मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २६ शुक्रबार
  • Sunday, 22 December, 2024
कमल मादेन
२o७८ कार्तिक २६ शुक्रबार o७:३४:oo
Read Time : > 8 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

राज्यले ऐनबाट जन्माएका जनजातिहरू

Read Time : > 8 मिनेट
कमल मादेन
नयाँ पत्रिका
२o७८ कार्तिक २६ शुक्रबार o७:३४:oo

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनले तिब्बती भाषा बोल्ने भोटे समुदाय मात्र होइन, चेपाङ र थकाली समुदायलाई पनि विभाजित गरेको छ


१४ कात्तिकको बिहान ललितपुर बाग्डोलस्थित एक कफीसपमा एकजना अधेड पुरुषसँग भेट भयो । तिनले कुराकानीका क्रममा संखुवासभाको भोटखोला गाउँपालिकास्थित चेपुवा गाउँ बस्ने बताए । मलाई ०५८ मा जारी एक ऐनबाट भोटे समुदायअन्तर्गत जन्माइएका बगे्रल्ती जनजाति तथ्यांकउपर चासो छ । भोटखोलास्थित चेपुवा गाउँ सुन्नेबित्तिकै मैले उनलाई तपाईं ल्होमी भोटे हुनुहुन्छ ? भन्ने अनयासै प्रश्न गरे । आश्चर्य भावले एकछिन् मलाई एकोहोरो हेरेपछि उनले सोधे, ‘कसरी थाहा पाउनुभयो, तपाईंको घर पनि उत्तै हो ?’ ‘होइन, मेरो घर सुनसरी, हिजोआज यतै बस्छु’ भन्दै तीन वर्षअघि भोटखोलास्थित सिम्बुङ गाउँ दुईपटक पुगेको बताएँ । नभन्दै तिनको नाम छेदर ल्होमी रहेछ । जात ल्होमी लेखे पनि थर भोटे समुदायको थिकेक्पा बताए । 

भोटखोला गाउँपालिका अरुण भ्यालीको तिब्बती सीमासँग जोडिएको संखुवासभाको सुदूर उत्तरपूर्वी स्थानीय निकाय हो । यहाँको चेपुवा गाउँबाहेक अन्य गाउँका थिकेक्पाले जात भोटे लेख्छन् । तर, चेपुवामा बसोवास गर्ने थिकेक्पालगायतका भोटेले केही दशकयता ल्होमी लेख्न थालेका छन् । भोटखोलाका समग्र भोटेले चाहिँ चेपुवाका सबै भोटे नै हुन् भन्छन् । विडम्बना ! राज्यले २० वर्षअघि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ जारी गरेर ल्होमीलाई छुट्टै जातिको रूपमा मान्यता दिइसकेको छ । त्यो ऐनले हुम्लादेखि ताप्लेजुङसम्म छरिएर बसोवास गरिरहेका भोटे समुदायबाट करिब एक दर्जन कृत्रिम जाति जन्माउने अक्षम्य अपराध गरेको छ । ऐनले जन्माएका ११ जाति जनगणना २०६८ मा कतै फेला परेनन् । यसै सन्दर्भमा पंक्तिकार लिखित आदिवासी जनजातिसम्बन्धी भ्रमपूर्ण अनुसूची शीर्षक लेख कान्तिपुर ८ माघ २०७३ मा प्रकाशित छ । यो लेखमा चाहिँ संखुवासभा र ताप्लेजुङमा ऐनले जन्माएका जातिका नालीबेली चर्चा गरिँदै छ ।

गुरुङ प्रतिवेदन : नेपाल सरकारले ०५२ साल ३० पुसको निर्णयानुसार तीन महिनाको कार्यकाल रहने गरी समाजशास्त्री स्व. श्री सन्तबहादुर गुरुङको संयोजकत्वमा डा. कृष्णबहादुर भट्टचन, टेकनारायण राजवंशी, विष्णुदत्त आङ्बुहाङ, रामलखन चौधरी र रवीन्द्रनाथ अधिकारी रहेको ६ सदस्यीय एक कार्यदल गठन गरेको थियो । उक्त कार्यदलको उद्देश्य देशभरका जानजातिका समस्या पहिचान गरी विद्यमान समस्याहरू समाधान गर्न के कस्तो स्वरूप एवं कार्य भएको प्रतिष्ठान गठन गर्न उपयुक्त हुन्छ र प्रस्तावित प्रतिष्ठानका लागि के कस्तो कानुनी प्रावधान आवश्यक पर्छ भन्ने निक्र्योल गर्नु थियो । 

त्यसअघि ०४८ सालको जनगणनामा हिमाली भेगमा बसोवास गर्ने जनजातिमा भोटे, शेर्पा र थकाली मात्र उल्लेख थियो । कार्यदलले प्रतिवेदनमा हिमाली भेगमा भोटे, शेर्पा र थकालीबाहेक अन्य १८ जनजाति रहेको जानकारी लेख्यो (हेर्नुहोस् तालिका) । कार्यदलले देशैभरमा जम्मा ६१ जनजातिको नामावली जुुटाउने क्रममा संखुवासभा र ताप्लेजुङको हिमाली भेगमा भोटेका अतिरिक्त ल्होमी, थुदुम, होलुङ र तोप्केगोला नामका हिमाली जनजातिको बसोवास छ भन्ने जानकारी थप्यो । थपिएकाले बोल्ने तिब्बती भाषा हो, तिनका पहिरन र संस्कृति पनि उस्तै छन् । 

नेपाल सरकारले ०५८ साल २५ माघमा कार्यदलको प्रतिवेदन (भाग–१)का आधारमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ जारी ग¥यो । उक्त ऐनको अनुसूचीमा तोप्केगोलासहित ल्होमी, थुदुम र होलुङलाई ल्होमी (सिङसावा), थुदाम तथा वालुङ बनाई जम्मा ५९ जनजाति सूचीकृत गरेको छ ।

ल्होमी र थुदाम : भोटखोला गापाको सिम्बुङ, हटिया, होंगोन, चेपुवा, लिंगम, च्याम्ताङ, छुम्सुर, किमाथान्का उल्लेख्य जनसंख्या भएका भोटे गाउँ हुन् । यी गाउँ तिब्बती सीमानजिक, मकालु वरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने अरुण नदीपश्चिमका गाउँ हुन् । ती गाउँ एकआपसमा दुई–तीन घन्टा पैदलदूरीको फरकमा छन् । भोटखोला गापा–२ अन्तर्गत पर्ने चेपुवा गाउँमा भोटे समुदायको ९० भन्दा बढी नुपा थरका परिवारको बसोवास छ । नुपाको अन्य गाउँमा पनि बसोवास छ । तर, हिजोआज चेपुवाका उल्लेख्य भोटेले तिनका जात भोटे होइन भन्दै ल्होमी लेख्न थालेका छन् । ल्होमीलाई सिङसावा पनि भनिन्छ । अचम्म के भने ज–जसले ल्होमी लेख्छन्, उनीहरू क्रिस्चियन धर्मावलम्बी हुन् । चेपुवाकै दोर्चे ल्होमी तीन वर्षअघि गोलाबजारमा भेटिएका थिए । तिनले पहिले जात भोटे लेख्थ्यौँ, डोरबहादुर विष्टले तिमीहरू ल्होमी हौ भनेपछि जात ल्होमी लेख्न थालेको रमाइलो किस्सा सुनाएका थिए । 

दोर्चे ल्होमीको भनाइ जनगणनाबाट पुष्टि हुन्छ । किनभने, ०५८ को जनगणनामा संखुवासभा र काठमाडौंमा क्रमशः तीन र एकजना ल्होमी भाषा बोल्ने व्यक्ति गणना भएको थियो । ०६८ सालको जनगणनामा भने ल्होमी संखुवासभा, प्युठान, सप्तरीबाट सूचीकृत भएका थिए । प्युठानमा ल्होमी नहुनुपर्ने हो । यस्तै, जनगणनाको तथ्यांकमा ल्होमी भाषा बोल्नेको संख्या आठ सय आठजना लेखिएको छ । ल्होमी जात बनावटी त हुँदै हो, अझ ल्होमीको भाषा पनि छुट्टै छ भनेर लेखिनुचाहिँ सोह्रै आना गलत हो । गोलाबजार उत्तरतर्फ रहेको वरुण दोभानका होटेल व्यवसायी फुर्पुनाम्ज्या मुनाङ भोटेले चेपुवामा बौद्ध धर्म त्यागी आर्थिक सहयोग र सुविधा पाउने लालसामा क्रिस्चियन हुनेको संख्या बढिरहेको बताए । 

सोलुखुम्बुतर्फबाट आएको ट्रेकिङ ट्रेल अरुण र वरुणको दोभान हँुदै सिम्बुङ, हटिया, होंगोन, चेपुवा, लिंगम र च्याम्ताङ उत्तरपूर्वबाट अरुण नदी तर्छ । सोही ट्रेकिङ ट्रेल भोटखोला गापा–२ मा पर्ने थुदाम भएर ताप्लेजुङको ओलाङचुङगोला जोडिन्छ । थुदाम अरुण भ्यालीअन्तर्गतकै एक अर्को भोटेगाउँ हो । खेतीपाती नहुने उक्त गाउँमा हिजोआज करिब २५ घर रहे पनि अधिकांश खाली छन् । कुनै घरका मानिस गाईवस्तुसँग गोठमा बस्न गएका त कुनै बसाइँ हिँडेकाले खाली भएका हुन् । त्यहाँ निवासी भोटेलाई बसोवास गरेको गाउँकै नामका आधारमा सरकारी अभिलेखमा थुदाम जनजाति बनाइएको भन्ने पनि अत्तोपत्तो छैन । उनीहरू त भोटे हुँ भन्छन्, भोटे हुनुमा गर्व गर्छन् ।

भोटखोला गापा उपाध्यक्ष पान्जम भच्यावा भोटे भोटखोला गापा–२ की बासिन्दा हुन् । पान्जमका अनुसार थुदाममा हिजोआज नावा थरका भोटे बस्छन् । उक्त थरका भोटे होंगोन, छम्सुर, किमाथान्का र रिदाक (अरुणपूर्व)मा उल्लेख्य संख्यामा छन् । तर, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ अनुसार थुदाममा बसोवास गर्ने भोटे समुदाय थुदाम जाति हो । 

तेह्रथुम वसन्तपुरनजिकको टुटे देउरालीमा बसोवास गर्ने छिरिङ लामा देशभरकै भोटे समुदायका बुद्धिजीवी हुन् । उनको परिवार थुदामबाट भोटखोलाकै पावाखोला हुँदै टुटे देउरालीमा ३५ वर्षअघि बसाइँ सरी आएको रहेछ । तिब्बतबाट नेपाल बसाइँ सर्नेले तिब्बतमा जुन ठाउँमा बस्थे, त्यही ठाउँको नामबाट थर लेख्ने गरेका छन् । छिरिङ लामाका हजुरबुबाको हजुरबुबा तिब्बतको थोमु भन्ने ठाउँबाट नेपाल प्रवेश गरे । छिरिङको पुर्खाजस्तै हिजोआज थोमुबाट बसाइँ सरी किमाथान्का, ओलाङचुङगोला, तोप्केगोला आदि ठाउँमा बसोवास गरिरहेका भोटे परिवारले तिनका थर थोमा बताउँछन् । तर, ऐनमा थुदाम बसोवास गर्ने आधारमा थुदाम जाति सूचीकृत गरियो । यद्यपि, अहिलेसम्मको जनगणनाको तथ्यांकमा एकै व्यक्तिले पनि आफ्नो जात थुदाम लेखाएको छैन । 

तोप्केगोला र वालुङ : थुदामबाट दक्षिणतर्फ जाने सहायक ट्रेकिङ ट्रेलमा चार–पाँच घन्टा पैदल हिँड्दा मिक्वाखोला गापा–५ स्थित तोप्केगोला पुगिन्छ । तोप्केगोला तमोर नदीको माथिल्लो पश्चिमी भ्याली हो । यो पालिकाको उत्तरपश्चिमको उच्च हिमाली भूभागबाट मेवा खोला उद्भव भई तमोर दोभानमा मिसिन्छ । सोही गापाले ०७५ सालमा प्रकाशन गरेको मिक्वाखोला गापाका वस्तुगत विवरण शीर्षक पुस्तकमा भोटे र तोप्केगोलाको संख्या शून्य छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ ले तोप्केगोलामा बसोवास गर्ने भोटे समुदायलाई छुट्टै तोप्केगोला जातिका रूपमा सूचीकृत गरेको छ । संघीय सरकारको तथ्यांक विभागले प्रकाशित गरेको जानकारीमा उक्त पालिकामा तोप्केगोला, शेर्पा र भोटे जातिका क्रमशः १,३७६, १,२७१ र १३ जनाको संख्या उल्लेख छ । यसबाट स्पष्ट हुन्छ, स्थानीयस्तरमा तोप्केगोला जाति लेख्ने गरिएको छैन । तैपनि, तोप्केगोला जातिको जनसंख्या ०६८ को जनगणनामा देशभर, प्रदेश–१, ताप्लेजुङ, मिक्वाखोला र फक्ताङलुङमा क्रमशः १,५२३, १,४५७, १,३८८, १,३७६ र १२ रहेको लेखिएको छ ।

राज्यले २० वर्षअघि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ जारी गरेर ल्होमीलाई छुट्टै जातिको रूपमा मान्यता दिइसकेको छ । ऐनले हुम्लादेखि ताप्लेजुङसम्म छरिएर बसोवास गरिरहेका भोटे समुदायबाट करिब एक दर्जन कृत्रिम जाति जन्माउने अक्षम्य अपराध गरेको छ । ऐनले जन्माएका ११ जाति जनगणना २०६८ मा कतै फेला परेनन् । 

६८ वर्षीय गापा अध्यक्ष रामकुमार साँवा (लिम्बू)का अनुसार त्यहाँ भोटे, शेर्पा लगभग बराबरी संख्यामा छन्, तर ती सबै शेर्पा भनेर चिनिन्छन् । तोप्केगोला समाज सेवा समिति अध्यक्ष मिङ्मा डन्डु तोप्केगोलाका अनुसार तोप्केगोलामा भोटेका ग्याबा, खम्बा, लामा–शेर्पा, नावा, छेरुक्पा, लुरा, सोजोङ्वा, थाक्थोक पिनासा, थोमा आदि थर छन् । त्यहाँका भोटे थोक्पे भनेर चिनिन्छन् । तोप्केगोलाबाट थप दुई दिन दक्षिण लाग्दा ताप्लेजुङ बजारपश्चिम मिरिङदेन गापा–३ स्थित दोभान पुगिन्छ ।

ओलाङचुङगोला फक्ताङलुङ गापा–७ अन्तर्गत कञ्चनजंघा संरक्षण क्षेत्रभित्र पर्छ । ओलाङचुङगोलानेर तमोर खोलामा याङ्मा खोला मिसिन्छ । याङ्मा खोला ओलाङचुङगोला उत्तरतर्फ र तमोर नदी भने उत्तरपश्चिममा रहेको लुम्वासुम्बा हिमालबाट उद्भव भएका हुन् । ओलाङचुङगोला क्षेत्र तमोर नदीको सबभन्दा माथिल्लो भ्याली हो ।

ओलाङचुङगोलालाई वलुङ र होलुङ पनि भनिन्छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ मा मुख्य गरी वलुङ र त्यसआसपास बसोवास गर्ने भोटे समुदायका आधारमा वालुङ जनजाति सूचीकृत गरिएको हो । ०५८ को जनगणनाको मिथ्यांकका आधारमा स्व. हर्क गुरुङ, योगेन्द्र गुरुङ र छविलाल चिडीले आफ्नो पुस्तक ‘नेपाल एटलस अफ इथ्निक एन्ड कास्ट ग्रुप्स’ (सन् २००६) मा वालुङको सबभन्दा बढी बसोवास क्रमशः मोरङ, रूपन्देही, सोलुखुम्बु, झापा, संखुवासभा जिल्लामा रहेको उल्लेख गर्न पुगे । 

०६८ को जनगणनामा वालुङको कुल जनसंख्या १,२४९ जनाइएको छ । उक्त जनगणनामा वालुङ जाति ताप्लेजुङको फक्ताङलुङ, श्रीजंगा गापा र फुङलिङ नगरपालिकामा क्रमशः ९०९, १६५ र ५५ जना गणना भएका थिए । यस आधारमा ०५८ मा वालुङको संख्या अन्य जिल्लाबाट पर्नु सरासर गलत हो । जनगणनामा वालुङ भाषा बोल्ने देशभर जम्मा १,१६९ रहेको जनाइएको छ । त्यसमध्ये ताप्लेजुङमा १,०७८ जना गणना भएको लेखिएको छ । तर, भोटखोला, तोप्केगोला, वालुङका भाषा उस्तै छन् । 

छिरिङ लामाका काका, बडाबाका परिवारहरू वालुङ, तोप्केगोला, पावाखोलामा बस्छन् । ऐनअनुसार तिनका आफन्तजन वालुङ, तोप्केगोला, थुदाम र भोटे गरी जम्मा चार जातिमा विभाजित भए । छिरिङको दाजुभाइ चेपुवामा बसाइँ सरेर गएको भए तिनले हिजोआज जात ल्होमी लेखाउँथे होलान् । फक्ताङलुङ गापाका प्रवक्ता छेतेन लामा शेर्पा पनि भोटे हुन् । उनीहरू तिब्बतको फुगी भन्ने ठाउँबाट आएका हुन् । फुगीबाट आएका हुनाले त्यहाँबाट आउने जतिको फुकिता थर हुन गएको बताइन्छ । तिनका हजुरबुबाको नागरिकतामा दावा दोक्पा लेखिएको छ । नगारिकतामा जात वा थर नै उल्लेख छैन । दोक्पा भनेको भोटे भाषामा गोठाला हो । छेतेनका बुबाले नागरिकतामा शेर्पा लेखे । 

छेतेनले भने विद्यालयमा नाम छेतेन लामा लेखाए । एसएलसीको फारम भर्दा शिक्षकले उनको नाम छेतेन लामा शेर्पा बनाइदिए । नागरिकता पनि त्यही नाममा निस्कियो । नागरिकतामा शेर्पा उल्लेख भए पनि ओलाङचुङगोलामा करिब १,५२० वर्षअघिबाट सरकारी कागजातबाहेकमा वालुङ लेख्न थालेका छन् । तिनका दाजुभाइ तोप्केगोला, थुदाम जाति भएका छन् । ऐनअनुसार छेतेनका दाजुभाइ वालुङ र तोप्केगोला जातिमा दर्ज भएका छन् । छेतेन स्पष्ट छन्–थुदाम, तोप्केगोला र वालुङ जे–जे भन्ने गरिएको भए पनि उनीहरू भोटे जाति नै हुन् । 

गलत अनुसूची : आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनले तिब्बती भाषा बोल्ने भोटे समुदाय मात्र होइन, चेपाङ र थकाली समुदायलाई पनि विभाजित गरेको छ । चेपाङका एकाधजनालाई वनकरिया र ठाउँविशेषका थकालीलाई तीनगाउँले थकाली, मार्फाली थकाली र थकालीमा सूचीकृत गरेको छ । राज्यले किन भोटे जनजातिलाई टुक्राटुक्रा ग¥यो ? यसको अन्तर्य खोज्दा ०५२ सालको कार्यदलमा भोटे प्रतिनिधि नभए पनि दरबारबाट वलुङमा बसोवास गर्ने उक्याब थरका एक भोटे कर्मचारीबाट उक्त कार्यदल परिचालित रहेको र तिनैले हुम्लादेखि ताप्लेजुङसम्मका भोटे जातिलाई एक दर्जनजति थप जाति बनाउन लगाएको बुझियो । 

आमबुझाइमा जति धेरै जाति बनाउन सकियो, उति राज्यबाट फाइदा लिन सकिन्छ भनेर यस्तो प्रतिवेदन तयार गराइयो । तर, दरबारको मक्सद तिब्बती भाषा बोल्ने हिमाली समुदायलाई कमजोर बनाउनु रहेको थियो भन्ने आशंका गर्न सकिन्छ । यो भनेको भोलिका दिनमा तिब्बती मूल पहिचान सशक्त भएर आउन नसकोस् भन्ने निहित ध्येय नै हो । यसले अहिले परिणाम पनि दिइसकेको छ, किनकि भोटे समुदाय एकजुट होइन, टुक्रे पहिचानका निम्ति लम्पसार परेका छन् । यो कार्यलाई बुझेर वा नबुझी होस्टेमा हैँसे गर्ने काम स्व. हर्क गुरुङबाट पनि भयो । 

संखुवासभा र ताप्लेजुङका भोटेको भन्दा हुम्लाको नाम्खा गापाको भोटेको कथा बेग्लै छ । ०६८ को जनगणनामा त्यहाँको करिब ९९ प्रतिशत बासिन्दाको जात र भाषा तामाङ लेखिएको छ । वास्तविक तामाङ जातिको घना बस्ती काठमाडौं उपत्यकावरिपरिका ६ जिल्लामा मात्र छ । त्यसबाहेकका जिल्लामा तिनका संख्या फाट्टफुट्ट मात्रै हो । मानवशास्त्र अध्येता मेल्भियन गोल्डस्टेन र क्यारोल डन्हामले नाम्खाको लिमी उपत्यकामा क्रमशः सन् १९७४ र १९८५ मा मानव रहनसहन, संस्कृति आदि अध्ययन गरेका थिए । तिनका प्रकाशित लेख तथा पुस्तकमा नाम्खावासीले टिब्बेटियन भाषा बोल्ने र तिब्बती संस्कृति अनुसरण गर्छन् भनी लेखेका छन् । केही अध्येताले नाम्खा बासिन्दालाई हुम्ली तामाङ पनि भनेका छन् । 

क्लास एच डी व्रिमले सन् २०१२ र २०१३ मा लिमी उपत्यकाको तिब्बती भाषा अध्ययन गरे । व्रिमले तयार गरेको ‘अ सोसियोलिंग्विस्टिक सर्भे अफ हुम्ला टिबेटन इन नर्थवेस्ट नेपाल’ (सन् २०२०) शीर्षक प्रतिवेदनमा लिमीको बोली, उपल्लो हुम्लाको बोली, तल्लो हुम्लाको बोली र पूर्वी हुम्लाको बोली गरी जम्मा चारवटा तिब्बती भाषिका (डाइलेक्ट) पहिचान भएको छ । राज्यले चाहिँ अहिलेसम्म नाम्खावासीको जात र भाषा दुवै तामाङ मान्दै तामाङ जातिबाट नागरिकता उपलब्ध गराएको छ । 

जनगणनामा संख्या उल्लेख भएका र नभएका ताङ्वे, मुगाल, लार्के, सियार, ह्योल्मो, डोल्पो, बाह्रगाउँले, ल्होपा जनजातिका भाषा र संस्कृति तिब्बती नै हो । यस्तै, केही भोटेले गुरुङ, विष्ट आदि पनि लेख्ने गरेका छन् । नेपाल भोटे जनजाति सेवा केन्द्रीय समितिको पूर्वअध्यक्ष नृप थापा भोटे उर्फ पेम्बा गुरुङको बुझाइमा हुम्लादेखि ताप्लेजुङसम्म बसोवास गर्ने तिब्बती भाषा बोल्ने एकै भोटे जनजाति हुन् ।

हाम्रा मानव, समाज तथा जनसंख्याविद्हरूले उल्लिखित जातिहरू छुुट्टाछुट्टै हुन् भनेर तिनको बेलिविस्तार लगाइरहेको अवस्था छ । तिनले आदिवासी जनजाति परिभाषाअनुसार माथि उल्लिखित जाति होइनन् भनेर अहिलेसम्म भन्न सकेको अवस्था छैन । किनभने, आदिवासी÷जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ को परिच्छेद १, दफा २ अनुसार 
‘आदिवासी/जनजाति’ भन्नाले आफ्नो मातृभाषा र परम्पारगत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित तथा अलिखित इतिहास भएको अनुसूचीबमोजिमको जाति वा समुदाय सम्झनुपर्छ । ऐनको अनुसूचीमा परेका ल्होमी, थुदाम, तोप्केगोला र वालुङ जातिको भोटेको भन्दा छुट्टै मातृभाषा, सांस्कृतिक पहिचान इत्यादि केही छैन । अर्कातर्फ, राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्यांक विभाग नक्कली तथ्यांक थप्ने काममा जुटिरहेको छ । यस्ता तमाम गलत कामहरू सच्याउन आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ को अनुुसूची खारेज गरिनुपर्छ ।