदाधिकारीको सूचिलाई अन्तिमरुप दिएका थिए । त्यही नाम ओलीले राती साढे तीन बजे हलमा पेश गरेका थिए, जसलाई हलले अनुमोदन गरेको थियो । 

ओलीले निर्वाचन कार्यतालिका हेरफेर गर्दै नाम टुंगाएका हुन् । अध्यक्षमण्डलको बैठकमा रावलले आफूले अध्यक्षमा उम्मेदवारी दिने बताएका थिए । अध्यक्षमण्डलको बैठक जारी रहेका वेला राति ११ बजे निर्वाचन आयोगले निर्वाचन कार्यतालिकाको सूचना निकालेको थियो । पहिलो कार्यतालिकामा आइतबार राति ११ बजेसम्म मतदाता नामावली प्रकाशन, ११:१५ बजेसम्म मतदाता नामावलीमाथि दाबी–विरोध, ११:२० सम्म मतदाता नामावलीमाथि परेको दाबी–विरोध र सुधारको सूचना, ११:२५ सम्म दाबी–विरोधमाथि छानबिन र निर्णय तथा ११:३० मा मतदाताको अन्तिम नामावली प्रकाशन तोकिएको थियो ।

सूचनाअनुसार ११:३० देखि १२ः२० सम्म उम्मेदवारको दरखास्त फारम वितरण, राति १ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, १ देखि १:१५ सम्म उम्मेदवारको विरोधमा उजुरी दिने, १:२५ मा उजुरीमाथि छानबिन र निर्णय, १:३० बजे उम्मेदवारको नामावली पुनः प्रकाशन, १:३० देखि २ बजेसम्म उम्मेदवारको नाम फिर्ता र २:१० मा उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको थियो । 

सोमबार बिहान ९ देखि अपराह्न ४ बजेसम्म मतदान गरेर मतगणनादेखि निर्वाचन परिणाम घोषणासम्म र प्रमाणपत्र प्रदानदेखि शपथग्रहणसम्मका कार्यक्रम गर्ने आयोगले जारी गरेको सूचनामा थियो । निर्वाचन आयोगको सूचनाअनुसार उम्मेदवारको फारम वितरण भइरहेको थियो भने भीम रावललगायत नेताले फारम भरेर दर्ता गराउन थालेका थिए । तर, त्यही वेला आयोग अध्यक्ष विजय सुब्बाले सोमबार बिहानसम्मका लागि निर्वाचन प्रक्रिया रोकिएको जानकारी दिएका थिए । 

आयोगका अध्यक्ष सुब्बाले अध्यक्षमण्डलको निर्देशनअनुसार सोमबार बिहानसम्मका लागि निर्वाचन कार्यतालिका स्थगित गरिएको बताए । ‘अहिले राति भयो, अब सोमबार बिहानबाट प्रक्रिया अगाडि बढाऊ भन्ने अध्यक्षमण्डलको निर्देशन आयो,’ सुब्बाले भने, ‘सोमबार बिहानैबाट बाँकी काम अगाडि बढ्छन् ।’नयाँ सूचनाअनुसार सोमबार बिहान ८ देखि ९:२० सम्म उम्मेदवारको दरखास्त फारम वितरण, ८ देखि ९:३० सम्म उम्मेदवारको दरखास्त फारम दर्ता, १०:३० सम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, १०:३० देखि ११:४५ सम्म उम्मेदवारको विरोधमा उजुरी दिने, १०:५० सम्म उजुरीमाथि छानबिन र निर्णय, १०:३० सम्म उम्मेदवारको नामावली पुनः प्रकाशनको कार्यतालिका छ । 

यसैगरी, १०:३० देखि ११:३० सम्म उम्मेदवारको नाम फिर्ता र ११:४० मा उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ । साँझ ९ देखि राति ३ बजेसम्म मतदान राखिएको छ । त्यसपछि मतदान गरेर मतगणनादेखि निर्वाचन परिणाम घोषणासम्म र प्रमाणपत्र प्रदानदेखि शपथग्रहणसम्मका कार्यक्रम गर्ने सूचनामा छ । 

यता निर्वाचन कार्यक्रम स्थगित भइरहँदा बन्दसत्रमा भने ओलीले सम्बोधन गरिरहेका थिए । राति पौने १ बजे झन्डै २० मिनेट लगाएर ओलीले प्रस्तावित केन्द्रीय कमिटीका सदस्यको नाम पढेर सुनाएका थिए । उनले नाम सुनाएपछि हलमा उपस्थित अधिकांश प्रतिनिधिले ताली पिटेर अनुमोदन गरेका थिए । दशौँ महाधिवेशनको शनिबारको बन्दसत्रले १९ पदाधिकारीसहित तीन सय एक सदस्यीय केन्द्रीय कमिटी रहने गरी विधान संशोधन गरेको थियो । जसअनुसार कमिटीमा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव एक, उपमहासचिव तीन र सचिव सातजना रहनेछन् । पार्टीको प्रदेश कमिटीका अध्यक्ष मताधिकारसहित पदेन केन्द्रीय सदस्य रहने, पदाधिकारीसहित केन्द्रीय कमिटीले ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरोे गठन गर्ने संशोधन पारित भएको थियो । 

केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोग अध्यक्ष, उपाध्यक्ष र सचिवसहित २५ सदस्यीय हुने, स्थायी कमिटीले आफनो कमिटीको कुल सदस्य संख्यामा नबढ्ने गरी केन्द्रीय सल्लाहकार परिषद् गठन गर्न सक्ने संशोधन प्रस्ताव पारित भएको थियो । त्यस्तै, ७ प्रदेश कमिटी र जिल्ला कमिटीको आधार संख्या ७५ सदस्यीय हुने उल्लेख थियो । 

त्यस्तै, बन्दसत्रले प्रत्येक प्रदेशबाट चार पुरुष र दुई महिलासहित ६ जना केन्द्रीय सदस्य निर्वाचित हुने यसअघिको व्यवस्थामा संशोधन गर्दै प्रत्येक प्रदेशबाट ६ खुला र तीन महिला गरी नौजनासहित सातवटा प्रदेशबाट ६३ सदस्य निर्वाचित हुने विधान संशोधन प्रस्ताव पारित गरेको थियो । त्यस्तै, उपत्यका विशेष समन्वयबाट एक खुला एक महिला गरी दुई सदस्य निर्वाचित हुने, सम्पर्क समन्वयबाट एक खुला एक महिला गरी दुई सदस्य निर्वाचित हुने, आदिवासी जनजातिबाट १७ खुला र आठ महिला गरी २५ सदस्य निर्वाचित हुने, तराई मधेसबाट १३ खुला र ६ महिलासहित १९ सदस्य निर्वाचित हुने, दलित समुदायबाट आठ खुला चार महिलासहित १२ सदस्य निर्वाचित हुने, थारू समुदायबाट पाँच खुला दुई महिलासहित सात सदस्य निर्वाचित हुने, मुस्लिम समुदायबाट चार खुला एक महिलासहित पाँच सदस्य निर्वाचित हुने संशोधन प्रस्ताव पारित गरेको थियो । 

त्यस्तै, श्रमिक क्षेत्रबाट चार खुला दुई महिलासहित ६ सदस्य निर्वाचित हुने, पिछडिएको क्षेत्रबाट तीन खुला एक महिलासहित चार सदस्य निर्वाचित हुने, खुला क्षेत्रबाट ८४ खुला ५३ महिलासहित एक सय ३७ सदस्य निर्वाचित हुने, केन्द्रीय आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिवसहित १३ खुला र नौ महिलासहित २५ सदस्य सदस्य निर्वाचित हुने प्रस्ताव पारित गरेको थियो । विधानको यही व्यवस्थाअनुसार ओलीले केन्द्रीय सदस्यको नाम हलमा पेस गरेका थिए । पार्टीको केन्द्रीय नेतृत्व सर्वसम्मत गर्ने अध्यक्ष केपी ओलीको प्रयास असफल भएपछि एमालेको दशौँ महाधिवेशन औपचारिकताका लागि निर्वाचन प्रक्रियामा प्रवेश गरेको थियो । पार्टीको केन्द्रीय निर्वाचन आयोगले आइतबार मध्यराति निर्वाचन कार्यतालिकासहितको सूचना निकालेर निर्वाचनमार्फत नेतृत्व चयनको प्रक्रिया थालेको छ । 

यी हुन् ओलीले प्रस्ताव गरेको केन्द्रीय कमिटीका तीन सय एक सदस्य

खुला :  केपी ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, भीमप्रसाद आचार्य, योगेश भट्टराई, सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, किरण गुरुङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, रघुजी पन्त, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, कर्णबहादुर थापा, काशिनाथ अधिकारी, गुरु बराल, देवराज घिमिरे, कृष्णगोपाल श्रेष्ठ, लालबाबु पण्डित, अग्नि खरेल, जीवन घिमिरे, रविन कोइराला, राजेन्द्र गौतम, विनोद ढकाल, हिक्मत कार्की, अच्युत मैनाली, अरुण नेपाल, कपिल पोखरेल, कमल चौलागाई, गणेश पहाडी, गोकुल बाँस्कोटा, देवी ज्ञवाली, नारायण सिलवाल, मनोज थापा, महेश बस्नेत, माधव अर्याल, राजन भट्टराई, रामेश्वर फुयाँल, सोमप्रसाद मिश्र, भीम कार्की, रामशरण बस्नेत, रवीन्द्र अधिकारी, खिमलाल भट्टराई, गिरिधारीलाल न्यौपाने, चन्द्र खड्का, ठाकुर गैरे, दधिराम न्यौपाने, लक्ष्मण ज्ञवाली, सूर्य थापा, गोरख बोगटी, राजबहादुर बूढा, लक्ष्मी पोखरेल, गणेश ठगुन्ना, झपट रावल, प्रकाश शाह, शेरधन राई, परशुमेघी गुरुङ, शेरबहादुर तामाङ, यज्ञराज सुनुवार, पार्वत गुरुङ, देवेन्द्र दाहाल, श्रीप्रसाद जबेगु, राम राना, किशोर मल्ल, दिवाकर देवकोटा, पुरुषोत्तम पौडेल, खड्ग खड्का, जेएन थपलिया, कृष्ण दाहाल, राजीव पहारी, कृष्ण थापा, कृष्ण पौडेल, बलराम अधिकारी, चेतनारायण आचार्य, घनश्याम पाण्डे, कुमार दसौदी, शिवराज सुवेदी, रोमनाथ ओली, सूर्य ढकाल, नवराज रावत, दल रावल, किरण पौडेल, गोविन्द थापा, नरबहादुर धामी, दयालबहादुर शाही, पठानसिंह बोहरा, सञ्जीव झा

खुला महिला :  बिन्दा पाण्डे, शिवमाया तुम्बाहाङ्फे, पद्मा अर्याल, सीता पौडेल, थममाया थापा, सुजिता शाक्य, निर्मला देवकोटा, ममता गिरी, सुशीला नेपाल, मनकुमारी केसी, श्रीमाया थकाली, सीता सुन्दास, सीता गिरी ओली, विमला घिमिरे, शान्ता चौधरी, गौरीकुमारी ओली, निरुदेवी पाल, लीलाकुमारी भण्डारी, नवीना लामा, भगवती चौधरी, सुनिता बराल, लक्ष्मी गौतम, शकुन्तला बस्नेत, गीता अधिकारी, अम्बिका थापा, विनादेवी राई, मीना उप्रेती, तुलसा दाहाल, प्रतीक्षा तिवारी, बुधनीदेवी महतो, विन्दा ढुंगाना, सरस्वती बस्नेत, प्रभा बराल, शर्मिला कार्की, जानुका सिम्खडा, बालिका गिरी, सरिता न्यौपाने, भारती पाठक, टुका हमाल, विद्या भट्टराई, सम्झना देवकोटा, मैना भण्डारी, सीता न्यौपाने, गोमादेवी आचार्य, शोभा ज्ञवाली, कोमल ओली, सिर्जना काफ्ले, दक्षिण शाही, कमला बोहरा, इन्दु कडेरिया, निरुदेवी दर्लामी, शान्ति ढकाल र दीपा शर्मा 

जनजाति : अइन्द्रसुन्दर नेम्वाङ, खगेन्द्र राई, पासाङ शेर्पा, यज्ञराज सुनुवार, डम्बरसिंह सम्बाहाम्फे, टेकबहादुर बलमपाकी, कमलजंग राई, दावा लामा, लीलबहादुर थापा, गोकुल घर्तीमगर, दलबहादुर राना, हरि राजवंशी, जमिन्द्रमान घले, सिपी घर्ती, विद्यासुन्दर शाक्य, केशव स्थापित, अजयक्रान्ति शाक्य, जगदीश कुसियत, रामलाल साह, कुन्दन कुसवाहा, गंगाप्रसाद यादव, प्रमोदनारायण यादव, रामचन्द्र मण्डल, सरोज यादव, हरिनारायण महतो, प्रभु हजारा, पशुपतिदयाल मिश्र, राजकुमार गुप्ता, मोती दुगड, सुशील श्रीवास्तव

जनजाति महिला : उर्मिला थेवे, सूर्यकुमारी श्रेष्ठ, अमृता सुब्बा, सावित्रा राना, तारा राई, ईश्वरी जिएम, तासीस्याङ्दो गुरुङसेनी, जुनेली श्रेष्ठ, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, शीला यादव, कमला महतो, सरिता गिरी, रीतादेवी साह

थारू : वैजनाथ चौधरी, नरुलाल चौधरी, गौरीशंकर थारु, कृपाराम राना, बलवीर चौधरी  । 
महिला : गंगा चौधरी सत्गौवा, मञ्जु चौधरी, सरस्वती चौधरी

मुस्लिम : तैयव हुसेन, मोहम्मद हारुन हलुवाई, सिराजअहमद फारुकी, मोहम्मद समिर । 
महिला : साजिदा सिद्दिकी

दलित : रामदयाल मण्डल, ईश्वरी रिजाल, बमबहादुर विश्वकर्मा, पुरनसिंह दयाल, गोविन्द नेपाली, जितबहादुर दर्जी, जंगबहादुर नेपाली, रामप्रीत राम । 
महिला : शिवकुमारी गोतामे सार्की, रामरति राम, विष्णुमाया विश्वकर्मा, सविता रसाइली

पिछडिएको क्षेत्र : भैरवसुन्दर श्रेष्ठ, लालबहादुर थापा, मोहन बानियाँ । 
महिला : बदमीकुमारी बोहरा

श्रमिक : विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम, बाबुराम थापा । 
महिला : मञ्जुकुमारी थापामगर, सीता लामा

उपत्यका विशेष : माधव ढुंगेल र विना श्रेष्ठ
सम्पर्क समन्वय : नरेन्द्र श्रेष्ठ र कल्पना थापा
 भूगोलतर्फ 
प्रदेश १
तिलकुमार म्याङ्बो, टंक आङबुहाङ, विनोद ढकाल, किशोर अधिकारी, वसन्त नेम्वाङ, राजेन्द्र राई
महिला : मेनुका काफ्ले, मञ्जु भण्डारी, उषाकला राई
प्रदेश २
प्रभु साह, रामदयाल मण्डल, मोहम्मद समिर, लीलानाथ श्रेष्ठ, राजकुमार लेखी, प्रभुहजारा पासवान
महिला : कल्पना कटुवाल, रेखा झा, ज्वाला साह
बागमती
कृष्णकुमार राई, कैलाश ढुंगेल, खेमप्रसाद लोहनी, रामेश्वर राना, आनन्दप्रसाद पोखरेल, सरेश नेपाल
महिला : रचना खड्का, पेम्बा लामा, पार्वती रावल
गण्डकी
मायानाथ अधिकारी, तिलक महत, जगत विश्वकर्मा, भुपेन्द्र थापा, इन्द्रलाल सापकोटा, टुकराज सिग्देल
महिला : नरदेवी पुन, सीमा क्षेत्री, मीनाकुमारी गुरुङ
लुम्बिनी
लीला गिरी, खेममान खड्का, नवीन रोक्का, दिनेश पन्थी, भूमिश्वर ढकाल, हरि रिजाल
महिला : सरिता खनाल, सावित्रा अर्याल, मेनका पोखरेल
कर्णाली
धर्मराज रेग्मी, निरज आचार्य, गुलाबजंग शाह, विष्णु रिजाल, डम्बरबहादुर सिंह, नागिन्द्र शाही (नेशनल)
महिला : तीर्था गौतम, मीना रखाल, मोहनमाया ढकाल
सुदूरपश्चिम 
राजेन्द्र रावल, भैरवबहादुर सिंह, झपट बोहरा, नारदमुनि राना, लीलाधर भट्ट, अफिलाल उखेडा
महिला : कमला ओली, कमला बोहरा, सन्तु शर्मा

सहमति जुटाउन दिनभर के भयो ? 
शनिबार बन्दसत्रको हलबाट पदाधिकारीसहितको तीन सय एक सदस्यीय केन्द्रीय कमिटीको नामसहितको प्रस्ताव ल्याउने ‘म्यान्डेट’ पाएका केपी ओलीले आइतबार दिनभर सहमतिका लागि संवाद गरे । बन्दसत्र रोकेर ओलीले साँझ ८ बजेसम्म नेताहरूसँग एक्लाएक्लै र समूहगत छलफल गरे । संस्थापन समूहकै नेताहरूबीच सहमति नहुँदा दिनभर मिलाउने प्रयास भएको थियो । आफू बसेको होटेल सफारीमा आइतबार बिहानदेखि साँझसम्म ओलीले ‘कोर टिम’का नेताहरूसँग पालैपालो र समूहमा लगातार छलफल गरेका थिए । केन्द्रीय सदस्यको सूची बनाउने जिम्मा निकट नेताहरूलाई सुम्पेर ओली वार्तामा खटेका थिए । त्यसो त महाधिवेशनका लागि बिहीबार चितवन आएदेखि नै ओलीले सम्भावित नेतृत्वलाई लिएर निकट र आकांक्षी नेताहरूसँग परामर्श थालेका छन् । 

केन्द्रीय सदस्य अग्नि खरेलका अनुसार महाधिवेशनका प्रतिनिधिको चाहना र मनोविज्ञान सर्वसम्मतिमै नेतृत्व चयन गर्ने पक्षमा रहेकाले अध्यक्ष ओलीले सहमति जुटाउन लगातार गृहकार्य गरेको थिए । उनका अनुसार उम्मेदवारहरूमा सर्वसम्मतिभित्र आफू पर्नुपर्छ, त्यसो हुँदैन भने मात्र चुनावबाट आउन पाए हुन्थ्यो भन्ने चाहना थियो । तर, उनीहरू खुल्ने स्थितिमा थिएनन् ।

ओलीनिकट नेता खरेल भन्छन्, ‘बाँकी सबै प्रतिनिधि सर्वसम्मतिकै पक्षमा हुनुहन्छ । पूर्वमाओवादी समूहका साथीहरू एकताको स्पिरिटलाई निरन्तरता दिन सर्वसम्मत नेतृत्व चयन हुनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ । एक–दुई नेताबाहेक दशबुँदे सहमति गरेर पार्टी विभाजनमा विपक्षमा उभिएका नेताहरू पनि सर्वसम्मतिकै पक्षमा हुनुहुन्छ । त्यसैले सर्वसहमतिमै नेतृत्व चयनको गृहकार्य भएको हो ।’ 

पूर्वमाओवादी समूहका तर्फबाट वरिष्ठ उपाध्यक्षको आकांक्षी रामबहादुर थापा बादलले दाबी छाडे पनि ईश्वर पोखरेल र सुवास नेम्वाङबीच सहमति जुटाउन चरण–चरणमा ओलीले छलफल गरेका थिए । बिहान पहिलो चरणमा नेम्वाङ र पोखरेललाई सँगै राखेर छलफल गराउँदा दुवैले दाबी नछाडेपछि ओली अप्ठ्यारोमा परेका थिए । त्यसलगत्तै जनजाति पृष्ठभूमिका नेताहरूले ओलीलाई भेटेर नेम्वाङलाई नै वरिष्ठ उपाध्यक्ष बनाउँदा उपयुक्त हुने भन्दै विकल्प दिएका थिए । 

सचिव पृथ्वीसुब्बा गुरुङ, प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई, स्थायी समिति सदस्य किरण गुरुङ, पूर्वसञ्चारमन्त्री पार्वत गुरुङ, ओलीका गृहजिल्ला झापाका सांसद एलपी साँवालगायत नेताले ओलीलाई भेटेरै नेम्वाङलाई बनाउनुपर्ने कारण दर्साएर तीनवटा विकल्पसमेत दिएका थिए । उनीहरूले नेम्वाङलाई नै वरिष्ठ उपाध्यक्ष बनाउनुपर्ने र नबनाउने हो भने वरिष्ठ उपाध्यक्षकै पद विधानबाट हटाएर सात उपाध्यक्ष मात्रै निर्वाचित गर्नुपर्ने पहिलो विकल्प प्रस्तुत गरेका थिए । 

त्यस्तै, ईश्वर पोखरेल र नेम्वाङ दुवैजनालाई वरिष्ठ उपाध्यक्ष बनाउने वा दुवैजनाबीच चुनावी प्रतिस्पर्धा गराएर छनोट गर्ने विकल्प पनि रोज्न सकिने सुझाव ओलीलाई दिएका थिए । उनीहरूले नेम्वाङले अन्तरिम संसद्देखि संविधानसभाबाट संविधान निर्माणमा ओलीकै लाइनअनुसार भूमिका खेलेको, संविधान निर्माण गर्दा राष्ट्रिय एकता, सामाजिक सद्भावका पक्षमा भूमिका खेल्दा लिम्बुवानहरूले नेम्वाङकै विरोध गरेर बन्दसमेत गरेको जस्ता घटना स्मरण गराएर योगदानको मूल्यांकन गर्न गम्भीर ध्यानाकर्षण गराएका थिए । 

त्यस्तै, महासचिवका आकांक्षी विष्णु पौडेल र शंकर पोखरेललाई पनि राखेर ओलीले छलफल गरेका थिए । तर, पौडेलले आफ्नो दाबी प्रस्तुत गर्दै पोखरेललाई पनि व्यवस्थापन गरेर जानुपर्ने अडान राखेका थिए । यद्यपि, दुवै नेताले ओलीले महासचिवमा जसलाई रोजे पनि स्वीकार्य हुने धारणा राख्दै अप्ठ्यारो नपार्ने प्रतिबद्धता जनाएको छलफललाई उद्धृत गर्दै ओलीनिकट एक स्थायी समिति सदस्यले बताए । 

ओलीले सर्वसम्मत नेतृत्व चयनका विषयमा केन्द्रित रहेर पूर्वमाओवादी समूहका नेताहरूसँग पनि दिउँसो अलग्गै छलफल गरेका थिए । ओलीले रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहलगायत नेतासँग छलफल गरेका थिए । ओलीले नयाँ नेतृत्व चयन प्रक्रिया र उनीहरूका आकांक्षाबारे चासो राखेपछि पूर्वमाओवादीका तर्फबाट नेताहरूले पदाधिकारीमा कम्तीमा तीन नेतालाई व्यवस्थापन गर्नुपर्ने र कम्तीमा ३५ देखि ४० जनालाई केन्द्रीय सदस्य बनाउनुपर्ने प्रस्ताव गर्दै सूची प्रस्तुत गरेका थिए । 

त्यसक्रममा बादललाई उपाध्यक्ष, रायमाझीलाई उपमहासचिव र भट्टलाई सचिव बनाउनुपर्ने पूर्वमाओवादी समूहको प्रस्ताव थियो । तर, ओलीले भने कम्तीमा दुईजना पदाधिकारीमा राखेर व्यवस्थापन गर्न सकिने जवाफ दिएर सहमतिमा समेट्ने आश्वासन दिएका थिए । पूर्वमाओवादी समूहका नेताहरूले एकताको महाधिवेशन भएकाले आफूहरू दशौँ महाधिवेशनलाई शतप्रतिशत सर्वसहमतिमै नेतृत्व चयन गरेर सम्पन्न गर्नुपर्ने पक्षमा रहेको जानकारी गराएका थिए । 

होटेल सफारीमा ओलीले कोर टिमका नेताहरू ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङसँग केन्द्रीय सदस्यहरूको सूची टुंग्याउन दिनभर गृहकार्य गरेका थिए । त्यसक्रममा ओलीले विष्णु, शंकर, प्रदीप, विष्णु रिमाल र पृथ्वीसुब्बालाई अन्तिम रूप दिनुअघि सूची तयार गर्न निर्देशन दिएका थिए । उनीहरूले महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले तयार पारेको केन्द्रीय सदस्यहरूको सूचीलाई एउटै सूची बनाएर अध्यक्ष ओलीलाई दिएका थिए ।

पौडेल उक्त सूची बोकेर होटेलको तल्लो तलामा आएका थिए । त्यहाँ उनले सूची प्रिन्ट गर्दै पत्रकारसँग अनौपचारिक कुराकानी गरे । पार्टीमा भएको सहमतिबारे जानकारी भने दिएनन् । उपमहासचिव पौडेलले तीन सय एकजना केन्द्रीय सदस्य र केन्द्रीय आयोगहरूको पदाधिकारी र सदस्यहरूको सूची बुझाएपछि ओलीले नै नेताहरूसँगको परामर्शमा हलमा प्रस्तुत गर्ने गरी अन्तिम नामावली टुंग्याएका थिए । 

सूचीको अन्तिम गृहकार्यमा रहेका उपमहासचिव पौडेलले सूची टुंगिन लागेको पत्रकारहरूलाई जानकारी दिएका थिए । ‘सबै राम्रो भइरहेको छ, राम्रो हुनेछ,’ पौडेलले पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै भनेका थिए । राति ९ बजेपछि लेखराज भट्ट ओलीलाई भेट्न गए । अन्तिम भेट सकेर ओली प्रस्तावित सूची बोकेर बन्दसत्रतिर हानिएका थिए । त्यहाँ अध्यक्षमण्डलको बैठक बसेपछि केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सूचना जारी गरेको थियो ।