मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ मङ्सिर ११ शनिबार ०९:१७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दार्चुला कांग्रेस : पौडेलनिकट बोहोरा दोस्रोपटक सभापतिमा विजयी

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर ११ शनिबार ०९:१७:००

नेपाली कांग्रेस दार्चुलाको सभापतिमा ललितसिंह बोहाेरा दोस्रोपटक निर्वाचित भएका छन् । व्याँस गाउँपालिका –१ छाङरु घर भएका बोहाेरा सातौँ महाधिवेशनमा प्रतिद्वन्द्वी अमरसिंह धामीभन्दा दोब्बर बढी मत ल्याएर दोस्रोपटक सभापतिमा विजयी भएका हुन् । कुल नौ सय ५६ मत खसेकोमा बोहोराले ६ सय २० मत ल्याए भने प्रतिद्वन्द्वी धामीले तीन सय नाै  मत मात्रै ल्याए  । धामी शैल्यशिखर नगरपालिका प्रमुख तथा पूर्वपार्टी उपसभापति हुन् । देउवा पक्षबाट उम्मेदवार बनेका धामी बोहाेराभन्दा तीन सय ११ मतान्तरले पराजित भए ।

नेपाली कांग्रेसको पौडेल समूहमा रहेका बोहाेरालाई जिल्लामा केन्द्रीय सदस्य एवं मन्त्री दिलेन्द्र प्रसाद बडूले साथ दिए । यस्तै, पार्टी उपसभापतिमा ललितसिंह ठगुन्ना पाँच सय ४० र महादेव बडू (कस्यप) चार ८२ मत ल्याएर विजयी भएका छन् । उपसभापतिमा निर्वाचित भएका ठगुन्ना यसअघि मनोनीत उपसभापति थिए । माओवादी पृष्ठभूमिबाट आएका ठगुन्ना नौगाड गाउँपालिकाका स्थानीय हुन् ।  यस्तै, बडू महाकाली नगरपालिकाका स्थानीय हुन् ।

सचिवमा पुलेन्द्रबहादुर कार्की सबैभन्दा बढी छ सय ६५ ल्याएर विजयी भए । नयाँ कार्यसमितिको निर्वाचनमा लोकप्रिय मत ल्याएर कार्की विजयी भएका छन् । प्रस्ट वक्ता रहेका कार्की यसअघि नेपाल शिक्षक संघको जिल्ला अध्यक्षसमेत भएका थिए । दुहुँ गाउँपालिका अध्यक्ष रहेका कार्की कांग्रेसभित्र लोकप्रिय नेता छन् । यस्तै, अर्काे सचिवमा शैल्यशिखर नगरपालिका– २ का वडाध्यक्ष माधवराज भट्ट चार सय पाँच मत प्राप्त गरी विजयी भए। सहसचिवमा महाकाली नगरपालिकाका –५  का राजु अवस्थी पाँच सय ६९ र लेकम गाउँपालिका – ३ का राजेन्द्रप्रसाद जोशी चार सय २८ मत ल्याएर विजयी भएका छन् ।

प्रदेश सभा सदस्य बम महाधिवेशन प्रतिनिधिमा पराजित दार्चुलाबाट सुदूरपश्चिम प्रदेश सभाका सदस्य नन्दा बम नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भइन् । महिला प्रतिनिधिबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेका बम महाधिवेशनमा पराजित बनेकी छिन् । प्रदेश लेखा समिति संयोजकसमेत रहेका बमले कुल चार सय ९० मत मात्र ल्याएका छन् । चारजना महिला प्रतिनिधिको लागि भएको निर्वाचनमा पाँचजना महिलाबीच प्रतिस्पर्धा भएको थियो ।

जिल्लाबाट महिला प्रतिनिधिमा शान्तिदेवी बम ६ सय ८७, राजमती पाल ६ सय ८७, ईश्वरी जोशी, ६ सय ६९ र एसोदा तिंकरी ५ सय ६७ मत ल्याएर महाविधेशन प्रतिनिधिमा चयन भएको निर्वाचन समितिले जनाएको छ ।  प्रतिनिधिमा छनोट भएकी बम महिला संघ दार्चुलाकी अध्यक्ष हुन् । यस्तै, पाल शैल्यशिखर नगरपालिका उपप्रमुख हुन भने जोशी दुहुँ गाउँपालिका उपाध्यक्ष हुन् ।