१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १ बुधबार
  • Tuesday, 08 July, 2025
२o७८ मङ्सिर १ बुधबार o६:१४:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मध्यरातको भीषण आगलागीले  गमगढीका २१ घर खरानी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १ बुधबार o६:१४:oo

पीडित राहतको प्रतीक्षामा, सरोकारवालाहरू दिनभर बैठकमा

जिल्ला सदरमुकाम गमगढीस्थित तल्लो बजारमा भीषण आगलागी हुँदा २१ घर जलेर खरानी भएका छन् । आगलागीमा १७ वटा घर र चारवटा घुम्ती पसल खरानी भएका हुन् । करोडौँको धनमाल जलेर नष्ट भएको छ । मानवीय क्षति भने भएको छैन । प्रहरीका अनुसार थुप्रैले भागेर ज्यान जोगाएका छन् ।

सोमबार मध्यरातबाट सुरु भएको आगलागी मंगलबार मध्याह्न मात्र पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी चित्रबहादुर भट्टराईले धेरै ठूलो धनमालको नोक्सानी भए पनि मानवीय क्षति भने हुन नपाएको बताए । ‘राति करिब साढे १२ बजेतिर आगलागीको खबर आयो । हामीले तत्कालै सुरक्षाकर्मीको टोली परिचालन गर्‍यौँ । आगलागी नियन्त्रणमा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी, नेपाली सेनाको टोली पनि खटियो । स्थानीयवासीले पनि ठूलो सहयोग गरेपछि बिहान करिब ४ बजेतिर आगो फैलनबाट रोकियो । मंगलबार मध्याह्नतिरबाट भने पूर्ण रूपमा आगो नियन्त्रणमा आयो,’ डिएसपी भट्टराईले नयाँ पत्रिकासँग भने । 

मध्यराति आगो लागे पनि सबै निकायका सुरक्षाकर्मी र स्थानीय तत्कालै नियन्त्रण र उद्धारमा जुटेकाले मानवीय क्षति रोकिएको उनले बताए । ‘रातिको समयमा यति भीषण आगलागी भए पनि मानवीय क्षति हुन पाएन । पीडितहरू ज्यान जोगाउन सफल भए,’ उनले भने, ‘सुरुमा आगो लागेका घरका मान्छेहरू जोडजोडले कराउने, रुवाबासी गर्ने गरेकाले छेउछाउका अन्य घरका मानिसले पनि समयमै थाहा पाए र ज्यान जोगाउन सफल भए । सुरक्षाकर्मी पनि समयमै पुगेर उद्धारमा जुट्दा मानवीय क्षति हुन पाएन ।’

आगलागीबाट ठिल्ले लामा, छिरिङ लामा, गोमा शाही, डम्मर मल्ल, झमा लामा, गुरु लामा, टासी लामा, राजबहादुर शाहीको घर जलेर नष्ट भएको छ । यस्तै, छत्रबहादुर मल्ल, कसुसलाल सावत, पृथ्वीजंग शाही, रतनबहादुर शाही, जानबहादुर हितान, दानबहादुर हितानको घर पनि जलेको छ । जनकबहादुर मल्ल, ग्याम्जो लामा, यांग्याल लामा, विशाल मल्ल, पुतली शाही, लक्ष्मी शाही र सुभाष मल्लको घर पनि पूर्ण रूपले क्षति भएको डिएसपी भट्टराईले जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा स्थानीय ठिल्ले लामाको घरमा पूजाका लागि बालिएको दियोबाट आगो फैलिएको पाइएको छ । घरका भान्छाहरूमा राखिएका खाना पकाउने ग्यासका सिलिन्डरका कारण पनि आगो तीव्र रूपमा फैलिएको थियो । सिलिन्डर पड्किँदा हुने जोखिमको डरले उद्धार कार्यसमेत प्रभावित भएको थियो । 

आगलागीबाट घरबार गुमाएका पीडितहरूको बिचल्ली भएको छ । कठ्यांग्रिने चिसो याममा उनीहरूले वास गुमाएका छन् । ज्यान बचाएर भाग्न सफल भए पनि उनीहरूले जीवनभरको दुःखले आर्जेको घर बचाउन सकेनन् । न लत्ताकपडा, भाँडावर्तन र अन्नपात नै झिक्न भ्याए । धेरैजसो आफ्नै आँखासामुन्ने आफ्ना सपनाहरू जलेको हेर्न बाध्य भए । अग्निपीडितहरू सोमबार मध्यरातदेखि मंगलबार दिनभर आगो नियन्त्रणमा खटिए । साँझ ढल्दै जाँदा उनीहरू वासको खोजीमा लागे । केही आफन्तको शरणमा पुगे, कोही बजारकै घरहरूमा डेरा लिन पुगे । 

पीडित राहतको प्रतीक्षामा, सरोकारवालाहरू दिनभर बैठकमा
जीवनकै कष्टपूर्ण समयबाट गुज्रिरहेका गमगढीवासीको घाउमा मल्हम लगाउन सरोकारवालाबाट मंगलबार खासै पहल भएन । जिल्लास्थित सरोकारवाला निकायहरू दिनभर बैठकहरूमै सीमित भए । पीडित २१ घरधनी र त्यहाँ डेरा गरी बस्ने ४२ परिवारले मंगलबार कुनै राहत पाएनन् । मंगलबार बिहानै जिल्ला समन्वय समितिको सभाहलमा सर्वपक्षीय बैठक बसेको थियो । बैठकले कर्णाली प्रदेश सरकार र स्थानीय गैरसरकारी संस्थालाई राहत उपलब्ध गराउन अनुरोध गर्ने निर्णय मात्र गर्‍यो । छायाँनाथ–रारा नगरपालिकाले पनि स्थानीय गैरसरकारी संघ–संस्थासँग राहतको गुहार मागेरै दिन बितायो ।

मंगलबारै जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपत् व्यवस्थापन समितिको बैठक बसेको थियो । जिल्ला प्रशासनले प्रतिघरधनी १५ हजारका दरले र बहालमा बसेकालाई प्रतिपरिवार १० हजारका दरले नगद राहत उपलब्ध गराउने निर्णय गर्‍यो । यस्तै, बैठकले रेडक्रस र जिल्ला प्रहरी कार्यालयलाई पीडितको विवरण संकलन गर्ने जिम्मा दियो । तत्काल राहतका लागि चारवटा पालिकालाई अनुरोध गर्ने निर्णय पनि गरेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । 

राहतकै विषयमा निर्णय गर्न उद्योग वाणिज्य संघ मुगुको पनि बैठक बस्यो । बैठकले सदरमुकाममा रहेका आफ्ना सदस्य व्यापारीबाट मंगलबारदेखि नै नगद चन्दा उठाउने निर्णय गर्‍यो । संघका अध्यक्ष कमल बुढाले त्यसरी संकलित रकम जिल्ला विपत् व्यवस्थापन समितिको जिम्मा लगाई सो रकमबाट तत्काल राहत उपलब्ध गराइने जानकारी दिए । रेडक्रस मुगुले भने अग्नि पीडितलाई गैरखाद्यसामग्री वितरण गर्‍यो ।