बढी आयकर बुझाउनेमा नेपाल टेलिकम, निर्याततर्फ डाबर नेपाल, बैंक वित्तमा नबिल र भ्याटमा घोराही सिमेन्ट
सूर्य नेपाल प्रालि सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । सरकारले आर्थिक वर्ष २०७६/७७ मा आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कलगायत गरेर सबैभन्दा बढी कर तिरेको भन्दै सूर्य नेपाललाई सम्मान गरेको हो ।
व्यक्तिगततर्फ भने सबैभन्दा बढी कर तिरेको भन्दै सिद्धार्थशम्शेर जबरा सम्मानित भएका हुन् । सिप्रदी ट्रेडिङ प्रालिका कार्यकारी अध्यक्ष राणाले आव २०७६/७७ मा व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर बुझाएर सम्मानित भएका हुन् ।
सरकारले दशौँ राष्ट्रिय कर दिवस २०७८ को अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको हो । यसरी सम्मानित हुनेमा सूर्य नेपाल र राणासहित १५ करदाता रहेका छन् । सबैभन्दा बढी कर तिर्ने उत्कृष्ट करदाताहरूलाई अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले सम्मानपत्र प्रदान गरे ।
आन्तरिक राजस्व विभागका अनुसार सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, निर्यात कारोबारबाट सबैभन्दा बढी आयकर बुझाउनेमा डाबर नेपाल प्रालि, विशेष उद्योगहरूमध्ये सबैभन्दा बढी आयकर तिर्नेमा एसियन पेन्टस् (नेपाल) प्रालि र कृषि एवं पशुपक्षीजन्य उद्योगहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता पूर्वाञ्चल एग्रिटेक प्रालि रहेका छन् ।
त्यस्तै, सहकारी तथा लघुवित्तको कारोबार गर्ने संस्थाहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, बैंक वित्तीय संस्थाको कारोबार गर्ने संस्थाहरूमध्ये सबैभन्दा बढी आयकर बुझाउनेमा नबिल बैंक लिमिटेड, बिमा व्यवसायमध्ये सबैभन्दा बढी आयकर तिर्नेमा नेपाल पुनर्बिमा कम्पनी लिमिटेड र स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थाहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल रहेका छन् ।
विभागका अनुसार पर्यटन व्यवसायमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता तारागाउँ रिजेन्सी होटेल्स लिमिटेड, वस्तु–व्यापारको कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर बुझाउनेमा भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल प्रालि, मध्यमस्तरीय करदातामध्ये सबैभन्दा बढी आयकर तिर्नेमा कर्जा सूचना केन्द्र कम्पनी लिमिटेड र ऊर्जामूलक उद्योगहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता हिमाल पावर लिमिटेड रहेका छन् । २०६६ साउनदेखि २०७८ असार मसान्तसम्म मूल्य अभिवृद्धि करको मासिक कर विवरण र सोबमोजिमको कर समयमै बुझाउने घोराही सिमेन्ट इन्डस्ट्रिज लिमिटेड रहेको छ ।
अर्थमन्त्रीका तीन प्रतिबद्धता
अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले करसम्बन्धी तीनवटा प्रतिबद्धता गरेका छन् । दशौँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभाग लाजिम्पाटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कर क्षेत्रका सुधारका सम्बन्धमा तीनवटा प्रतिबद्धता गरेका हुन् । अर्थमन्त्रीले कर प्रशासनमा हुने झन्झटलाई तत्काल समाधान गर्न संयन्त्र बनाउने, भन्सारमा ‘भेहिकल स्क्यानर’को व्यवस्था गर्ने र स्टिकर सरकार आफैँले छाप्ने प्रतिबद्धता गरेका हुन् ।
उनले कर प्रणाली र करदाताका समस्या तत्काल समाधान गर्न संयन्त्र निर्माण गर्ने बताएका छन् । ‘करदाताहरूको गुनासा सुन्नुपर्छ । यहाँ आइसकेपछि एउटा इकाइ बनाउनुपर्ने आवश्यकता महसुस गरेँ’, उनले भने, ‘तपाईंहरूले भन्नुभएको ‘झ’ झिक्नका लागि एउटा संयन्त्र बनाउँछु । त्यहाँ तपाईंले गुनासो राख्न पाउनुहुन्छ ।’ ‘पेपरलेस’, ‘कन्ट्याक्टलेस’ बनाउने प्रक्रिया थालनी भएको बताउँदै उनले त्यसलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । राजस्व व्यवस्थापनलाई आगामी दिनमा प्रविधियुक्त बनाउँदै करदातामैत्री बनाइने बताए ।