Skip This
हिन्दुत्वको परिधिभित्र भारतीय राजनीति
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 16 September, 2025
बद्री नारायण
Invalid date format o९:o९:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

हिन्दुत्वको परिधिभित्र भारतीय राजनीति

Read Time : > 2 मिनेट
बद्री नारायण
नयाँ पत्रिका
Invalid date format o९:o९:oo

भारतको चुनावी लोकतन्त्रको खेल अब एउटै परिधिभित्र रहेर खेल्नुपर्नेछ । यो परिधि हिन्दुत्वको हो, हिन्दुत्व अर्थात् दक्षिण–पन्थीहरूले ‘हिन्दूपना’ जनाउन प्रयोग गर्ने शब्द । यो परिधि कोर्ने काम हिन्दुत्व चेतना विस्तार एवं सुदृढ गर्न उद्यत मानिसहरूले गरिरहेका छन् । यस परिधिभित्र कोही नरम हिन्दुत्ववादी हुन सक्छ भने कोही चरम हिन्दुत्ववादी हुन सक्छ । अर्थात् यो नरमपन वा चरमपन कहिले मन्दिर भ्रमण गरेर वा कहिले चण्डी पाठ गरेर अथवा हिन्दू तीर्थस्थलमा व्यापक विकास गर्ने वाचा गरेर सतहमा आइरहन्छन् । प्रमुख राजनीतिक मसलाका रूपमा हिन्दुत्व रहेको उत्तर प्रदेश विधानसभा चुनावमा यो प्रवृत्ति जोडतोडका साथ बढिरहेको देख्न सकिन्छ । 

दलित नेता कान्सी रामको १५औँ स्मृति दिवसका उपलक्ष्यमा लखनउको एक र्‍यालीमा बहुजन समाज पार्टीकी नेतृ मायावतीले उत्तर प्रदेशमा सत्तारोहण गरेपछि त्यहाँका तीन प्रमुख हिन्दू तीर्थस्थल भएका सहरहरू अयोध्या, वाराणसी र मथुरामा भारतीय जनता पार्टी (भाजपा)ले सञ्चालन गरिरहेको कार्यक्रमलाई नबिथोल्ने वाचा गरेकी छिन् । हालैको किसान न्याय यात्रामा कांग्रेस महासचिव एवं उत्तर प्रदेश इन्चार्ज प्रियंका गान्धीले दुर्गापाठ गरेकी थिइन् र हरहर महादेवको नारा उछालेकी थिइन् । आफ्नो राजनीतिक छविलाई सर्व धर्म सम्भव देखाउनका निमित्त गान्धीले गुर्बानी र कुरान पनि पढेकी थिइन् । तथापि चण्डी पाठ र हरहर महादेवका नारा ठूलो स्वरमा गुन्जिएको थियो । राजीव गान्धीको सत्ता रहुन्जेल मन्दिर, मठ एवं धार्मिक पीठहरूमा जानु कांग्रेसको संस्कृति नै बनेको थियो । यद्यपि, गान्धीका पालामा मुसलमान मत सुरक्षित पार्ने दबाबका कारण कांग्रेसलाई रक्षात्मक बनायो र पार्टीको राजनीतिक गतिविधिहरूमा हिन्दू संकेत एवं प्रतीकहरू मलिन हुँदै गयो । अहिले हिन्दुत्वको परिधिले सिर्जना गरेको दबाबका कारण कांग्रेस हिन्दू धार्मिक प्रतीकहरूका मामिलामा मुखर हुँदै गइरहेको छ ।       

समाजवादी पार्टीका नेता अखिलेश यादव पनि उत्तर प्रदेशको हिन्दुत्व राजनीतिको खेलका नियमसँग अनभिज्ञ छैनन् । उनी पनि अयोध्या, चित्रकुट र फारुकाबादको विमलनाथ मन्दिर भ्रमण गरेर आफ्नो हिन्दू पहिचानको प्रदर्शन गर्न पछि परेनन् । उत्तर प्रदेशमा राजनीतिक वर्चस्व बढाउन लागिपरेका अरविन्द केजरीवाल अयोध्याको हनुमानगढी पुगे र राम जन्मभूमिमा राम लल्लाको पूजा गरेर फर्किए । उनले दिल्लीका ज्येष्ठ नागरिकहरूलाई निःशुल्क अयोध्या तीर्थयात्रा गराउने योजनाको पनि घोषणा गरे ।  

भारतमा यसअघि जातको परिधिभित्र लडिने चुनाव अब हिन्दू धर्मको परिधिभित्र लडिने देखिन्छ । हिन्दू धार्मिक पहिचानको राजनीतिले विभिन्न हिन्दू जात, समुदाय एवं मानिसलाई एकै ठाउँमा ल्याउनेछ ।
 

अहिले सबै राजनीतिक दलहरू हिन्दुत्वको परिधिभित्र पस्न चाहन्छन् किनभने उनीहरू चुनाव जित्न बढीभन्दा बढी जातिहरूसँग गठबन्धन गर्न चाहन्छन् । अधिकांश पार्टीहरू उनीहरूको मुख्य मतका आधारले मात्रै चुनाव जितिँदैन भन्नेमा जानकार भइसकेका छन् । यसअघि जातको परिधिभित्र लडिने चुनाव अब हिन्दू धर्मको परिधिभित्र लडिने देखिन्छ । हिन्दू धार्मिक पहिचानको राजनीतिले विभिन्न हिन्दू जात, समुदाय एवं मानिसहरूलाई एकै ठाउँमा ल्याउनेछ । त्यसबाहेक हिन्दुत्वको राजनीति गर्ने पार्टीहरू मुख्यतः भाजपाले चुनावमा अल्पसंख्यकहरूको मतको दबाबलाई कमजोर बनाइदिएको छ अर्थात् हिन्दुत्ववादी हुनु राजनीतिक रूपमा फाइदाजनक छ भन्ने देखाएको छ ।  

 तर, विपक्षी नेताहरू हिन्दुत्वको परिधि निर्माणमा राष्ट्रिय स्वयंसेवक संघ संलग्न रहेको बिर्सिन्छन् । स्मरण रहोस्, राष्ट्रिय स्वयंसेवक संघ प्रतीक एवं संकेत नभई दशकौँको भुइँ तहको राजनीति गरेर विकसित भएको हो । संघको प्राकृतिक एवं अन्य विपत्तिका वेला सामाजिक सेवा अर्थात् ‘सेवा कार्य’, उनीहरूको शैक्षिक एवं स्वास्थ्य आधारित योजना एवं विकासका योजनाले विभिन्न हिन्दू समुदायलाई जोड्ने काम गरेको छ ।   

सबै राजनीतिक दलहरूले आगामी चुनावमा आफ्नो राजनीतिक प्याकेजमा हिन्दुत्वलाई महत्वपूर्ण ठाउँ दिएकै छन् । प्रश्न उठ्छः उनीहरूले कसरी हिन्दू मस्तिष्कसँग सम्बन्ध जोड्छन् र कसरी हिन्दुत्वको भावसँग अन्तर्क्रिया  गर्छन्, किनभने केही दशकयता हिन्दुत्व सबैभन्दा बढी मुखर भएको छ । विपक्षी दलहरू प्रतीकात्मक रूपमा आफ्नो राजनीतिक पहिचान दर्साउन सफल रहन सक्छन्, तर उनीहरूले ठोस हिन्दू धार्मिक पहिचान भने प्रदर्शन गर्न सक्दैनन् । ठोस हिन्दू धार्मिक पहिचानका निम्ति भुइँ तह अर्थात् ‘ग्रासरुट्स’मा कार्यकर्ताहरूको बृहत् एवं बलियो सञ्जाल तयार गर्न आवश्यक छ । यदि प्रतीक ठोस विषयवस्तुसँग मिल्छ भने त्यसले प्रभावकारी नतिजा दिन्छ नभए यो एक फगत प्रदर्शनमा सीमित रहन्छ ।
द इन्डियन एक्सप्रेसबाट