सत्ताको वृत्तमा गोलचक्कर लगाइरहेको माक्र्सवादी बौद्धिक सांस्कृतिकको एउटा हिस्सा अनेक निहुँमा पुरातनपन्थीहरूको भिडमा सामेल भइरहेको छ
नेपालमा आधुनिककालको सुरुवात २००७ सालदेखि भएको हो । हुन त राजा महेन्द्रको पञ्चायती व्यवस्थामा आश्रित इतिहासकारहरूले नेपालको आधुनिक इतिहास पृथ्वीनारायण शाहदेखि सुरु भएको भाष्य खडा गरे । तर, यथार्थमा यो ससाना राज्य जितेर केन्द्रीकृत अधिराज्य खडा गर्ने राजशाही परम्पराको निरन्तरता मात्र थियो । जनताको कोणबाट हेर्दा यो केन्द्रीकृत नेपाल नयाँ थिएन ।
००७ सालको प्रजातान्त्रिक आन्दोलनपछिको नेपालमा राज्य सञ्चालनमा जनसहभागिता पहिलोपटक समावेश भएको थियो । जनसमुदायमा स्वतन्त्रता तथा समानताको चाहना थियो र राणाशाहीलाई ढालेको जनताले आफ्नो तागत महसुस गरेका थिए । त्यतिवेला, राजनीतिक शक्तिका रूपमा माक्र्सवादीहरू त नयाँ थिए नै, तर प्रमुख राजनीतिक शक्ति प्रजापरिषद् र नेपाली कांग्रेसका राजनीतिक दस्ताबेजहरूमा समेत पारम्परिक रुढ अन्धविश्वासको आलोचना र विरोध तथा सामन्तशाही राजनीतिक, आर्थिक र सांस्कृतिक नेपाली समाजको आमूल परिवर्तनको चाहना उत्कट रूपमा अभिव्यक्त भएको थियो ।
आमूल परिवर्तनको यस चाहनाको अधिकांश हिस्सा (पुरातन सामाजिक चिन्तनको आलोचना, आधुनिक बौद्धिक सांस्कृतिकता तथा समाजवादको प्रारूप) माक्र्सवादी आग्रहमा आधारित थियो । यो एउटा यस्तो कालखण्ड थियो, जतिवेला राजनीतिक शक्तिका रूपमा माक्र्सवादीहरूको विरोध गर्नेहरूसमेत बौद्धिक सांस्कृतिक रूपमा माक्र्सवादी सांस्कृतिकता र शोषणविहीन साम्यवादी लक्ष्यप्रति अनुराग राख्थे ।
यो अनुराग, नेपालमा प्रजातान्त्रिक समाजवादका सबैभन्दा ठूलो नेता बिपी कोइरालाको लेखनमा समेत देखिन्छ । यद्यपि उनीहरू समाजवाद प्राप्तिको विधिको अर्थमा माक्र्सले भनेको सर्वहारा अधिनायकत्वलाई अस्वीकार गर्थे र क्रान्तिको साटो कानुनी क्रमिक विकास अर्थात् सुधारवादी र अन्ततः पुँजीवादी अधिनायकत्वको बाटो पक्रन चाहन्थे । तर, यहाँ बहसको विषय यो होइन ।
यहाँ नेपालको सांस्कृतिकताको आधुनिक पक्षबारे संवाद गर्ने जमर्को गरिएको छ । रूपवादी र कलावादी विद्वान्हरूको विचारमा ‘नेपालका माक्र्सवादी बौद्धिकहरूको विडम्बना के छ भने उनीहरू नेपालको आधुनिक कालका सांस्कृतिक परम्परासँग संवाद गर्न डराउँछन् ।’ (विष्णु सापकोटा, बौद्धिक संस्कृतिमा माक्र्सवादी छाया, कान्तिपुर, २ मंसिर, २०७८ पृष्ठ ६) । उनीहरूको विचारमा माक्र्सवादी बौद्धिकले हरेक ज्ञान र सिर्जनालाई मजदुरको हित र समाजवादी यथार्थवादी कसीमा जाँचेर हेर्छन् र उनीहरूले स्वच्छन्दतावाद र अस्तित्ववादको बौद्धिक अराजकता तथा सिर्जनशील पागलपनको सौन्दर्य हेर्न सक्दैनन् । यसको प्रमाणका रूपमा उनीहरूले माक्र्सवादी बौद्धिकहरूले गरेको लक्ष्मीप्रसाद देवकोटा तथा माधवप्रसाद घिमिरेजस्ता कविहरूको आलोचनालाई अघि सार्छन् ।
सांस्कृतिक बौद्धिकताको क्षेत्रमा कलावादी र रूपवादीहरूको विशिष्टता के हो भने उनीहरू सिर्जनाका विचार पक्षलाई अवमूल्यन गर्छन् र मानवीय हितको आग्रह उनको प्राथमिकतामा पर्दैन । माक्र्सवादीहरूको सौन्दर्य दृष्टि द्वन्द्वात्मक हुन्छ । उनीहरू विचार र कला दुवैलाई महत्व दिन्छन् । यद्यपि उनको कलाको मूल्य र सौन्दर्यको प्राथमिकता मानवीय हुने गर्छ । यसैकारण राजपरम्परामा न त पौरोहित्य संस्कृति र सिंहासनको भव्यतामा रूपवादीले सौन्दर्यदर्शन गर्न सक्छ भने एउटा माक्र्सवादी बौद्धिकले यसलाई विकृत र अमानवीय देख्छ । यस परम्पराभित्रका स्वतन्त्रताका मानवीय चाहना र प्रयत्नहरू भने उसका निम्ति सौन्दर्यपरक रुचिका विषय हुन सक्छन् ।
समग्रमा माक्र्सवादी बौद्धिक सांस्कृतिकतामा पूर्ण स्वतन्त्रता र यसका निम्त संगठित मानवीय प्रयत्नबाट निःसृत भाव सौन्दर्यका सर्वोच्च प्रतिमान हुन् । यसविपरीतको सौन्दर्यबोध विरूप वा कुरूप भाव हुन् । यद्यपि मानवीय इतिहासमा विकसित मानवीयताविरोधी धारणासमेत इतिहासको संग्रहालयमा सुरक्षित राखिनुपर्छ भन्नेमा दुईमत हुन सक्दैन । सांस्कृतिक विरूपतालाई पनि सौन्दर्यको उपमा दिनु एकांगी दृष्टिकोण हो र कलावादीहरूको सांस्कृतिक बोधको समस्या पनि यही हो । उनीहरू सबै स्थापित प्रतिमानलाई सनातनी वा स्थायी भावमा हेर्छन् । यसैकारण उनीहरू देवकोटा हुन् वा घिमिरे वा लेखनाथ पौड्याल, सबै कला सामथ्र्य भएकाहरूलाई देवत्व भावमा हेर्छन्, आलोचनाभन्दा पर ।
चुनावी राजनीति र सत्ता–लालसामा कम्युनिस्ट ब्यानरधारी नेताहरूले जुन वैचारिक सांस्कृतिक कुरूपता फैलाएका छन्, त्यसको सबैभन्दा बढी आलोचना माक्र्सवादी बौद्धिकहरूले नै गरिरहेका छन्
तर, माक्र्सवादीहरू विचार होस् वा सांस्कृतिकता, सबै प्रवर्गहरूलाई गत्यात्मकता अर्थात् द्वन्द्वात्मकतामा हेर्छन् । उनीहरू आफूप्रति पनि आलोचकीय मुद्रामा हुने गर्छन् । त्यसैले त अहिले केपी ओली होऊन् वा माधव नेपाल वा प्रचण्ड, माक्र्सवादी बौद्धिक सांस्कृतिकहरूको सबैभन्दा बेसी आलोचनाको तारो उनीहरू नै बनिरहेका छन् । हुन पनि चितवन, माडीमा अयोध्यापुरी निर्माणका नाममा ओलीको चटक होस् वा रामरामी पगडी र कण्ठीमालामा स्वामी माधवानन्दझैँ देखिने नेपाल होऊन् वा रामदेवको गैरकानुनी टेलिभिजनको उद्घाटनमा रामदेवलाई क्रान्तिकारीको तक्मा लगाउने प्रचण्ड होऊन्, चुनावी राजनीति र सत्ता लालसामा यी कम्युनिस्ट ब्यानरधारी नेताहरूले जुन वैचारिक सांस्कृतिक कुरूपता फैलाएका छन्, त्यसको सबैभन्दा बढी आलोचना माक्र्सवादी बौद्धिकहरूले नै गरिरहेका छन् ।
००७ सालको राजनीतिक परिवर्तनपछिको राजनीतिक, वैचारिक र सांस्कृतिक बौद्धिकताको केन्द्रमा जनता थियो, यसमा दुईमत हुन सक्दैन । किनभने त्यतिवेला राजा समेत अबदेखि ‘विधान सभाले तय गरेको गणतन्त्रात्मक व्यवस्था’मा बस्ने वाचा गर्न बाध्य भएका थिए । त्यसैले गर्दा जनताले पनि उनलाई तत्काल स्विकारेका थिए । पौड्याल वा देवकोटाले आधुनिक साहित्यिक प्रवृत्तिका शैलीमा पुरातन भावका कविता र कथाहरू पनि लेखेका थिए, तर उनको लोकप्रियता जनअपेक्षाअनुसार मानवीयता, स्वतन्त्रता, समानता तथा पीडाबाट मुक्तिका रचनाहरूकै निम्ति थियो भन्नेमा दुईमत छैन । हो, देवकोटाले सात दिनमा सुलोचना महाकाव्य लेखेबाट राणाहरू र त्यस्तै पुरातन प्रवृत्तिको समुदाय खुसी हुन सक्छन् । तर, त्यो आधुनिक प्रवृत्ति थिएन । आधुनिक त नयाँ वातावरणमा जन्मिने प्रवृत्ति हो ।
००७ सालको आधुनिक प्रवृत्तिलाई ०१७ सालमाा राजा महेन्द्रले निमोठे र पञ्चायती प्रजातन्त्र नामको निरंकुशता पुरातन राजनीतिक र सांस्कृतिक प्रवृत्तिलाई पुनस्र्थापित गरे । त्यतिवेलाको आधुनिकता पञ्चायती निरंकुशताविरुद्ध थियो । स्वतन्त्रता र समानताको पक्षधर जनसमुदाय यसको विपक्षमा थियो । तर, देवकोटा वा पौड्यालको सिर्जनात्मक प्रवृत्ति कता थियो ? नेपालको आधुनिकतासँग संवाद गर्ने हो भने यसलाई उपेक्षा गर्न सकिँदैन । पौड्याल र देवकोटा वा माधव घिमिरेहरूको कला सामथ्र्यको विराट्तासँग कसैको असहमति हुन सक्दैन ।
तर, जब यी विराट् क्षमताका सर्जकहरूको सांस्कृतिक बौद्धिकताको आधुनिक चेतना र सौन्दर्यचेत निरंकुशता र पुरातनताको गुणगान गर्न थाल्छ, अनि प्रश्न उठ्छ । नेपालको माक्र्सवादी बौद्धिक सांस्कृतिकताले यही त गर्यो ! धेरै माक्र्सवादीलाई के भ्रम छ भने देवकोटाको प्रगतिशीलतामा ‘आखिर श्रीकृष्ण रहेछ एक’ भन्ने कविता नै समस्या छ । तर, त्यसभन्दा पनि बढी ‘श्रीपेच’ र ‘राजा एउटा कलम देऊ’लगायत राजाको स्तूतिमा लेखिएका कविताले उनको सिर्जनाको आधुनिक सौन्दर्य चेत र बौद्धिक सांस्कृतिकतामा गम्भीर प्रश्न खडा गर्छ । पौड्यालको सर्जनामा मानवीय आकांक्षाबाहेक सम्पूर्ण भित्ती नै पुरातन चेतना र आदर्शमा अडिएको छ ।
माओवादी जनयुद्ध र ०६२÷६३ को जनआन्दोलनले गणतन्त्रात्मकताका नयाँ सांस्कृतिक सौन्दर्य चेतको अपेक्षा गर्यो । एउटा यस्तो सौन्दर्यचेत जसले सोक्रेटसजस्तै प्रस्तर प्रतिमाको साटो सुगुर्नीले पाठो जन्माइरहेकोमा जीवनोत्पत्तिको सौन्दर्य र मानवीय प्रयत्नमा रत जनसमुदायमा निहित आशावादमा सौन्दर्य चेत देख्छ । अफसोस ! गणतन्त्रपछिका यी जनअपेक्षा विकृत हुँदै छन् र सत्ताको वृत्तमा गोलचक्कर लगाइरहेका माक्र्सवादी बौद्धिक सांस्कृतिकको एउटा हिस्सा अनेक निहुँमा पुरातनपन्थीहरूको भिडमा सामेल भइरहेका छन् । तर, यो आलोचकीय यथार्थबोध गर्नेहरू पनि माक्र्सवादी बौद्धिक सांस्कृतिक पक्षधर नै हुन् ।
वस्तुतः स्वच्छन्दतावाद होस् वा अस्तित्ववाद, वा अन्य कुनै, बौद्धिक सौन्दर्यबोध भनेको त्यसमा अभिव्यक्त सुन्दरता र कुरूपताको दर्शन हो । तर, यसका निम्ति पुरातन र सांस्कृतिक यथास्थितिको भव्यताको एकाङ्गी सोचबाट मुक्त भएर कला र विचारको द्वन्द्वात्मकताको बोध गर्नैपर्छ । पूर्वीय दर्शनको ‘सत्यम्, शिवम्, सुन्दरम्’को सारले पनि निरपेक्ष सत्य होइन, कल्याणकारी सत्यलाई नै सुन्दर भनेको छ ।
निश्चय नै नेपालमा बौद्धिक सांस्कृतिकतामा समयसँग संवाद गर्नमा माक्र्सवादी बौद्धिकहरूको ठूलो हिस्सा अहिले गैरमाक्र्सवादी भिडमा हराएजस्तै छ । तर, नेपालमा आधुनिकतासंग संवादको विषय र विधि दुबैसंग परिचय गराउनेहरू माक्र्सवादीहरू नै थिए भन्ने तथ्य महत्वपूर्ण छन् । जतिबेला जनअधिकारहरू खुम्चिँदै थिए र मानवमन कुण्ठित थियो, जतिवेला एउटा कित्ताले स्वच्छन्दतावादको नाममा प्रकृतिको गीत गाउँछ, अर्कोले अस्तित्ववादका नाममा निराशाको गीत गाउँछ र अर्को कित्ताले मानवीय मनमा आशावाद भर्न प्रतीक र बिम्बको रचना गर्दै मानवीय शौर्यको अजेयताको गीत गाएर मुक्तिका निम्ति प्रेरित गर्छ भने कुन हो सुन्दर ? एकातिर यथास्थितिमा मानवीय भावबोधका रचना गर्ने देवकोटा, पौड्याल र घिमिरे जस्तालाई उभ्याउनुस् र त्यसैको समानान्तर युद्धप्रसाद मिश्र, गोपाल रिमाल, केवलपुरे किसान, पारिजात र कृष्णसेन इच्छुकलाई उभ्याउनुस् र सौन्दर्य विवेचना गर्नुस् ।
तपाईँलाई माक्र्सवादसँग कुनै फ्रस्टेसन छ भने पनि सिर्जना र सर्जकीय प्रवृत्ति अग्रगामी छ वा छैन भन्ने प्रश्नको महत्व त हुन्छ नै, आधुनिकतासँग संवाद गर्ने हो भने वर्तमानमा स्थापित कैयौँ पुरातनतालाई फेरिनु आवश्यक छ– आदिकवि, महाकवि र राष्ट्रकवि मात्र होइन, राष्ट्रको परिभाषासमेत ।