मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ कार्तिक १७ बुधबार १८:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कात्तिक २२ देखि सौर्य एयरलाइन्सले भैरहवा-विराटनगर उडान गर्ने 

Read Time : < 1 मिनेट
२०७८ कार्तिक १७ बुधबार १८:१०:००

प्रदेश नं १ लाई लुम्बिनीसँग जोड्नका लागि सौर्य एयरलाइन्सले भैरहवा–विराटनगर–भैरहवा सीधा उडान गर्ने भएको छ। कात्तिक २२ गतेदेखि नियमित उडान सुरु गर्न लागेको सौर्य एयरलाइन्स भैरहवाका स्टेसन म्यानेजर जितेन्द्र यादवले बताए । 
८ वर्षदेखि सेवा दिँदै आएको एयरलायन्सले ५० सिट क्षमताको जेट विमानबाट प्रदेश १ का जनतालाई गौतमबुद्धको जन्मस्थलसँग जोड्न चाहेको यादवले बताए। विराटनगर र रुपन्देही दुवै औद्याेगिक क्षेत्रसँगै लुम्बिनी बुद्ध जन्मस्थलसमेत भएकाले औद्याेगिक तथा पर्यटकीय दुवै हिसाबले हवाईसेवाबाट जोड्न चाहेको उनले बताए।
हालसम्म कुनै पनि एयरलाइन्सले भैरहवा विराटनगरको लागि सीधा उडान गरेको छैन। ‘यात्रुहरूको मागलाई मध्यनजर गर्दै लुम्बिनी प्रदेश र प्रदेश १ का यात्रुको सहजता तथा बुद्ध जन्मस्थल लुम्बिनीलाई प्रदेश १ सँग जोडेर पर्यटन प्रवर्धन गर्न र दुवै क्षेत्रको व्यावसायिक र औद्याेगिक क्षेत्रको प्रवर्धन गर्न उडान सुरु गर्न लागेका हौँ’, स्टेसन म्यानेजर यादवले भने।
एयरलाइन्सले हाल ९ वटा उडान गर्दै आएको छ, भैरहवा–विराटनगर थपिएसँगै अब दैनिक उडानको संख्या १० पुगेको छ। सौर्यले ६ हजारमा भैरहवाबाट दिउँसो ३ बजेर ४५ मिनेटमा विराटनगर उड्ने र विराटनगरबाट साँझ ५ बजेर १० मिनेटमा भैरहवा फर्कने गरी उडान सुरु गर्ने  भएको हो।

कम्पनीले अहिले विराटनगर, भद्रपुर, भैरहवा र धनगढीमा दैनिक उडान गरिरहेको छ। कम्पनीले निकट भविष्यमा नेपालगन्ज र राजविराजको पनि उडान गर्ने जनाएको छ।