मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ६ सोमबार
  • Wednesday, 18 December, 2024
सोमत घिमिरे
२o७८ मङ्सिर ६ सोमबार o७:४५:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

एमालेको ‘देवत्व महाधिवेशन’

Read Time : > 3 मिनेट
सोमत घिमिरे
नयाँ पत्रिका
२o७८ मङ्सिर ६ सोमबार o७:४५:oo

यो अधिवेशनले मूलतः ओलीलाई नेताबाट देवतामा रूपान्तरित गर्नेछ । यो भेलाको अरू धेरै उद्देश्य छैन । 


एमाले महाधिवेशन गर्दै छ । उसको यो महाधिवेशन निरन्तरताको महाधिवेशनभन्दा विशिष्ट र मौलिक बन्दै छ । प्रचण्डको भाषा सापटी लिने हो भने क्रमभंग छलाङरूपी महाधिवेशन हुँदै छ । महाधिवेशनले मूल रूपमा समाजको परिवर्तनको गतिमा विचारको छलफल गर्ने हो । अहिले नेपाली समाजको खास एजेन्डा के हुन्, खास अन्तरविरोध के हो, नेपाली समाजको वर्गलाई कसरी विश्लेषण गर्ने, उत्पादन सम्बन्धलाई कसरी रूपान्तरण गरी समुदायमुखी बनाउने, खासमा एउटा कम्युनिस्ट पार्टीले छलफल गर्नुपर्ने विषय यी र यस्तै हुन् । तर, एमालेले छलफल गर्नेछैन । अन्तै छलाङ मारी क्रमभंग गर्नेछ ।

हुन त कुनै पनि पार्टीका महाधिवेशन साँचो अर्थमा महाधिवेशनजस्तो हुन सकेका छैनन् । विचार, नेतृत्व, रणनीतिलाई एकीकृत रूपमा व्याख्या गर्न सकेकै छैनन् । कर्मकाण्डीजस्ता छन् । एमालेको अहिलेको महाधिवेशन भने विगतका सबै महाधिवेशनहरूलाई छाया पार्ने खालको छ । 

दोस्रो प्रश्न महाधिवेशनले छलफल गरेको विषयलाई बोकेर हिँड्न कस्तो नेतृत्व चाहिन्छ भन्ने महाधिवेशनको मर्म हो । यो मर्म र प्रश्न त एमालेका लागि कुनै विषय नै होइन । विचार, नेतृत्व र जनपरिचालन हेरफेर गर्नु, माझिनु महाधिवेशनका मूल पक्ष हुन् । तर, यी सबै पक्ष एमालेका लागि गौण छन् । अधिवेशनमा यी कुनै पक्षले ठाउँ पाउनेवाला छैनन् । 

यो अधिवेशनले मूलतः ओलीलाई नेताबाट देवतामा रूपान्तरित गर्नेछ । यो भेलाको अरू धेरै उद्देश्य छैन । नेपाली राजनीतिमा देवत्वकरण भन्ने शब्द निकै पुरानो हो । तर, देवत्वकरण धेरै पर पुगेर महाधिवेशनले साक्षात् हिँड्ने, डुल्ने देवता निकाल्नेछ । आस्तिकहरूको संसारमा सर्वथा यो नयाँ प्रयोग हुनेछ । देवताको आरधना गरिरहेका र देख्न नपाएका मानिसहरूका लागि यो क्रमभंग र छलाङ हुनेछ । यस अर्थमा एमाले महाधिवेशन मौलिक हुनेछ । यसबाट देवता भएर निस्कनेछन्, ओली । बालकोट मन्दिर हुनेछ । बार्दलीबाट उनले भक्तहरूलाई पञ्चामृत बाँड्नेछन् । भक्तजनहरूले तलै पञ्चामृत खाई धुपधुँवार गर्नेछन् । 

देवताका अगाडि न संंघीयता, न समाजवाद, न पार्टी ठूलो । महाधिवेशनपछि गज्जबको यात्रा गर्नेछ, एमालेले । देवताको अगाडि प्रश्न गर्न भएन । जयजयकारको भीड मात्रै रुचीकरण हुनेछ । नेपाली राजनीतिमा नेता र कार्यकर्ताको सम्बन्ध कर्णेल र सिपाहीको जस्तो त हुँदै हो, तर एमाले मौलिक पार्टी हो । बहुदलीय जनवादपछि यसले मौलिकताको अभ्यास गर्दै आएको छ । बहुदलीय जनवादभित्र विचारको विकासका क्रममा देवता र भक्तको सम्बन्धलाई सैद्धान्तिक रूपमा परिभाषित गर्ने काम यो महाधिवेशनले गर्नेछ । देवताका अगाडि विचार, कार्यशैली ठूलो कुरा होइन । देवताले सारा नेपालीलाई आशीर्वाद दिने हो । यस अर्थमा हामी सबै नेपाली भाग्यमानी छौँ । 

ओलीभित्र देवत्वको रहर जागेको धेरै भइसक्यो । उनकै देवत्वको रहरमा नेकपा तीन चिरा भयो । उनकै देवत्वको रहरमा संघीय सरकार ढल्यो । उनकै देवत्वको रहरमा सबै प्रदेश सरकार बडारिए । सबैथोक जाँदा पनि देवत्वको रहर ज्युँकात्युँ रह्यो । देवत्वको रहर पूरा गर्ने अन्तिम अभिष्ट पूरा गर्न भक्तजनहरूको चितवनमा भेला गरी अन्तिम रूप दिन लागियो, जसलाई महाधिवेशन भन्न पनि हिचकिचाइएन । देवता घोषणासभा भन्न नमिलेपछि चलनचल्तीको शब्द महाधिवेशन प्रयोगमा ल्याइएको हो । 

पार्टी फुट्यो । प्रदेश र संघीय सरकार गयो । एमाले कार्यकर्ताले प्रश्न उठाएनन् । किन हामी जताजतै ढल्यौँ ? कसैले सोधेन । यसको अर्थ हो, ओली देवतामा रूपान्तरण हुन खोजेका मात्रै होइनन्, यस महाधिवेशनले कार्यकर्तालाई पनि निखरो भक्तमा रूपान्तररित गर्नेछ । कसैसँग बचेखुचेको कम्युनिस्टपन छ भने यो भेलाले पाखाल्नेछ, कम्युनिस्टपनलाई नारायणी किनारमा लगेर सेलाइनेछ । त्यसै भएर भेला नै नारायणी किनारमा राखिएको आकलन गर्न सकिन्छ । 

यतिवेला धेरैलाई अप्ठ्यारो त छैन । दलाल पुँजीवादजस्ता अनेकन् शब्द प्रयोग गरेर विचारको झन्डा उठाए जस्तो गर्ने घनश्यामलाई भने अप्ठ्यारो छ । भक्तमा रूपान्तरित हुने कि सानो स्वरमा भए पनि दलाल पुँजीवाद भनिरहने । साँच्चैको अप्ठ्यारोमा घनश्याम छन् कि अनुकूलन भइसके होलान् । महाधिवेशनपछि देखिएला । एउटा पंक्तिलाई यो भेला निकै असजिलो छ । कम्युनिस्ट पनि भइरहनु र एउटा देवता घोषणा हुने भेलामा उपस्थित पनि हुनु साह्रै दुःखको विषय हो । यही दुःख सहन नसकेर माधव नेपाल नेता कार्यकर्ताको पंक्तिमा आए । देवता र भक्तको पंक्तिमा रहेनन् । माधव नेपालकै जसरी छुट्टिन पनि सजिलो छैन । बस्न त झन् सजिलो छैन । एउटा सानो तप्का यो बज्रपातमा छ । 

चलनचल्तीको हिसाबले केही कम्युनिस्ट शब्दसहितका दास्तावेज पनि अधिवेशनले निकाल्ला । नेपाली समाज पुँजीवादमा गयो कि गएन पनि भन्ला वा अर्थोक केही पनि भन्ला । तर, त्यो कागजको केही अर्थ होला देवताका अगाडि ? एमाले महाधिवेशनको सन्दर्भमा म रजनीशको एउटा कथा सम्झँदै छु । रजनीशको एउटा पात्र छ– मुल्ला नसरुद्दिन । नसरुद्दिनले एक दिन खसीको कलेजो फ्राई खाएछ । निकै मिठो लागेछ र पकाउने तरिका टिपेर कागज स्टकोटको गोजीमा राखेछ । पकाउँदा अपनाउनुपर्ने २० स्टेपहरू उसले कागजमा टिपेको थियो । एक किलो मासु किन्यो र मुल्ला आफ्नो घर जान उकालो लाग्यो । ठाडो उकालो थकाइ मार्न चौतारोमा बस्छ । आफ्नो अगाडि किनेका कलेजो राख्छ । वेलावेला कलेजो पकाउने कागज गोजीमा छ कि छैन हेर्छ र पकाउने तरिका पढ्छ । 

कागज पढ्न लागेको वेला चिल आयो र कलेजो लिएर गयो । नसरुद्दिनले हाँस्दै भन्यो, ‘मूर्ख चिल, कलेजो लगेर के गर्छस्, पकाउने कागज त यहीँ छ ।’ महाधिवेशनले जे दस्तावेज पारित गरे पनि नसरुद्दिनको कलेजो कसरी पकाउने भनेर लेखिएको कागजजस्तै हुनेछ । कलेजो नै नभएपछि कागजको के काम ? नेतै नभएर देवता भएपछि महाधिवेशनको दस्तावेजको के काम ? यो सवाल एमालेका धेरैलाई थाहा नभएको होइन, तर देवताका अगाडि भक्तले प्रश्न गर्नै भएन । 

देवता हुनेक्रममै ओलीले एक ढंगले सत्यनाश बनाइसके । उनको देवता हुने रहरले सब डुबिसक्यो । अब डुब्न बाँकी एउटै छ, त्यो हो ओलीको देवत्वको एमाले विघटनमा पुग्नु । वैचारिक हिसाबले बहुदलीय जनवादको अंगीकारपछि विघटन भए पनि प्राविधिक र व्यस्थापकीय हिसाबले एमाले देखिन्थ्यो । अब जसरी देवता देखिँदैन, त्यसैगरी एमालेलाई नदेखिने बनाउने सम्भवतः उनको यो देवत्वपछिको कदम हुनेछ । नेपाली समाजलाई ओलीले लगाउने सबैभन्दा ठूलो गुण पनि यही हुनेछ । हरेक कुराको सकारात्मक र नकारात्मक उचाइ हुन्छ । बहुदलीय जनवादपछि उल्टो बाटो हिँडेको एमालेको सबभन्दा उल्टो चुचुरो सम्भवतः यही महाधिवेशन साबित हुनेछ । यो देवताको प्रचलनभित्र एउटा पार्टी जीवित रहन सक्ला ?