कानुन व्यवसायीहरूले शंख फुकेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेका छन्। सोमबार सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीशको प्रवेश रोक्न मूलगेटमा धर्ना बसेका कानुन व्यवसायीहरूले शंख फुकेर जबराको राजीनामा माग गरेका हुन्। यसअघि कानुन व्यवसायीहरूले सर्वोच्च परिसरमा शुक्रबार पनि शंख फुकेर प्रधानन्यायाधीशको राजीनामा माग गरेका थिए।
सर्वोच्च अदालतमा विकृति भित्र्याएको भन्दै न्यायाधीशहरूसहित नेपाल बार आन्दोलनमा छ। प्रधानन्यायाधीश जबराले सोमबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई आन्दोलन छाडेर वार्तामा आउन आग्रह गरेका छन्। तर, आन्दोलनरत पक्षले जबरासँग वार्तामा नबस्ने प्रतिक्रिया दिएको छ।