१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ११ शनिबार
  • Wednesday, 02 July, 2025
श्रवण थापा सर्लाही
२o७८ मङ्सिर ११ शनिबार ११:२७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्लाहीमा तेस्रोपटक कांग्रेसको वडा अधिवेशनको मिति तोकियो

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o७८ मङ्सिर ११ शनिबार ११:२७:oo

नेपाली कांग्रेस सर्लाहीले तेस्रोपटक वडा अधिवेशनको मिति तय गरेको छ । कांग्रेस संस्थापन र इतरपक्षबीचको विवादले पटकपटक अन्योलमा पर्दै आएको वडा अधिवेशनको शुक्रबार तेस्रोपटक मिति तोकिएको हो । दुवै पक्षबीच शुक्रबार राति अबेरसम्म चलेको छलफलले आइतबारका लागि वडा अधिवेशन गर्ने सहमति गरेको पार्टीले जनाएको छ।

दुई पक्षबीचको विवाद उत्कर्षमा पुगेपछि सर्लाहीमा तेस्रोपटक निर्वाचन अधिकृत खटाइएको छ । अधिवेशन गराउन सर्लाही आइपुगेका निर्वाचन अधिकृत भरत राउतको रोहबरमा गएराति जिल्ला सभापति नागेन्द्रकुमार राय र पूर्वजिल्ला सभापति लक्ष्मण राय समूहबीच लामो छलफल भएको हो । 

लालबन्दीस्थित युनाइटेड होटेल इनन्मा राति पौने १० बजेसम्म चलेको छलफलबाट आइतबारबाट जिल्लामा अधिवेशन प्रक्रिया अगाडि बढाउने सहमति गरेको हो । सर्लाहीमा कांग्रेसको संस्थापन र संस्थापनइतरबीच यो तेस्रोपटक सहमति भएको हो । दुबै पक्षबीच  भएको सहमतिमा मंसिर १२ गते आइतबार वडा अधिवेशन, प्रदेश अधिवेशन सरेमा १४ गते मंगलबार पालिका अधिवेशन र प्रदेश अधिवेशन नसरेमा सोही दिन पालिका अधिवेशन स्थगित गरी प्रदेश सभा अधिवेशन गर्ने सहमति भएको छ । 

यस्तै, सोही छलफलले १५ गते बुधबार क्षेत्रीय अधिवेशन र १७ गते शुक्रबार जिल्ला अधिवेशन गर्नेसमेत सहमति गरेको निर्वाचन अधिकृत राउतले जानकारी दिए । शुक्रबारको छलफलमा जिल्ला सभापति नागेन्द्रकुमार रायको पक्षबाट केन्द्रीय सदस्य जंगिलाल राय, आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह, क्षेत्र नम्बर ३ का अध्यक्ष पुण्यहरि घिमिरे, लालबन्दी नगरपालिका–७ का वडाध्यक्ष सुरेन्द्रकुमार न्यौपाने, रुपेशकुमार यादवलगायत सहभागी थिए भने पूर्वजिल्ला सभापति लक्ष्मण रायको तर्फबाट जिल्ला उपसभापति रामवली राय, जिल्ला सचिव नवीन अधिकारी, पूर्वजिल्ला उपसभापति विनोद खनाल, नेपाल शिक्षक संघका पूर्व जिल्ला अध्यक्ष कौशलकिशोर राय, युवा नेता बलीराम झा, रविनन्दन चौधरीलगायत सहभागी थिए ।

जिल्ला सभापति नागेन्द्रकुमार राय प्रधानमन्त्री एवं पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा पक्ष अर्थात संस्थापन र पूर्वजिल्ला सभापति लक्ष्मण राय वरिष्ठ नेता रामचन्द्र पौडेल समूह संस्थापन इतरपक्षका हुन् । यी दुई समूहको विवादले जिल्लामा कांग्रेसको पटक–पटक जिल्ला अधिवेशन अन्योलमा पर्दै आएको थियो । यसअघि दुई समूहबीच मतदान अधिकृत खटाउने र निर्वाचन अधिकृतको कार्यालय राख्ने विषयमा विवाद हुँदा दुईजना निर्वाचन अधिकृतले जिल्ला अधिवेशन प्रक्रिया नै गराउन नसकेपछि राजीनामा बुझाएर फर्किएका थिए । 

जिल्लाका अधिकांस वडामा मतदान अधिकृत खटाइएको र केही वडामा आज गोला प्रथा विधिबाट खटाइने उन्ले बताए । ‘लगभग सबै वडामा मतदान अधिकृत खटाइसकिएको छ ।’ उन्ले भने, ‘एक–दुई वडामा बाँकी छन्, त्यसको टुंगो आज साँझसम्म लगाउँछौँ ।’ निर्वाचन अधिकृत राउतका अनुसार मतदान अधिकृतको रूपमा खटिने शिक्षकहरूलाई आज तालिम दिने तथा निर्वाचन सामग्री उपलब्ध गराइनेछ ।

दुई समूहबीच फेरि क्रियाशील सदस्यता थपिएको र मतदान अधिकृत खटाउने विषयमा विवाद उत्पन्न भएपछि अचानक यस पहिला नै शुक्रबारको लागि तय भएको वडा अधिवेशन स्थगित भएको थियो । दुुई पक्षको विवादका कारण देशैभरिमा सर्लाहीमा मात्रै कांग्रेसको अधिवेशन प्रक्रिया अघि बढ्न सकेको छैन । यसैबीच गएराति भएको सहमतिअनुसार अब जिल्ला अधिवेशन प्रक्रिया पूर्ण रूपमा अगाडि बढ्ने दुवै पक्षका नेताहरूले बताएका छन् ।