मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १८ बिहीबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक १८ बिहीबार २o:१८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देशको गरिबी र बेरोजगारीलाई अन्त्य गर्न राष्ट्रिय रूपमै लक्ष्मी भित्र्याउनुपर्छ : राष्ट्रपति 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक १८ बिहीबार २o:१८:oo

राष्ट्रपति विद्यादेवी भण्डारीले देशको गरिबी र बेरोजगारीलाई अन्त्य गर्न राष्ट्रिय रूपमै लक्ष्मी भित्र्याउनुपर्ने बताएकी छिन् । राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार आयोजित देउसीभैलो कार्यक्रमपछि भण्डारीले देशको गरिबी र बेरोजगारीलाई अन्त्य गर्न राष्ट्रिय रूपमै लक्ष्मी भित्र्याउनुपर्ने बताएकी हुन् । 

उनले बम र बारुदभन्दा ठूलो चाडबाड र सांस्कृतिक पर्व भएको बताउँदै यसले मनोबल उच्च बनाउन प्रेरित गर्ने बताइन् । भण्डारीले राष्ट्रपति भवनमा सांस्कृतिक कार्यक्रम आयोजना हुनु राष्ट्रकै गौरवको कुरा भएको पनि बताइन् । 

उनले भनिन्, ‘राष्ट्रपति भवनमै पहिलोपटक उहाँहरूको प्रस्तुति हेर्न पायौँ, धेरै खुसी लागेको छ, शुभ दीपावलीको पावन अवसरमा सुस्वास्थ्य, प्रगतिको शुभकामना दिन चाहन्छु, मेरो राष्ट्रपतिको कार्यकालमा तिहारका सन्दर्भमा गरेको पहिलो कार्यक्रम हो, हाम्रो मौलिक कला, संस्कृतिलाई प्रत्यक्ष, जीवन्त रूपमा अघि बढाउँदै सरकारसँगको प्रत्यक्ष अभिभावकत्वमा बढाउँदै आएको, सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघर नै आधिकारिक संस्था होला भन्ने मलाई लागेर मैले निमन्त्रणा गरेको हुँ, लामो समय भयो कोरोना महामारीको कारणले गर्दा एकप्रकारको भेटघाट शून्यताजस्तो अवस्थामा छ, यसलाई अब जनजीवन सहजतामा फर्काउनुपर्छ भन्ने मान्यतालाई पनि मनमा राखेर सामाजिक दूरी कायम राख्दै स्वास्थ्यका सबै प्रोटोकल पालना गरी सानो संख्यामा आधिकारिक संस्थाको प्रस्तुतीकरण राष्ट्रपति भवनमा गर्नु एकदमै गौरवको कुरा होला भन्ने मलाई लागेको छ, राष्ट्रकविबाट मिलेको सिर्जना र अरू पनि थुप्रै राष्ट्रिय व्यक्तित्वको सिर्जनामा आधारित एक दिन फेरि निकै लामो कार्यक्रम गर्नुपर्छ कि जस्तो लागेको छ, सांस्कृतिक पक्षले मनोबल उच्च बनाउँछ, शक्ति प्रदान गर्छ, बम बारुदभन्दा पनि यो शक्तिशाली हुन्छ, जनताको सुख नै देशको सुख हो । हाम्रो देशको गरिबी, बेरोजगारीलाई अन्त्य गर्न राष्ट्रिय रूपमै लक्ष्मी भित्र्याउनुपर्नेछ । देशलाई समृद्ध नेपाल सुखी नेपाली बनाउनुपर्नेछ, अबको कलाकारिता कृषि, हरियाली प्रवद्र्धन गर्ने क्षेत्रमा गीत संगीतहरू रचेर आगामी दिनमा सुनाउनुहोला, किसानको गीतहरू पनि सुनाइदिनुहोला ।’

राष्ट्रपति भण्डारीले कलाकारहरूले आगामी दिनमा कृषि क्षेत्रका गीतहरू रचेर हरियालीको प्रवद्र्धन गर्नुपर्ने बताइन् । उनले आगामी दिनमा लामो सांस्कृतिक कार्यक्रम राष्ट्रपति भवनमा आयोजना गर्ने पनि बताइन् । शीतलनिवासमा आयोजित कार्यक्रममा नेपाल बाल संगठन, नेपाल बाल मन्दिरका बालबालिकाहरू र सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघरले देउसीभैलो खेलेको हो ।