मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सुदूरपश्चिमाञ्चल प्रदेशका अर्जुन साउद शतक पूरा गरेपछि खुसी साट्दै ।
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १० शुक्रबार ०८:३३:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रदेश २ को रोमाञ्चक जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १० शुक्रबार ०८:३३:००

अर्जुन साउदले एक सय १६ रनको शतकीय इनिङ्स खेलेपछि बिहीबार सुदूरपश्चिमाञ्चल प्रदेशले राष्ट्रिय यू–१९ क्रिकेट प्रतियोगितामा हार टार्न सकेन । टियु मैदानमा सुदूरपश्चिम प्रदेश २ सँग दुई विकेटले पराजित भयो । पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले ४१.४ ओभरमा अलआउट हुँदै दुई सय ९० रनको विशाल योगफल खडा गरेको थियो । दुई सय ९१ रन लक्ष्य पछ्याएको प्रदेश २ ले ४९.१ ओभरमा आठ विकेट गुमाएर दुई सय ९२ रन जोडेको थियो । 

सुदूरपश्चिम र प्रदेश २ को खेलमा ब्याट्सम्यानहरूले समग्रमा ५६ चौका र २४ छक्का प्रहार गरेका थिए । सुदूरपश्चिमका ब्याट्सम्यानले सर्वाधिक ३२ चौका र प्रदेश २ का ब्याट्सम्यानले १४ छक्का प्रहार गरे । सुदूरपश्चिम र प्रदेश २ बीचको खेल हाइस्कोर भयो । यस खेलमा कुल पाँच सय ९२ रन बन्यो । जसमध्ये चौकाबाट दुई सय २४ रन तथा छक्काबाट एक सय ४४ रन ब्याट्सम्यानले प्रहार गरेका थिए । 

प्रदेश २ को जितमा प्रदीप पासवान र आदिल अन्सारीबीच नवौँ विकेटका लागि भएको ७८ रनको साझेदारी नै मुख्य पाटो रह्यो । ३९.३ ओभरमा सामसाद मन्सुरी आउट हुँदा प्रदेश नम्बर दुई २१४–८ को स्थितिमा थियो । अन्सारी र पासवानले नवौँ विकेटका लागि नटआउट साझेदारी गर्दै प्रदेश २ लाई रोमाञ्चक जित दिलाउन सफल भए । पासवानले नौ रनको योगदान दिए पनि प्रदेश २ लाई जित दिलाउन अन्सारीले विस्फोटक ब्याटिङ गरेका थिए । 

उनले ४३ बलमा सात चाैका र ६ छक्काको मद्दतमा ८७ रनको विस्फोटक इनिङ्स खेल्दा अर्जुनको शतकीय इनिङ्स छायामा मात्र परेन, सुदूरपश्चिमले खेलसमेत गुमायो । प्रदेश २ का लागि गुलसन झाले ५३ बलमा ४५ रनको महत्वपूर्ण योगदान दिए । उनले दुई चौका र चार छक्का प्रहार गरेका थिए । प्रदेश २ का अमित यादव अर्धशतक बनाउन चुके । उनी ४९ रनमा आउट भए । 

उनले ७५ बलमा तीन चौका र दुई छक्का प्रहार गरेका थिए । प्रदेश २ का ओपनर सन्तोष कार्की र रोहन विकेले पहिलो विकेटका लागि ६.४ ओभरमा ४७ रनको साझेदारी गरेका थिए । सन्तोषले २१ रन तथा रोहनले २३ रनको योगदान दिए । बलिङको क्रममा सुदूरपश्चिमका लागि सेर मल्लले ४० रनमा तीन तथा नरेन्द्र साउदले ५६ रनमा तीन विकेट हात पारेका थिए । 

खेलमा म्यान अफ दी म्याच प्रदेश २ का अन्सारी भए । उनले बलिङमा ५३ रन खर्चेर एक विकेट लिनुका साथै दुई क्याच लिए । यसअघिको ब्याटिङमा अर्जुनको शतकीय इनिङ्स नै मुख्य रह्यो । प्रतियोगिताकै पहिलो शतकका रूपमा उनले एक सय १६ रन जोडेका हुन् । 

अर्जुनले ८५ बलमा १४ चौका र पाँच छक्का प्रहार गरे । उनी अजय यादवको ओभरमा आदिल अन्सारीबाट क्याच आउट भए । यसैगरी लोकेश बमले ७३ बलमा १३ चौका र एक छक्का प्रहार गरी ८१ रन जोडे । नरेश भट्टले ३३ बलमा पाँच चौकाको सहयोगमा ३० रन बनाए । लोकेश र अर्जुनबीच तेस्रो विकेटका लागि एक सय ४२ रनको साझेदारी भएको थियो । लोकेश र अर्जुनले सुदूरपश्चिमलाई ८२–२ बाट २२४–४ को बलियो स्थितिमा पुर्‍याए ।