ब्रोकर कम्पनीहरू जोखिममा
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अनलाइन कारोबार सुरुवात गरेको तीन वर्ष पूरा भइसकेको छ । तर, हालसम्म पनि अनलाइन कारोबारका लागि ब्रोकरको तहमा आवश्यक जोखिम व्यवस्थापन प्रणाली (आरएमएस) बन्न सकेको छैन ।
‘अहिले १० वटा ठूला लगानीकर्ता मिले भने केही ब्रोकर डुब्न सक्छन्,’ स्रोतले भन्यो, ‘ब्रोकरकै तहमा लगानीकर्तासँग कारोबारयोग्य सेयर र रकम रहे–नरहेको यकिन गर्ने प्रणाली नहुँदासम्म यो जोखिम सदैव रहन्छ ।’ लगानीकर्ताको तहमा हुन सक्ने बदमासीले ब्रोकरहरू कारोबार भएको रकम र सेयर बुझाउन नसक्ने अवस्थामा पुगे, समग्र बजारमै प्रभाव पर्ने स्रोतको दाबी छ ।
‘अहिले जसरी ब्रोकर र सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी)बीच पुल एकाउन्ट रहेको हुन्छ, लगानीकर्ता र ब्रोकरको तहमा पनि यस्तो एकाउन्ट हुुनुपर्छ,’ नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने, ‘अहिले ब्रोकर र लगानीकर्ताको तहमा भने जोखिम व्यवस्थापन प्रणाली छैन ।’ अहिले कारोबार हुनुअघि ब्रोकरले लगानीकर्ताको खातामा कारोबार गर्न चाहेको सेयर भए–नभएको परीक्षण गर्न सक्छ । तर, रकममा भने त्यस्तो व्यवस्था छैन ।
त्यति मात्र होइन, लगानीकर्तासँग कारोबारयोग्य सेयर भए–नभएको यकिन गर्ने प्रणालीले पनि शतप्रतिशत सही विवरण नदिने स्रोतको दाबी छ । ‘अहिले नेप्सेले नै बनाएर दिएको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) प्रयोग भइरहेको छ,’ नेप्से स्रोतले भन्यो, ‘कारोबार हुनुपूर्व लगानीकर्ताको खातामा सेयर भए–नभएको जानकारीसमेत सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी)को प्रणालीबाट नेप्सेमा हरेक बिहान अपलोड भएपछि मात्रै ब्रोकर तथा डिपोजिटरी पार्टिसिपेन्ट्स (निक्षेप संग्रहकर्ता)ले थाहा पाउँछन् ।’ यो ९९ प्रतिशत मात्रै सही हुने स्रोतले बतायो ।
लगानीकर्ताले सेयर कारोबार गर्दा आवश्यक पर्ने रकम तथा सेयर ब्रोकर र लगानीकर्ताबीच हुने पुल एकाउन्टमा ल्याउने आरएमएस प्रणाली बनेमा मात्रै ब्रोकरहरू सुरक्षित रहने ब्रोकरहरूको भनाइ छ । ‘हाम्रो मुलुकमा जस्तो सेयर किनेपछि मात्रै रकम भुक्तानी गर्न पाइने व्यवस्था अन्त छैन,’ सेयर ब्रोकर नरेन्द्र सिजापति दाबी गर्छन्, ‘उधारोमा सेयर किन्ने मात्र होइन, केही लगानीकर्ताले आफैँसँग नभएको सेयरसमेत कारोबार गर्ने र पछि बजारबाट किनेर दिने गरिरहेका छन् ।’
अहिले सेयर कारोबार भएपछिको दुई दिनभित्र कारोबारको राफसाफ गर्नुपर्छ । तर, यही कारण पनि सबै कारोबार यही अवधिमा राफसाफ हुन सकेको छैन ।कारोबार गरेको रकमको राफसाफका लागि हाल सिडिएससीले चारवटा बैंक तोकेको छ । यी चार बैंक प्रभु, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट र सिद्धार्थ बैंक हुन् । दुई बैंकले मात्रै प्रभावकारी रूपमा राफसाफको काम गरिरहेको दाबी ब्रोकरहरूको छ ।
यीभन्दा अलग बैंकमा खाता हुने लगानीकर्ताको रकम ब्रोकरमार्फत यी राफसाफ बैंकमा जम्मा हुन्छ । ‘ब्रोकरको तहमा जोखिम व्यवस्थापन प्रणालीको विकास हुने हो भने ब्रोकरले लगानीकर्ताकै लागि अलग–अलग राफसाफ बैंकसमेत तोकिदिन सक्छन्,’ नेप्से स्रोतले भन्यो, ‘यसका लागि ब्रोकरले सफ्टवेयरमार्फत प्रणाली विकास गर्न सक्छन् ।’
यसका लागि नेप्सेले जारी गर्ने कारोबार विनियमावली पनि संशोधन हुनुपर्छ । तर, नेप्सेले केही वर्षअघि यही व्यवस्थासमेत रहने गरेर धितोपत्र बोर्डमा पेस गरेको विनियमावलीलाई संशोधन गर्ने मनसायमा बोर्ड नरहेको देखिन्छ । सेयर बजार स्थिर भइरहेको र नयाँ व्यवस्थाको सुरुवातले बजारमा पुनः केही समय तनाव हुने अनुमानमा माथिल्लो निकायबाट बोर्डलाई समेत यसको संशोधन गर्न ग्रिन सिग्नल प्राप्त नभएको बुझिएको छ ।