मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक ८ सोमबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ८ सोमबार १७:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं महानगर एक वडा एक पार्क अभियानमा, ५० बढी पार्क बन्दै, एकै दिन दुई पार्कको शिलान्यास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ८ सोमबार १७:१८:oo

‘एक वडा एक पार्क निर्माण’ को नीतिअनुरूप काठमाडौं महानगरपालिकाले सोमबार एकै दिन वडा– ३२ मा दुइटा पार्कको शिलान्यास गरेको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले करिब ४ रोपनी ११ आनामा निर्माण हुने ‘बागमती दोभान’ र ‘अमरावती’ दुई पार्कको सोमबार एकैपटक शिलान्यास गरेका हुन्।

पार्क शिलान्यासपछि सम्बाृेधन गर्दै शाक्यले साना ठूला गरी काठमाडौं महानगरपालिका क्षेत्रभित्र ५० वढी पार्क निर्माण भइरहेको जानकारी दिए। ‘सार्वजनिक जग्गाको संरक्षण गर्ने, हरियाली कायम गर्ने र स्थानीयहरूको अपनत्व रहने गरी उहाँहरूलाई नै संरक्षणको जिम्मा दिने नीतिअनुसार हामीले प्रत्येक वडामा कम्तीमा एक पार्क निर्माणको अभियान अघि बढाएका हौँ,’ उनले भने, ‘जहाँ–जहाँ सार्वजनिक जमिन छ, त्यहाँ–त्यहाँ त्यो जग्गाको संरक्षण गर्दै साना–ठूला पार्क बनाउँदै आएका छौँ ।’

उनले कतिपय जमिन गुठीका नाममा रहेका कारण पार्क निर्माण गर्ने र हरियाली कायम गर्ने कुरामा समस्या भएको बताए । ‘गुठी संस्थानलाई हामीले कुत बुझाउँछौँ, तपाईंहरूले महानगरपालिकालाई लिजमा दिनुहोस् । त्यहाँ हरियाली पार्क निर्माण गर्छौँ भनेर प्रस्ताव राखेका छौँ,’ शाक्यले भने, ‘व्यावसायिक भवन अहिले निजी क्षेत्रबाट पर्याप्त बनेका छन् । गुठीको जमिनमा व्यावसायिक भवनको आवश्यकता छैन । त्यहाँ पार्क निर्माण गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।’

उनले ती जमिन गुठी संस्थानले लिजमा दिए संरक्षण गर्दै हरियाली कायम गर्ने बताए । ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र मात्रै ५० बढी पार्क निर्माणको काम अघि बढेको छ,’ शाक्यले भने, ‘कति पार्क निर्माण सम्पन्न भएका छन्, कति निर्माणको चरणमा छन् । कति शिलान्यास भएका छन् भने कति शिलान्यासको तयारीमा छन् ।’ उनले सम्पदा निर्माण–पुनर्निर्माणको कामलाई पनि अघि बढाएको बताए।