मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ३ शुक्रबार
  • Thursday, 19 December, 2024
सोनी राई सोलुखुम्बु
२o७८ मङ्सिर ३ शुक्रबार १२:५५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मेरापिक बेसक्याम्प र हाइक्याम्पमा अनधिकृत टहरा निर्माण, छानबिन गर्न निटोगको माग

Read Time : > 1 मिनेट
सोनी राई सोलुखुम्बु
नयाँ पत्रिका सोलुखुम्बु
२o७८ मङ्सिर ३ शुक्रबार १२:५५:oo

सोलुखुम्बुको महाकुलुङमा अवस्थित मेरापिकको बेसक्याम्प र हाइक्याम्पमा अनधिकृत टहरा निर्माण गरेको पाइएको छ। आरोहण खुला गरिएको हिमालमा आरोहणबाहेकका गतिविधि गर्न नपाइने कानुनी व्यवस्था भए पनि मेरापिकको बेसक्याम्प र हाइक्याम्पमा व्यावसायिक प्रयोजनका लागि टहरा निर्माण गरिएको पाइएको हो।

माथिल्लो क्षेत्रमा होटेल व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरूले आफूखुसी टहरा निर्माण र प्रयोग गर्ने गरेको त्यस क्षेत्रमा पुग्ने ट्रेकिङ गाइडहरूले बताएका छन्। नाम नबताउने सर्तमा एक गाइडले मेरापिकको बेसक्याम्प र हाइक्याम्प क्षेत्रमा निर्माण गरिएको टहरा सम्बन्धित पर्यटन व्यवसायीले प्रयोग गर्दै आएको बताए।

अनधिकृत रूपमा टहरा निर्माण गरेको विषय मकालु बरुण राष्ट्रिय निकुञ्जलगायतका सरोकारवालालाई थाहा भए पनि होटेल व्यवसायीको मिलेमतोमा कुनै पक्ष पनि नबोलेको अर्का ट्रेकिङ गाइडले गुनासो गरे। टहरा निर्माणको गुनासो निकुञ्जको कार्यालयमा पुगेपछि बुङ क्लष्टरबाट मेरापिक क्षेत्रमा बुझ्न पठाएको निकुञ्जका प्रमुख अजित पराजुलीले बताए। गुनासो आएपछि कर्मचारीलाई बुझ्न पठाएको र स्थलगत रिपाेर्टको आधारमा आगामी कदम चाल्ने उनको भनाइ छ।

हिमालमा टहरा निर्माणको विषयमा गुनासो आएपछि नेपाल पर्वतारोहण संघले आकस्मिक बैठक बसेर सरोकार राख्ने निकायलाई पत्राचार गर्ने निर्णय गरेको छ। संघका महासचिव कुलबहादुर गुरुङले हिमालको सुरक्षा र पर्वतीय पर्यटनमा पर्ने असरलाई कम गर्न आवश्यक कदम चालियोस् भन्ने भावसहितको पत्र महाकुलुङ गाउँपालिका, मकालु बरुण राष्ट्रिय निकुञ्ज, पर्यटन विभाग र पर्यटन मन्त्रालयमा पठाउने निर्णय गरिएको बताए। पर्यटन विभागका पूर्वनिर्देशक मीरा आचार्यले हिमालमा आरोहणबाहेकका कुनै पनि गतिविधि गर्न नपाइने बताइन्। पर्यटकसँगै पटकपटक मेरापिक क्षेत्र पुगेका ट्रेकिङ गाइडहरूले टहरा निर्माणलाई नियन्त्रण नगर्ने हो भने हिमालको शोभा बिग्रने र पर्वतीय पर्यटनमा असर पुग्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

अनधिकृत टहरा निर्माणको विषयमा छानबिन गर्न माग
मेरापिकको बेसक्याम्प, हाइक्याम्प, खोङमादिङ, सेतो पोखरी, आम्फुलाप्चा, बेसक्याम्प, बरुचे बेसक्याम्पमा अनधिकृत घरटहराहरू निर्माण गरिएको विषयमा छानबिनको माग गर्दै नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (निटोग)ले मकालु बरुण राष्ट्रिय निकुञ्जलाई पत्र पठाएको छ। बुधबार निटोगले आरोहण खुला गरिएको हिमालमा आरोहणबाहेकका कुनै पनि गतिविधि गर्न नपाइने कानुनको बर्खिलाप गर्दै टहरा निर्माण गरेको र त्यस विषयमा सरोकारवाला निकाय मौन रहेको भन्दै ध्यानाकर्षण भएको जनाएको थियो।

मेरापिकमा काठ र जस्तापाता प्रयोग गरी खारेमा सञ्चालित ‘रिफ्युज मेरा’लगायतका होटेलहरूले घरटहरा निर्माण गरेको विषय कानुनविपरीतको काम भएको भन्दै छानबिन गरी कारबाहीको माग गर्दै पत्र पठाएको हो। निटोगका अध्यक्ष रामकाजी तिवारीले प्रमाणको रूपमा फोटोहरू सार्वजनिक भए पनि सम्बन्धित निकाय मौन बस्नुले गम्भीर प्रश्न उठाएको बताए। निटोगको पत्र पाएको निकुञ्जले जवाफ पठाएको छ। गुनासो आउनासाथ बुङ क्लस्टरलाई पत्राचार गरेर कर्मचारी मेरा क्षेत्रमा पठाएको र स्थलगत अनुगमनको प्रतिवेदन नआएसम्म अघि बढ्न नसक्ने जनाएको छ।