काठमाडौंको नयाँ बानेश्वरस्थित मुख्य सडकमा मंगाल भत्किएर भासिएको सडक बन्न अझै दुई दिन लाग्ने भएको छ। सोमबार बिहान उक्त सडक भासिए पनि सम्बन्धित निकायले आज मंगलबार बिहानदेखि मात्रै ढल र मंगाल मर्मतको काम सुरु गरेका छन्।
मुख्य सडकको बीचमा परेको करिब १५ फिट गहिरो खाडल समयमै नपुर्दा सवारी आवागमनमा समेत समस्या देखिएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले सोमबार भत्किएको मंगाल र ढलपाइप बनाउन समय लाग्ने जनाएको छ।
केयुकेएल ढल महाशाखाका प्रमुख उज्ज्वल श्रेष्ठले ढलको काम सुरु भइसके पनि समय लाग्ने बताए। उनका अनुसार केयुकेएलले ढलको काम मात्रै गर्नेछ। त्यसपछि सडक पुर्ने र पिच गर्ने काम सडक विभागले गर्नेछ। ‘वरिपरि सिमेन्टले टाल्नुपर्छ, त्यसलाई सुक्न समय लाग्छ, हामीले ढल र मंगालको काम सकाएपछि सडक बनाउने काम सडक विभागले गर्छ,’ श्रेष्ठले भने।