१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ११ बिहीबार
  • Friday, 05 July, 2024
कृष्ण रिजाल काठमाडाैं
२o७८ कार्तिक ११ बिहीबार o७:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

उद्योगको प्रस्तावित लगानी दोब्बरले बढ्यो

Read Time : > 1 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
नयाँ पत्रिका
२o७८ कार्तिक ११ बिहीबार o७:३५:oo

तीन महिनामै ८७ उद्योगमा सवा एक खर्ब लगानी प्रस्ताव, २४ अर्ब विदेशी लगानी स्वीकृत

नेपालमा उद्योगको प्रस्तावित लगानी दोब्बरले बढेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा उद्योग विभागमा दर्ता भएका उद्योगले कुल एक खर्ब २२ अर्ब लगानी गर्ने प्रस्ताव गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा आएको प्रस्तावित लगानीभन्दा झन्डै दोब्बरले बढी हो ।

अघिल्लो आर्थिक वर्ष ०७७/७८ को पहिलो त्रैमासमा दर्ता भएका उद्योगले ६२ अर्ब ३७ करोड रुपैयाँ लगानीको प्रस्ताव गरेका थिए । चालू आवको सोही अवधिमा दर्ता भएका उद्योगले गरेको लगानी प्रस्ताव ९६ प्रतिशतले बढी हो । यस अवधिमा कुल ८७ वटा उद्योग दर्ता भएका छन् । त्यसमध्ये २६ वटा ठूला, ३४ वटा मझौला र २७ वटा साना रहेका छन् । ती उद्योगले सवा एक खर्ब लगानी गर्ने र आठ हजार एक सय ३४ जनालाई रोजगारी दिने प्रस्ताव गरेका हुन् । गत वर्ष यही अवधिमा ५९ वटा उद्योग दर्ता भएका थिए । 

कोभिडविरुद्धको खोप अभियानले तीव्रता पाएसँगै लगानीकर्तामा उत्साह देखिएको उद्योग विभागका महानिर्देशक जीवलाल भुसाल बताउँछन् । सोही कारण अहिले लगानी प्रस्ताव उत्साहप्रद रूपमा बढेको उनको भनाइ छ । उद्योगको दर्ता, त्यसमा आएको लगानी र विदेशी लगानीको स्वीकृतिलाई विश्लेषण गर्दा आर्थिक अवस्था सामान्य अवस्थातर्फ आएको देखिने उनले बताए । 

विभागले असोजसम्ममा १०७ वटा उद्योगमा २३ अर्ब ७१ करोड रुपैयाँबराबरको विदेशी लगानी स्वीकृति गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा चार अर्ब ३७ करोडले बढी हो । गत आवको पहिलो त्रैमासमा विभागले ९३ वटा उद्योगमा १९ अर्ब ३४ करोड रुपैयाँबराबरको विदेशी लगानी स्वीकृति गरेको थियो । असोज मसान्तसम्म स्वीकृत विदेशी लगानीमध्ये एउटा मात्रै ठूला उद्योग रहेको छ । कुल २४ करोड ७५ लाख लगानीको उक्त ठूला उद्योगमा पाँच करोडबराबरको विदेशी लगानी स्वीकृति भएको हो ।

म्याद गुज्रिएका उद्योगलाई ३० दिन थप समय
उद्योग विभागले विभिन्न प्रक्रियामा म्याद गुज्रिएका उद्योगका लागि ३० दिन थप समय दिने भएको छ । विभागले उद्योग नवीकरणदेखि कारोबार प्रारम्भ, औद्योगिक सम्पत्तिको नवीकरण, प्राइभेट फर्म नवीकरणलगायत कार्यका लागि थप ३० दिन समय दिने भएको हो । लकडाउनका कारण विभागले प्रदान गर्ने सेवाका लागि आवेदन दिन नपाएका उद्योगका लागि विभागले यस्तो सहुलियत दिएको हो । जसअनुसार विभागले उद्योग नवीकरण, उद्योगको सञ्चालन, व्यावसायिक उत्पादन वा कारोबार गर्ने म्याद सम्बन्धमा आवेदन गर्न ३० दिन थप समय दिएको हो ।

ad
ad
ad
ad