१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक २३ मंगलबार ०८:३४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पर्यटन बोर्डका सिइओले भन्सारका कर्मचारी कुटे, स्पष्टीकरण माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक २३ मंगलबार ०८:३४:००

सरकारले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मीसँग स्पष्टीकरण मागेको छ । २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका कर्मचारीसँग भएको विवादका विषयमा तालुकवाला पर्यटन मन्त्रालयले उनलाई तीन दिनभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो । सोमबार पर्यटनमन्त्री प्रेम आलेले रेग्मीलाई मन्त्रालयमै बोलाएर एयरपोर्टमा भएको घटनाबारे मौखिक जानकारी लिएका थिए ।

उनले सबै घटना मन्त्रीलाई जानकारी गराएको बताएका छन् । लगत्तै पर्यटन मन्त्रालयले तीन दिनभित्र सो घटनाबारे लिखित स्पष्टीकरण बुझाउन भन्दै पत्राचार गरेको छ । मन्त्रालयका सचिव एवं पर्यटन बोर्ड सञ्चालक समितिका अध्यक्ष यादवप्रसाद कोइरालाले सिइओसँग एयरपोर्ट घटनाको वास्तविकता के हो भनेर तीन दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनेको बताए । 

वर्ल्ड ट्राभल मार्टमा सहभागी भएर २० कात्तिकको बिहान लन्डनबाट काठमाडौं फर्किंदा सिइओ रेग्मीले एयरपोर्ट भन्सारमा ड्युटीमा रहेका नायब सुब्बालाई हातपात गरेको आरोप छ । स्वदेश फर्किंदा नियमविपरीत ६ बोतल मदिरा बोकेको र ड्युटीमा खटिएका भन्सारका कर्मचारीले कोटाभन्दा बढी बोकेको मदिराको बारेमा सोधखोज गर्दा कर्मचारीलाई हातपात गरेको आरोप छ । विदेशबाट फर्किंदा ड्युटी फ्रीबाट एक बोतल मदिर ल्याउन पाउने व्यवस्था छ । तर, उनले तोकिएको कोटाभन्दा पाँच बोतल बढी मदिरा बोकेका थिए । 

तर, सिइओ रेग्मीले कर्मचारीलाई हातपात गरेको स्वीकार गरेका छैनन् । भन्सारका कर्मचारीसँग सामान्य वादविवाद हुँदा धकेलाधकेल मात्र भएको उनले बताए । तीन दिनभित्र चित्त बुझ्दो जवाफ नआए कारबाही अगाडि बढाउने मन्त्रालयको तयारी छ ।

पर्यटन बोर्डले सोमबार विज्ञप्ति जारी गरेर सिइओ रेग्मी र विमानस्थल भन्सार कर्मचारीबीच सामान्य विवाद भएको दाबी गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘सिइओ रेग्मी आगमन कक्षमा रहेको भन्सार चेकजाँच गर्ने ठाउँमा आएको समयमा भन्सार जाँचपासमा खटिएका कर्मचारीको व्यवहार र ढिलासुस्तीको विषय उठाउँदा त्यसलाई अतिरञ्जित गरी डा. रेग्मी र बोर्डको समेत मर्यादामा आँच आउने ढंगले प्रचार गरिनु दुःखद विषय हो ।’ सिइओ रेग्मीले मदिरा सेवन गरेर कर्मचारीमाथि कुटपिट गरेको भन्ने कुरामा कुनै सत्यता नभएको बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।