मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज २६ मंगलबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काभ्रेपलाञ्चोक
२o७८ असोज २६ मंगलबार ११:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काभ्रेमा  ‘स्मार्ट लकडाउन’ : चाडपर्वमा भिडभाड नगर्न आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काभ्रेपलाञ्चोक
नयाँ पत्रिका
२o७८ असोज २६ मंगलबार ११:५८:oo

जिल्ला प्रशासन कार्यालय काभ्रेले आजदेखि जिल्लाभित्र अनिश्चितकालीन ‘स्मार्ट लकडाउन’ थप गर्दै चाडपर्वमा भिडभाड नगर्न आदेश जारी गरेको छ। जिल्लास्थित कोभिड– १९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)को बैठकले समुदायमा संक्रमणदर घटिरहेको तथा साप्ताहिक रूपमा मृत्युदर घटेको अवस्थामा काभ्रे ‘एल्लो–जोन’मा परेकाले स्मार्ट लकडाउन केही खुकुलो पार्दै निषेधाज्ञालाई थपिएको जनाएको छ।

निषेधाज्ञा गएराति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि भनिएको छ। चाडपर्वमा बजारमा भिडभाड नगर्न, हिँडडुल गर्दा तथा भेला, क्लब, पार्टी प्यालेस, स्विमिङ पुल, ब्युटिपार्लर, जिमखाना आदि सञ्चालन गर्दा स्वास्थ्य–सुरक्षा एवं सामाजिक दूरी कायम गर्नुपर्ने, हाट, मेला, जात्रा महोत्सवमा भिडभाड कम गर्ने तथा निर्धारित जनस्वास्थ्यका मापदण्ड अपनाउन जारी आदेशमा उल्लेख गरिएको छ।

साथै गोष्ठी, सेमिनार, समीक्षा, प्रशिक्षणजस्ता क्रियाकलाप सकेसम्म भर्चुअल माध्यमबाट सञ्चालन गर्नुपर्ने, सार्वजनिक यातायातका साधानमा कुल सिट क्षमताभन्दा बढी यात्रु नबोक्न, विकास–निर्माणका सामग्री ढुवानी जिल्लाभित्र साँझ ७ देखि बिहान ६ बजेसम्म तथा जिल्ला बाहिर राति ९ देखि बिहान ५ बजेसम्म मात्रै गर्ने आदेश जारी गरिएको छ। आदेश अवज्ञा गर्ने जो–कोहीलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८, संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार सजाय हुने जनाइएको छ।

केन्द्रका अनुसार पछिल्लो २४ घन्टामा जिल्लामा चारजनामा कोरोना संक्रमण देखिएको छ भने १७ संक्रमणमुक्त भएका छन्। जिल्लामा हालसम्म १४ हजार ६ सय७८ मा संक्रमण देखिएकामा एक सय ९२ को मृत्यु भएको छ । हालसम्मका कुल संक्रमितमध्ये ९८ प्रतिशत अर्थात् १४ हजार तीन सय ७९ संक्रमणमुक्त भइसकेका छन् । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो। रासस