१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
कात्तिक पहिलो साता लगातार तीन दिन परेको वर्षाले डुबाएको खेतबाट धानबाली स्याहार्दै सप्तरीका एक किसान । फाइल तस्बिर : रासस
अजित अधिकारी नयाँ पत्रिका
२०७८ कार्तिक १२ शुक्रबार ०६:४९:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बेमौसमी वर्षाले ११ अर्ब ८७ करोडको धानबाली क्षति, किसानलाई सरकारको ५ अर्ब ५२ करोड राहत

Read Time : > 3 मिनेट
अजित अधिकारी, नयाँ पत्रिका
२०७८ कार्तिक १२ शुक्रबार ०६:४९:००

- साना किसानलाई क्षतिको ६५%, मझौलालाई ३०%, ठूला किसान र आंशिक क्षति भएकालाई २०% राहत दिने मन्त्रिपरिषद्को निर्णय

- १० प्रतिशतसम्म धानको उत्पादन घट्ने र चामलको आयात झन् बढ्ने अनुमान

कात्तिक पहिलो साता तीन दिनसम्म परेको बेमौसमी वर्षाले किसानको ११ अर्ब ८७ करोड ५१ लाख ६० हजार रुपैयाँबराबरको धानबाली नष्ट गरेको छ । क्षतिको विवरण संकलन गर्न गृह मन्त्रालयका सचिवको नेतृत्वमा गठित समितिको प्रतिवेदनपछि सरकारले पीडित किसानलाई पाँच अर्ब ५२ करोड राहत उपलब्ध गराउने निर्णय गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी, पहिरो र डुबानका कारण क्षति बेहोरेका किसानलाई चार किसिममा वर्गीकरण गरी राहत उपलब्ध गराउने निर्णय गरेको हो । साना किसानलाई पहिलो प्राथमिकतामा राखिएको छ । यस वर्षका लागि निर्धारण भएको धानको न्यूनतम समर्थन मूल्य दुई हजार नौ सय दुई रुपैयाँ प्रतिक्विन्टल लागत मूल्य र प्रतिहेक्टर उत्पादन तीन मेट्रिकटनलाई आधार मानेर सरकारले राहत रकम निकालेको हो ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार १० कट्ठासम्म खेत भएका साना किसानलाई ६५ प्रतिशत राहत उपलब्ध गराउने निर्णय भएको छ । यस्ता किसानले प्रतिकट्ठा एक हजार नौ सय २१ रुपैयाँका दरले राहत पाउनेछन् । त्यस्तै, ४० कट्ठासम्म (दुई बिघा) जमिन भएका किसानले पूर्ण क्षति बेहोरेको भए ३० प्रतिशत राहत पाउनेछन् । यस्ता किसानलाई प्रतिकट्ठा आठ सय ८७ रुपैयाँका दरले राहत दिइने मन्त्री कार्कीले बताए । 

पूर्ण क्षति बेहोरेका दुई बिघाभन्दा बढी खेती भएका ठूला किसानलाई सरकारले २० प्रतिशत राहत उपलब्ध गराउनेछ । यस्ता किसानले प्रतिकट्ठा पाँच सय ९१ रुपैयाँका दरले राहत पाउनेछन् । आंशिक क्षति भोगेका सबै किसानलाई २० प्रतिशतका दरले राहत उपलब्ध गराइनेछ । यस्ता किसानलाई पनि प्रतिकट्ठा पाँच सय ९१ रुपैयाँका दरले राहत दिइने मन्त्री कार्कीले बताए । अविरल वर्षाले गरेको क्षतिका कारण किसानहरू अत्तालिएपछि सरकारले छिटो तथ्यांक संकलन गरी राहत घोषणा गरेको हो ।

कहाँ कति क्षति भयो ?
कृषि मन्त्रालयका अनुसार देशभर एक लाख ११ हजार ६ सय नौ हेक्टरमा लगाइएको धानबालीमा वर्षाले क्षति पुर्‍याएको छ । सबैभन्दा बढी लुम्बिनी प्रदेशमा क्षति भएको छ । यहाँ ४२ हजार चार सय २७ हेक्टरमा लगाइएको धानबाली पूर्ण रूपमा क्षति भएको छ । जसबाट किसानको चार अर्ब ५१ करोड ४२ लाख ३३ हजार रुपैयाँ नोक्सान भएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले बताए । लुम्बिनीको बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देहीका किसानको बढी क्षति भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, सुदूरपश्चिममा ३६ हजार चार सय ५५ हेक्टरमा लगाइएको धानबालीमा क्षति हुँदा किसानको तीन अर्ब ८७ करोड ८७ लाख ८० हजार रुपैयाँको नोक्सान भएको छ । मुख्यगरी धेरै धान उत्पादन हुने कैलाली र कञ्चनपुरमा ठूलो क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

प्रदेश २ मा १५ हजार एक सय ४६ हेक्टरमा लगाइएको धानबालीमा क्षति हुँदा किसानको एक अर्ब ६१ करोड १५ लाख ८२ हजार रुपैयाँ नोक्सान भएको छ । यस प्रदेशमा प्रदेश सप्तरी, सिराहा र सर्लाहीमा धेरै क्षति भएको छ । 

कृषि मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलका अनुसार प्रदेश १ मा १३ हजार ९२ हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको छ । त्यसबाट किसानलाई एक अर्ब ३९ करोड २९ लाख ३६ हजार रुपैयाँ नोक्सान भएको छ । प्रदेश १ मा मुख्यगरी धान उत्पादन धेरै हुने झापा, मोरङ र सुनसरीमा धेरै क्षति पुगेको विवरण संकलन समितिको प्रतिवेदनमा उल्लेख रहेको सञ्जेलले बताए । 

कर्णालीमा दुई हजार सात सय ६७ हेक्टरमा लगाइएको बाली पूर्ण क्षति भएको छ । यहाँका किसानको २९ करोड ४४ लाख नौ हजार रुपैयाँबराबरको नोक्सानी भएको छ । कर्णालीको डोल्पा, जुम्ला, सल्यान र सुर्खेतमा बढी क्षति भएको छ । जुम्लामा लगाइएको मार्सी धानमा धेरै क्षति पुगेको छ । 

त्यस्तै, गण्डकीमा एक हजार एक सय ९२ हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको छ । जसबाट किसानलाई १२ करोड ६८ लाख २९ हजार रुपैयाँ नोक्सान भएको कृषि मन्त्रालयले जनाएको छ । यो प्रदेशमा स्याङ्जा, कास्की, नवलपरासीमा बढी क्षति पुगेको छ । गण्डकीको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हरिबहादुर केसीले पहाडी क्षेत्रको भिरालो जमिनमा डुबान परेको र पानी कटाएर क्षति कम गरिएको बताए । 

बागमतीमा तुलनात्मक रूपले कम क्षति भएको छ । यहाँ पाँच सय ३० हेक्टरमा लगाइएको धानबाली नष्ट हुँदा पाँच करोड ६३ लाख ९२ हजार रुपैयाँको नोक्सानी भएको छ । बागमतीको नुवाकोट र चितवनमा बढी क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

१० प्रतिशतसम्म उत्पादन घट्ने, चामल आयात झन् बढ्ने
यस वर्ष जेठ, असार र साउनमा गरी धान खेती हुने १३ लाख ७१ हजार हेक्टरमध्ये १३ लाख ४२ हजार हेक्टरमा रोपाइँ भएको थियो । रासायनिक मलको अभावबीच पनि समयमै मनसुन सक्रिय भएकाले किसानले छिटै वर्षेधान रोपाइँ गरेका कारण यस वर्ष धान उत्पादनमा सुधार हुने अपेक्षा थियो । तर, बेमौसमी वर्षाले धान लगाएको क्षेत्रफलमध्ये एक लाख ११ हजार हेक्टरमा असर गरेको छ । त्यसमा पनि ९० हजार नौ सय ९३ हेक्टरमा लगाइएको धानबालीमा पूर्ण क्षति गरेको छ । जसकारण यस वर्ष करिब १० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ ।

गत वर्ष कुल ५६ लाख २१ हजार मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष केही सुधार हुनुको सट्टा घटेर करिब ५० लाख मेट्रिकटन हुने देखिएको छ । जसकारण उत्पादित धानले नपुगेर चामल आयात बढ्ने भएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार गत आव ०७७/७८ मा ५० अर्ब ४८ करोड नौ लाख रुपैयाँको चामल आयात भएको थियो । जुन अघिल्लो आव ०७५/७६ को तुलनामा ५१.४ प्रतिशत बढी हो । यस वर्ष पनि चामल आयात चुलिने देखिएको छ ।

किसानको बैंक खातामै राहत रकम जाने व्यवस्था हुन्छ : प्रकाश सञ्जेल, प्रवक्ता कृषि तथा पशुपक्षी विकास मन्त्रालय

वर्षाले पुर्‍याएको क्षति मूल्यांकन गरी राहतको घोषणा भइसकेको छ । सरकारले निर्धारण गरेको मापदण्डमा रहेर किसानलाई कसरी छिटोभन्दा छिटो राहत पुर्‍याउने भन्नेमा हाम्रो ध्यान केन्द्रित हुन्छ ।

स्थानीय र जिल्लास्तरमा रहेको विपत् व्यवस्थापन समिति परिचालन गरी प्रत्येक किसानको पहिचान गरिनेछ । राहतबापत दिइने रकम वितरणका लागि एक साताभित्रै कार्यविधि बनाउँछौँ ।

किसानको बैंक खातामै पैसा पुग्ने गरी राहत उपलब्ध गराउने कार्यविधि तयार गर्छौँ । किसानलाई छिटोभन्दा छिटो राहत उपलब्ध गराउन हामी जुट्छौँ ।