मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ मङ्सिर ७ मंगलबार ०७:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बारको आन्दोलन २२ दिन पूरा : सर्वोच्चको ढोकामा धर्ना जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ मङ्सिर ७ मंगलबार ०७:१९:००

कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै सोमबार पनि सर्वोच्च अदालतको ढोकामा दुई घन्टा धर्ना दिएका छन् । नेपाल बार एसोसिएसनको नेतृत्वमा तीन सातादेखि आन्दोलनमा रहेका उनीहरूले सधैँझैँ कार्यालय समय सुरु भएपछि कालोपट्टी बाँधेर धर्ना दिएका हुन् । 

कानुन व्यवसायीहरूले ‘बिचौलियाका मतियार होसियार’, ‘हामी अरू जान्दैनौँ, चोलेन्द्रलाई मान्दैनौँ’, ‘सम्पत्ति शुद्धीकरण कहाँ छ, महाभ्रष्ट यहाँ छ’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए । 

धर्नालाई सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जबराले गरेका विवादित फैसला संकलन र अध्ययन गरिरहेको बताए । कसैसँग पैसा लिएको र अन्याय गरेको मुद्दा भए उपलब्ध गराउन आमसर्वसाधारणसँग आग्रह गरेका छन् । ‘तपाईंहरूसँग पैसा लिएको, अन्याय गरेको मुद्दा भए हामीलाई दिनुस् । न्यायपालिका स्वच्छ छ कि छैन जनताले थाहा पाउँछन्,’ श्रेष्ठले भने । जबराको राजीनामा नआएसम्म आन्दोलन नरोकिने उनले बताए । 

अधिवक्ता बलबहादुर राईले जबरालाई निर्लज्ज भएर पदमा नबस्न आग्रह गरे । उनले बारको आन्दोलनलाई राजनीतिक दलहरूको पनि साथ रहेको बताए । ‘बारको आन्दोलनमा पोलिटिकल पार्टीले सपोर्ट गरिरहेका छन् । तिनले एक दिन श्रीमान् थेग्न सकिएन, अब जानुस् भन्नेछन्,’ उनले भने । अधिवक्ता गणेश ओलीले बुट र लाठी जति बजारे पनि आन्दोलन नरोक्ने बताए । ‘हात भाँच्नुस्, टाउको फोड्नुस्, तर हामी आन्दोलन रोक्दैनौँ,’ उनको चेतावनी छ ।