मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज २६ मंगलबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका लुम्बिनी
२o७८ असोज २६ मंगलबार १७:o५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

तिलोत्तमा नगरमा उत्पादनका आधारमा दुग्ध किसानलाई अनुदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, लुम्बिनी
नयाँ पत्रिका
२o७८ असोज २६ मंगलबार १७:o५:oo

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा दुग्ध उत्पादनका आधारमा किसानलाई अनुदान रकम प्रदान गरेको छ। नगरपालिकाले दुग्ध सहकारीमार्फत किसानलाई प्रतिलिटर एक रुपैयाँका दरले अनुदान उपलब्ध गराएको हो। उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरूप यो वर्ष ४६ लाख ६ हजार पाँच सय ६९ रुपैयाँ किसानलाई उपलब्ध गराएको छ। 

किसानलाई प्रोत्साहन गर्न सहकारीमार्फत बिक्री गरिएको दूधको परिमाणअनुसार हरेक वर्ष अनुदान रकम प्रदान गर्दै आएको नगरप्रमुख वासुदेव घिमिरेले बताए। सहकारीले उपलब्ध गराएको आर्थिक वर्ष ०७७/७८ को लेखापरीक्षण प्रतिवेदनका आधारमा २१ दुग्ध उत्पादक सहकारीमा आबद्ध किसानले अनुदान रकम प्राप्त गरेका हुन्।

अघिल्लो दुई आर्थिक वर्षमा पनि अनुदान रकम उपलब्ध गराइएको थियो। उत्पादनका आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुने भएकाले यो नीति लिइएको बताउँदै नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले नगरपालिकाले किसानमुखी अन्य कार्यक्रमसमेत सञ्चालन गरेको जानकारी दिइन्। 

गत वर्ष नगरपालिकाले ४५ लाख ९८ हजार आठ सय २१ रुपैयाँ अनुदान रकम वितरण गरेको थियो। दूधमा आत्मनिर्भर तिलोत्तमामा वार्षिक एक करोड लिटर दूध उत्पादन हुने गरेकामा त्यसको झन्डै आधा दूध सहकारीमार्फत बिक्री–वितरण हुँदै आएको छ। दुग्ध उत्पादक सहकारी संघका जिल्ला अध्यक्ष लेखनाथ पाण्डेयले सीधै किसानको हातमा रकम जाने यो अनुदान कार्यक्रम सबैका लागि अनुकरणीय रहेको बताए। रासस