१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
शुरोजंग पाण्डे नयाँ पत्रिका
२०७८ कार्तिक ६ शनिबार ०६:४३:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एमालेमा दशौँ महाधिवेशन सरगर्मी सुरु : आज ६ हजार सात सय ४३ वटै वडामा अधिवेशन

Read Time : > 5 मिनेट
शुरोजंग पाण्डे, नयाँ पत्रिका
२०७८ कार्तिक ६ शनिबार ०६:४३:००

संसद्को ठूलो दल प्रतिपक्षी नेकपा एमालेमा दशौँ महाधिवेशनको सरगर्मी सुरु भएको छ । विधान महाधिवेशन सम्पन्न भएको तीन सातापछि एमालेले शनिबार एकै दिन देशभरका ६ हजार सात सय ४३ वडाहरूमा अधिवेशन गर्दै छ ।

अध्यक्ष केपी ओलीले भर्चुअल माध्यमबाट वडा अधिवेशन उद्घाटन गरेर सम्बोधन गर्दै छन् । लगत्तै ९ कात्तिकमा देशभरका सात सय ५३ पालिकामा पालिकास्तरीय अधिवेशन आयोजना गर्दै छ । गत १५ देखि १७ असोजमा ललितपुरको गोदावरीमा एमालेले प्रथम विधान महाधिवेशन गरेको थियो ।

बिहीबार बसेको स्थायी समिति बैठकले पार्टीको दशौँ महाधिवेशन आगामी १० देखि १२ मंसिरमा चितवनमा आयोजना गर्ने निर्णय गरेको छ । पार्टीको नीति, विचार र विधान पारित गर्ने विधान महाधिवेशन सम्पन्न भइसकेकाले एक महिनापछि हुने महाधिवेशन केवल नेतृत्व चयनमा केन्द्रित हुनेछ । त्यसैले शनिबार देशभर सम्पन्न हुने वडा अधिवेशनसँगै एमालेभित्र दशौँ महाधिवेशनको सरगर्मी तीव्र रूपले अगाडि बढ्नेछ । 

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले भर्चुअल माध्यमबाट उद्घाटन हुने वडा अधिवेशनमा कम्तीमा दुई लाख कार्यकर्ता सहभागी हुने बताए । अधिवेशन भव्यतापूर्वक सम्पन्न गर्न तामाङले केन्द्रीय कार्यालयका तर्फबाट बिहीबारै आठबुँदे सर्कुलर पठाएका छन् ।

संविधान जारी भएपछि नयाँ संरचनामा अधिवेशन हुन लागेकाले पालिका र वडा अधिवेशनलाई पहिलो अधिवेशन मान्न एमालेले निर्देशन दिएको छ । भव्यतापूर्वक जनसहभागितामा अधिवेशन सम्पन्न गर्न र झण्डा र ब्यानरलाई व्यापक रूपमा प्रयोग गर्न सर्कुलरमार्फत निर्देशन दिइएको छ । अधिवेशन सहजीकरणका लागि जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरूलाई जिम्मेवारी तोकिएको जनाइएको छ । 

पाण्डे महाधिवेशन मूल व्यवस्थापनको सहसंयोजक
एमाले स्थायी समिति बैठकले नेता सुरेन्द्र पाण्डेलाई महाधिवेशन मूल व्यवस्थापन समितिको सहसंयोजकको जिम्मेवारी दिएको छ । बिहीबारको बैठकले आगामी १२ देखि १४ मंसिरमा चितवनमा हुने महाधिवेशन सम्पन्न गर्न स्थायी समिति सदस्य रामबहादुर थापा ‘बादल’लाई मूल व्यवस्थापन समितिको संयोजक बनाएको थियो । शुक्रबारको बैठकले समितिलाई पूर्णता दिएको छ ।

जसअनुसार समितिको सचिवमा विष्णु रिमाल रहनेछन् भने सदस्यहरूमा पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, काशीनाथ अधिकारी, भानुभक्त ढकाल, यमलाल कँडेल, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल लीला गिरी, कपिल पोखरेल, पार्वती रावल, कृष्णभक्त पोखरेल र दीपक देवकोटा रहेका छन् । बाँकी एक सदस्य पछि मनोनीत हुनेछन् ।

यस्तो बन्दै छ एमालेको स्थानीय कमिटी 
एमालेको विधान महाधिवेशनबाट पारित विधानअनुसार शनिबारको अधिवेशनबाट ३१ सदस्यीय कमिटीहरू बन्नेछन् । त्यसअनुसार ६ हजार सात सय ४३ वडाको आधारभूत तहको वडा कमिटीमा दुई लाख नौ हजारजनासम्म कार्यकर्ता संगठित हुनेछन् । विधानअनुसार अध्यक्ष, उपाध्यक्ष र सचिव एक–एक तथा दुई उपसचिव रहेको कमिटी बन्नेछ । तर, उपमहानगरका वडामा ४१ र महानगरका वडामा ५१ सदस्यीय कमिटी हुनेछन् । त्यस्तै, महानगर कमिटी एक सय एक सदस्यीय, उपमहानगर कमिटी ८५ सदस्यीय तथा गाउँपालिका र नगरपालिकाको ७५ सदस्यीय हुने विधानमा उल्लेख छ । 

नेतृत्व चयन गर्न विद्युतीय मतदान, महाधिवेशन प्रतिनिधि  छनौेटका लागि मापदण्ड 
स्थायी समिति बैठकले महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न ०७७ चैत मसान्तसम्म संगठित सदस्य बनेका र नवीकरण गरेका सदस्यहरू योग्य रहने मापदण्ड टुंग्याइएको छ । त्यस्तै, महाधिवेशनबाट नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने र त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरिएको प्रवक्ता ज्ञवालीले बताए । प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्नेलगायतका विषयमा छलफल गर्न ११ कात्तिकमा स्थायी समिति र १२ कात्तिकमा केन्द्रीय कमिटी बैठक बोलाइएको छ । महाधिवेशनमा विभिन्न मुलुकका भाइचारा पार्टी र देशभित्रका राजनीतिक दललाई निमन्त्रणा गर्ने निर्णय पनि गरेको छ । 

अबको बैठकमा भीम रावलको कार्यविभाजन पनि टुंगो लाग्छ : प्रदीप ज्ञवाली
अध्यक्ष ओलीले दशबुँदे कार्यान्वयन नगर्ने दिशाबाट कुरा राखेकाले कार्यदलको संयोजक रहिरहनु उचित रहेन भन्दै उपाध्यक्ष भीम रावलले राजीनामा दिनुभयो, खासमा अध्यक्षले बैठकमा के भन्नुभएको थियो ? 
हामीले बैठकबाट आगामी केन्द्रीय कमिटीको बैठक (१२ कात्तिक)सम्म दशबुँदे सहमति कार्यान्वयन गरिसक्ने निर्णय गरेका छौँ । बैठकमा उहाँ (अध्यक्ष)ले पनि त्यही निर्देशन दिइसक्नुभएको छ, खासमा अलिकति उहाँको (भीम रावल)को बुझाइमा मात्र समस्या देखिएको हो ।

बुझाइमा समस्या भन्नाले सुदूरपश्चिम प्रदेशको जिम्मेवारीको विषय हो ? 
मुख्य कुरा त्यही हो । उहाँले आफू इन्चार्ज बन्नुपर्ने कुरा गर्नुभएको थियो । तर, अध्यक्षले ‘पार्टी एकताको पक्षमा उभिनुभएका पूर्वमाओवादीका नेता कमरेडहरूले त्यत्रो त्याग गर्नुभो, त्यसबापत सांसद पद गुमाउनुभो, अरू धेरै कुरा गुमाउनुभो, त्यसैले अहिले नै उहाँहरूलाई हटाउने कुरा उपयुक्त हुँदैन । त्यसैले कार्यविभाजन गर्दा केही मिलाउनुपर्‍यो भने मिलाउँला, त्यो ठूलो कुरा होइन’ भन्नुभएको थियो । अध्यक्षले कार्यविभाजन मिलाएर जाने कुरामा सरसल्लाह गर्न सकिन्छ, अर्को बैठकबाट गरौँ भन्ने प्रस्ताव पनि गर्नुभएको हो, तर उहाँले कसरी लिनुभयो । तैपनि अबको बैठकले उहाँको कार्यविभाजनको पनि टुंगो लगाउँछ ।

शनिबार (आज)बाट तपाईंहरूको दशौँ महाधिवेशन सुरु हुँदै छ, ठीक यही वेला भीम रावलको अचानक राजीनामाले त नकारात्मक सन्देश दिएन ? 
कहिलेकाहीँ कुनै विषयमा कतिपय नेताहरूका विमतिहरू रहन सक्छन् । एउटा कुरामा असहमति राख्नुभए पनि बाँकी कुरामा त केही समस्या छैन । त्यस्तो नगर्नुभएको भए हुन्थ्यो । तर, उहाँको राजीनामाले महाधिवेशनको तयारीमा त्यति ठूलो असर गर्छ भन्ने मलाई लाग्दैन । हामी पार्टीलाई मिलाएर एकताका साथ नै अगाडि बढाउँछौँ ।

दशबुँदे कार्यान्वयनमा झमेला : रावलको नोट अफ डिसेन्ट, कार्यदलबाट राजीनामा

अध्यक्ष केपी ओली र विभाजनको बाटो छाडेर पार्टीमै अडिएका तेस्रो धारका नेताहरूबीच दशबुँदे सहमति कार्यान्वयनमा अन्तर्विरोध देखिएपछि दशौँ महाधिवेशनको सरगर्मीसँगै एमालेमा फेरि कचपच सुरु भएको छ । दशबुँदे सहमति शतप्रतिशत लागू नहुने ओलीको अभिव्यक्ति र पूर्ण कार्यान्वयन हुनुपर्ने उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसालसहितका नेताहरूको अडानले दरार निम्त्याएको छ । 

उपाध्यक्ष रावलले शुक्रबार स्थायी समिति बैठकमा पाँच पृष्ठको ‘नोट अफ डिसेन्ट’ लेख्ने जानकारी गराएर दशबुँदे सहमति कार्यान्वयन सहजीकरण कार्यदलको संयोजक पदबाटै राजीनामाको घोषणा गरेका छन् । यद्यपि, उनले राजीनामा भने बुझाइसकेका छैनन् । रावलले अध्यक्ष ओली नै सहमतिको विपक्षमा देखिएकाले पदमा रहिरहनुको औचित्य सकिएकाले शनिबार औपचारिक रूपमै असहमतिसहित पत्राचार गरेर राजीनामा गर्ने घोषणा गरेको सञ्चारकर्मीहरूलाई बताए । 

‘दशबुँदे सहमति कार्यान्वयनका लागि १२औँ अपानि (अन्तर पार्टी निर्देशन)मा समेत राखेर पठाइसकेपछि कार्यान्वयन गर्ने विषय मेरो व्यक्तिगत नभएर पार्टीको विषय थियो । कार्यदलमा धेरै साथीहरूले कार्यान्वयनमै जोड दिनुभयो । समस्या समाधानका लागि कार्यदलमा भएको छलफललाई पनि ध्यानमा राखेर मैले प्रस्ताव पनि गरेको थिएँ । राम्रो वातावरणमै छलफल भएको थियो,’ रावलले सञ्चारकर्मीहरूसँग भने, ‘तर, अन्तिममा पार्टी अध्यक्षले हामीबीच भएका सबै छलफलहरू, दशबुँदे सहमति, अपानिभन्दा भिन्न किसिमले, अमिल्दो किसिमले कार्यान्वयन नगर्ने दिशाबाट निष्कर्ष सुनाउनुभएको हुनाले त्यसमा मेरो सहमति हुन सकेन, त्यसकारण मैले पाँच पृष्ठ लामो फरक मत दर्ज गरेको छु ।’ 

बुधबार अध्यक्ष ओलीले माधव नेपाललाई विभाजनबाट रोक्नका लागि मात्र दशबुँदे सहमति गरिएकाले अझै पनि त्यसैको एकतारे बजाएर अल्झिरहनुको औचित्य नहुने सार्वजनिक अभिव्यक्ति दिएपछि रावल र भुसालले बिहीबारको बैठकमा प्रतिवाद गरेका थिए । उनीहरूले अध्यक्ष नै दशबुँदे सहमतिविरुद्ध उभिँदा पार्टी एकता कमजोर बन्ने र पार्टीलाई भविष्यमा पनि क्षति पुर्‍याउने भन्दै सचेत गराएका थिए । 

उनीहरूकोे प्रतिवादपछि शुक्रबारको स्थायी समिति बैठकमा सहमति कार्यान्वयनबारे छलफल भएको थियो । ओलीले गम्भीर संकटमा साथ दिएका पूर्वमाओवादी नेताहरूलाई जिम्मेवारीबाट हटाएर दशबुँदे सहमति पूर्ण रूपमा कार्यान्वयन नहुने बताएपछि चिढिएका रावलले नोट अफ डिसेन्टसहित कार्यदल संयोजकबाट राजीनामा घोषणा गरेका हुन् ।

रावलले पार्टीले निर्णय गरिसकेको सहमति कार्यान्वयनमा अध्यक्षले देखाएको अनिच्छा, केन्द्रीय सदस्य मनोनयनलगायतका विषयमा लिखित रूपमै नोट अफ डिसेन्ट पठाउने जानकारी गराएको बताए । स्थायी समितिको बैठकले केन्द्रीय सदस्य प्रभु साहसँग भएको सहमतिअनुसार रौतहटका कुन्दन कुशवाह र बाराका मोहम्मद समीरलाई केन्द्रीय सदस्य मनोनयन गरेको थियो । त्यसमा रावल, भुसालसहितका नेताहरूले असहमति जनाएका थिए । स्थायी समितिमा उपाध्यक्ष युवराज ज्ञवाली र स्थायी समिति सदस्य रघुजी पन्तले पनि अध्यक्ष ओलीले दशबुँदे सहमति कार्यान्वयनमा इमानदारी नदेखाएको भन्दै आलोचना गरेका थिए ।

‘कार्यदलमा सहमति कार्यान्वयनको विषय उठ्दा भीम रावल नै संयोजक हुनुहुन्छ, कार्यान्वयन गरे भइहाल्यो नि भनेर कार्यदलकै साथीहरूले सार्वजनिक रूपमा अन्तर्वार्ता दिने अनि कार्यदलमा भएका छलफल र पार्टीको निर्णयचाहिँ मान्य नहुने भएपछि कार्यदलमा बस्नुको कुनै औचित्य नभएको हुनाले बैठकमा राजीनामा दिने घोषणा गरेको छु,’ रावलले भने, ‘यसबारे लिखित रूपमा विवरणसहित पार्टी अध्यक्षसमक्ष पठाउने जानकारी गराएको छु ।’ उनले दशबुँदे सहमति र अपानि १२ मा कार्यदलले १० प्रतिशत केन्द्रीय सदस्य थप्ने गृहकार्य गरेर प्रस्ताव गर्ने निर्णय र निर्देशन भए पनि त्यसमाथि छलफलै नगरी दुई केन्द्रीय सदस्य मनोनयन गरिएकाले असहमति रहेको पनि प्रस्ट्याए ।

रावलले दशबुँदे सहमतिअनुसार पार्टी २ जेठ ०७५ अघिको अवस्थामा फर्किंदा आफू सुदूरपश्चिम प्रदेशको इन्चार्ज हुनुपर्ने अडान राख्दै आएका थिए । तर, अहिले इन्चार्ज रहेका लेखराज भट्टलाई ओलीले हटाउन नचाहेपछि सहमति कार्यान्वयन नभएको भन्दै रावल चिढिएका हुन् । 

सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले भने पार्टीले अर्को बैठकसम्म दशबुँदे सहमति कार्यान्वयन गर्ने र त्यही बैठकमा रावलका विषयमा पनि उपयुक्त कार्यविभाजन हुने बताए । ‘हामीले बैठकबाट आगामी केन्द्रीय कमिटीको बैठक (१२ कात्तिक)सम्म दशबुँदे सहमति कार्यान्वयन गरिसक्ने निर्णय गरेका छौँ । बैठकमा उहाँ (अध्यक्ष)ले पनि त्यही निर्देशन दिइसक्नुभएको छ, खासमा अलिकति उहाँ (भीम रावल)को बुझाइमा मात्र समस्या देखिएको हो,’ ज्ञवालीले भने, ‘अध्यक्षले पार्टी एकताको पक्षमा उभिनुभएका पूर्वमाओवादीका नेता कमरेडहरूले त्यत्रो त्याग गर्नुभो, त्यसबापत सांसद पद गुमाउनुभो, अरू धेरै कुरा गुमाउनुभो, त्यसैले अहिले नै उहाँहरूलाई हटाउने कुरा उपयुक्त हुँदैन, त्यसैले कार्यविभाजन गर्दा केही मिलाउनुपर्‍यो भने मिलाउँला, त्यो ठूलो कुरा होइन भन्नुभएको छ । अध्यक्षले कार्यविभाजन मिलाएर जाने कुरामा सरसल्लाह गर्न सकिन्छ, अर्को बैठकबाट गरौँ भन्ने प्रस्ताव पनि गर्नुभएको हो, तर उहाँले कसरी लिनुभयो, तैपनि अबको बैठकले उहाँको कार्यविभाजनको पनि टुंगो लगाउँछ ।’