मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ कार्तिक १८ बिहीबार ११:०९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लमजुङका पर्यटकीय गाउँमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

Read Time : > 1 मिनेट
२०७८ कार्तिक १८ बिहीबार ११:०९:००

कोरोनाका कारण लामो समयसम्म पर्यटक पुग्न नसकेका लमजुङका पर्यटकीय गाउँहरूमा अहिले आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ। पछिल्लो समय होमस्टे घुम्न गएर बिदा मनाउने आन्तरिक पर्यटकको संख्या पनि बढेकाले पर्यटकीय गाउँमा चहलपहल बढेको हो। 

दसैँ र तिहार बिदालाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टेतिर जाने गरेका हुन्। घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार बिदा मनाउन दैनिक एक सयदेखि दुई सय पर्यटक घलेगाउँ आएका छन्। पर्यटकको आगमन बढेसँगै होमस्टे सञ्चालकहरूको व्यस्तता पनि बढ्न थालेको होमेस्टे सञ्चालक विष्णु गुरुङले बताइन्। 

कोरोनाका कारण डेढ वर्षसम्म पर्यटक नआउँदा कामविहीन बने पनि अहिले आन्तरिक पर्यटक बढेको उनले बताइन्। यस्तै लमजुङको उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा रहेको गाउँसहरको काउलेपानी होमस्टेमा पनि पर्यटक आगमन बढेको छ। अहिले दैनिक रूपमा पारिवारिक एवं समूहगत रूपमा पाहुना आउन थालेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङले बताए। 

कोरोनाका कारण गत वैशाखदेखि बन्द रहेको होमस्टे दसैँको घटस्थापनाको दिनबाट विशेष पारिवारिक प्याकेजसहित खुला गरिएको थियो। कोभिड संक्रमणको जोखिम अझै नसकिएको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी चाडपर्व लक्षित पारिवारिक प्याकेजसहित होमस्टे खुला गरिएको अध्यक्ष गुरुङले बताए। गत वर्ष झन्डै एक वर्ष बन्द रहेको काउलेपानी होमस्टे गत चैतमा मात्रै खुला गरिए पनि वैशाखदेखि कोरोनाको दोस्राे लहर सुरु भएपछि पुनः बन्द भएको थियो। अघिल्लो वर्षजस्तै दोस्राे चरणको कोरोना संक्रमणको जोखिमसँगै काउलेपानी होमस्टे करिव पाँच महिना बन्द भएको थियो।

आन्तरिक पर्यटकका लागि खुला गरिएसँगै काउलेपानीमा पछिल्ला दिनमा पर्यटकहरूको आगमन सुरु हुन थालेपछि होमस्टे व्यवसायीहरू उत्साहित भएका छन्। पहिलाजस्तै होमस्टे व्यवसायीहरू पर्यटकको स्वागत–सत्कार, सांस्कृतिक कार्यक्रम, पाहुनाको व्यवस्थापन, बिदाइलगायतका काममा व्यस्त हुन थालेका छन्। पछिल्लो समय लमजुङ ग्रामीण पर्यटनको हबसमेत बन्दै गएको छ। सार्क राष्ट्रकै नमुना स्मार्ट भिलेज घलेगाउँ, काउलेपानी होमस्टे, राइनासकोट होमस्टे, बेंसीसहरको खासुर, खुदीको सिउरुङ, मर्स्याङ्दीको हर्सिङडाँडा, घेर्मुको रकगार्डेनलगायतका गाउँमा यतिवेला पर्यटकहरू पुगेका छन्।