ललितपुरको बागमती गाउँपालिकाले एकल पुरुष भत्ता वितरण गर्दै आएको छ । गाउँपालिकाकै वडा ४ का भोलानाथ तिमल्सिनाले गत वर्षदेखि एकल पुरुष भत्ता लिन थालेका छन् । एकल पुरुष भत्ताका कारण उनलाई यताउता जान छोराबुहारीसामु हात फैलाउनुपरेको छैन । ‘दुई–चार पैसा खल्तीमा भयो भने सजिलो त भइहाल्छ । भत्ता लिन थालेदेखि छोराबुहारीलाई कतै जानुपरे पैसा माग्नुपरेको छैन,’ तिमल्सिनाले भने । गत वर्षको साउनमा फाराम भरेर उनले भत्ता लिन थालेका हुन् ।
गाउँपालिकाकै वडा २ का केदारप्रसाद लामिछानेले पनि गत वर्षदेखि नै एकल पुरुष भत्ता लिन थालेका हुन् । उनलाई एकल पुरुष भत्ता पाउन थालेदेखि केही सहज त भएको छ, तर महिलालाई जति नै दिए राम्रो हुन्थ्यो भन्ने लागेको छ । ‘भत्ता पाउन थालेदेखि सजिलो त भएको छ । यस्तो भत्ता हाम्रो गाउँपालिका र अर्को एक गाउँपालिकाले मात्र दिँदोरैछ । तर महिलाले तीनरचार हजार पाउने रैछन् । हामीलाई पनि सरकारले नै दिए हुन्थ्यो,’ उनले भने । एकल महिलाका लागि भत्ता बैंक खातामार्फत आउँछ । आफूहरू पनि यसरी नै आए हुने भन्ने उनलाई लागेको छ । उनीहरूले एकल पुरुष भत्ता वडा कार्यपालिकामार्फत त्रैमासिक रूपमा लिने गरेका छन् ।
गाउँपालिकाले यो वर्ष एक हजारबाट बढाएर १५ सय रुपैयाँ भत्ता बनाएको छ । गाउँपालिकाले भत्ता दिन यो वर्ष सात लाख रुपैयाँ विनियोजनसमेत गरेको छ । ‘हामीले एकल पुरुष भत्ता बाँड्न थालेपछि एकल भएर बस्न परेको पुरुषलाई सजिलो भएको छ,’ गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले भने, ‘हामीले एकल पुरुषलाई भत्ता दिन थालेको तीन वर्ष भइसकेको छ । यो वर्ष पनि यसैलाई निरन्तरता दिन बजेट छुट्याएका छौं ।’
चार सय ६० गाउँपालिकामध्ये एकल पुरुष भत्ता वितरण गर्ने बाग्मती उपत्यकाको एक मात्र स्थानीय तह हो । बाग्मतीले पहिलोपटक भत्ता वितरण सुरु गरेको थियो । गाउँपालिकाले आर्थिक वर्ष ०७५र७६, ०७६र७७ र ०७७र७८ मा पाँचरपाँच लाख बजेटमै व्यवस्था गरेर वितरण गर्दै आएको छ । त्यसलाई बढाएर आव ०७८र८९ मा सात लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाले कार्यविधि नै बनाएर भत्ता वितरण गर्दै आएको छ ।
एकदेखि दुई हजारसम्म मासिक भत्ता
बैतडीको मेलौली नगरपालिकाकी उपमेयर राधा ओझाका अनुसार ०७४ कात्तिकदेखि नगरपालिकाले एकल पुरुष भत्ता वितरण गर्न थालेका हो । सुरुवाती वर्षमा एक हजार रुपैयाँ वितरण गर्न थाले पनि यो वर्षबाट भने बढाएर दुई हजार रुपैयाँ पु¥याएको छ । नगरपालिकाका ९६ जना ५० देखि ६० वर्षसम्म उमेर समूहका एकल पुरुषले यो भत्ता पाउँदै आएका छन् । ‘नागरिकता, वडाको सिफारिस भएका व्यक्तिलाई हामीले बैंक खातामा चौमासिक रूपमा विदुर भत्ता पठाउने गरेका छौं,’ उपमेयर ओझाले भनिन्, ‘स–साना बालबच्चा हुन्छन् । महिलाले हुर्काइ बढाई गरेर बस्छन् । तर पुरुषहरू विवाह गरिहाल्छन् । त्यही भएर यस्ता विवाह रोक्न र यति रकमले उनीहरूलाई केही सहज हुन्छ कि भनेर प्रदान गर्न थालेका हौं ।’ यो रकम लिने एकल पुरुषले विवाह गरेमा भत्ता रद्द हुने उनले बताइन् । भत्ता रकम कार्यपालिका बैठकले निर्णय गरेर नै प्रदान गर्न थालिएको हो । मैलौली दुई सय ९३ नगरपालिकामध्ये एकल पुरुष भत्ता वितरण गर्ने पहिलो नगरपालिका हो ।
तेह्रथुमको छथर गाउँपालिकाले गत वर्ष पाँच हजार रुपैयाँ एकल आर्थिक सहयोग भनेर एकल पुरुष भत्ता वितरण गरेको थियो । यो वर्ष भने गाउँपालिकाले मासिक एक हजारका दरले एकल पुरुष भत्ता वितरण गर्नेछ । उक्त रकम आर्थिक वर्षको अन्त्यमा प्रत्येक वडामा एक कार्यक्रमको आयोजना गरी खादा ओडाएर सम्मानको साथै १२ हजार रकम प्रदान गर्ने गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताए । ‘हामी निर्वाचित भएर आएपछि टोल बस्तीमा पुग्दा एकल पुरुषले पनि दुःख पाएको देख्यौं । कतिपय पुरुषलाई आफन्तले छाडेको, कतिपय पुरुष संरक्षण अभावमा नाजुक अवस्थामा रहेको भेट्यौं । त्यसैले हामी स्थानीय घरआँगनको सरकारले किन सहयोग नगर्ने भनेर सुरु गरेका हौं,’ लिम्बूले भने ।
नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०को बौदीकाली गाउँपालिकाले चालू आर्थिक वर्षको कार्यक्रममा एकल पुरुषलाई मासिक एक हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।गाउँपालिकाले कात्तिक अन्त्यदेखि भत्ता वितरण गर्न लागेको प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले बताए । उनका अनुसार गाउँपालिकाका ६० जना एकल पुरुषलाई यस्तो भत्ता वितरण गर्न लागेको हो । गाउँपालिकाले ४० देखि ७० वर्ष उमेर समूहका एकल पुरुषलाई एकल पुरुष भत्ता भनेर वितरण गर्न लागेको हो ।
‘हाम्रो गाउँपालिका नवलपरासीको पहाडी बेल्ट हो । यहाँका महिला मात्र होइन, पुरुषहरू पनि आर्थिक र सामाजिक अवस्थाबाट कमजोर रहेका छन् । त्यसैले उहाँहरूबाट माग पनि भएर आएकाले यो भत्ता वितरण गर्न लागेका हौं,’ सुवेदीले भने, ‘दोहोरो सुविधा नहुने गरी पुनः विवाह नगरेका पुरुषलाई भत्ता वितरण लागेका हौं ।’ यी स्थानीय तहबाहेक ताप्लेजुङको फुङलिङ नगरपालिका, दार्चुलाको अपि हिमाल गाउँपालिका, जुम्लाको गुठीचौर गाउँपालिका, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका, इलामको देउमाइ नगरपालिका, बझाङका दुर्गाथली, थलारा, वित्थडचिर गाउँपालिका र जयपृथ्वी नगरपालिकाले पनि एकल पुरुष भत्ता वितरण गर्दै आएका छन् ।
एकल पुरुष भत्ता वितरण गर्ने स्थानीय तह
६० देखि ७० वर्षका एकल पुरुषलाई भत्ता
बागमती गाउँपालिकाले सुरुवाती वर्षमा एक हजार रुपैयाँ वितरण गर्न थाले पनि आव ०७८÷८९ मा भने त्यसलाई बढाएर १५ सय रुपैयाँ बनाएको छ । ‘हामी जनप्रतिनिधि भएर आएपछि गाउँ घुम्दै गर्दा धेरै एकल पुरुषले दुःख पाएका देख्यौं । श्रीमती बितेपछि पुरुषलाई पनि एक्लोपना हुन्छ । छोराबुहारीले नहेर्न, खर्च नदिने जस्ता समस्या हुन्छ,’ गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन भन्छन्, ‘६० वर्षसम्म उमेरका कारण पनि काम गरेर जीवनयापन गर्न सक्छन् । तर त्यो भन्दा माथिको उमेरका पुरुषलाई शारीरिक रूपमा पनि समस्या हुन्छ । ७० वर्ष पुगेपछि त केन्द्र सरकारले नै वृद्ध भत्ता व्यवस्था गरेको छ । त्यसैले हामीले यो उमेर समूहका लागि भत्ता वितरण गर्न थालेका हौं ।’ बाग्मतीले भत्ता दिन सुरु गरेसँगै अन्य स्थानीय तहले पनि एकल पुरुष भत्ता दिन थालेका छन् । केन्द्र सरकारले ७० वर्ष उमेर पुगेका व्यक्तिलाई ज्येष्ठ नागरिक भत्ता प्रदान गर्दै आएको छ । ६० वर्ष पूरा भएका दलित र कर्णाली क्षेत्रका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता दिँदै प्रदान गर्दै आएको छ ।