मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ असोज २४ आइतबार ०६:२८:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

चितवन इपिएलको नयाँ च्याम्पियन

Read Time : > 2 मिनेट
२०७८ असोज २४ आइतबार ०६:२८:००

इपिएलमा चितवनसँग सामना गरेका तीनवटै खेलमा पोखरा पराजित भयो, लिग चरणमा र फाइनल प्रवेशको क्वालिफायरमा चितवनले पोखरालाई समान नौ विकेटले हराएको थियो 

चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल)को उपाधि भिडन्त एकपक्षीय नै रह्यो । यसपटक फाइनलमा पुगेका दुवै टोली चितवन टाइगर्स र पोखरा राइनोज पहिलोपटक फाइनलमा पुगेका हुन् । तर, फाइनलमा चितवनले एकपक्षीय रूपमा बाजी मार्दा पोखरा चार विकेटले पराजित भयो ।

चितवनले बलिङ, फिल्डिङ तथा ब्याटिङ पक्षका तीनवटै क्षेत्रमा पोखरालाई पछि पार्न सफल भयो । चितवन पहिलोपटक च्याम्पियन हुँदै ५० लाख रुपैयाँ हात पार्‍यो । पोखराले उपविजेताका रूपमा १५ लाख रुपैयाँ जित्यो । इपिएलमा पोखराले चितवनसँग सामना गरेको तीनवटै खेलमा पराजित भयो । लिग चरणमा र फाइनल प्रवेशको क्वालिफायरमा चितवनले पोखरालाई समान नौ विकेटले 
हराएको थियो । 

११२ रनको सामान्य लक्ष्य
पहिलो ब्याटिङ गरेको पोखराले सोचेको जस्तो योगफल खडा गर्न सकेन । चितवनको घातक बलिङ सामना गर्न नसक्दा पोखराका सबै ब्याट्सम्यान १७.५ ओभरमा १११ रनमै अलआउट भए । पोखराको बलियो ‘ब्याटिङ लाइन अप’ तहसनहस गर्ने क्रममा कमल ऐरीले घातक बलिङ गरेका थिए । उनले ३.५ ओभरमा २० रन खर्चेर सर्वाधिक चार विकेट लिए । प्रत्युत्तरमा चितवनले १५.५ ओभरमा ६ विकेटको नोक्सानीमा ११४ रन जोड्दै चौथो आइपिएलको च्याम्पियनसिप ट्रफी उचाल्यो । 

पोखरालाई भीम एक्लै भारी
लक्ष्य पछ्याएको चितवनको सुरुवात गतिलो भएन । नन्दन यादव र किशोर महतोले सुरुवाती तीन विकेट लिँदा चितवन २०–३ को दयनीय अवस्थामा थियो । पोखराले यसवेला लक्ष्य रक्षा गर्ने संकेत देखाएको थियो । चितवनका भरपर्दा ब्याट्सम्यान मोहमद सेहजाद (११), हरिम अन्सारी (०) र करिम जनत (०) रनमा आउट भएका थिए । तर, भीम सार्की र दिलीप नाथले चितवनलाई उकासे । दुवैले चौथो विकेटका लागि ५४ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई ११.१ ओभरमा ७४–४ को स्थितिमा राखे । भीमलाई गतिलो साथ दिइरहेका दिलीपले १४ रनको योगदान दिँदै आफ्नो विकेट महतोलाई दिए । 

अर्कोतिर, भीमले बिस्तारै आफ्नो इनिङ्स आक्रामक रूपमा अगाडि बढाइरहेका थिए । उनले पोखराका बलरले कमजोर बल फ्याँकेको अवस्थामा चौका वा छक्का रूपमा परिणत गर्दै चितवनलाई जिततर्फ अग्रसर गराए । राजेश पुलामीसँग उनले पाँचौँ विकेटका लागि २३ रनको साझेदारी गर्दै चितवनलाई ९७–५ को स्थितिमा पुर्‍याए । 

जितका लागि दुई रन मात्र आवश्यक रहँदा भीमले आफ्नो विकेट महतोलाई दिए । कट प्रयास गर्ने प्रयासमा उनी लोकेश बमबाट क्याच आउट भए । भीमले ४५ बलमा सात चौका र दुई छक्का प्रहार गरी सर्वाधिक ६३ रनको अर्धशतकीय योगदान दिए । लक्ष्य पछ्याएको इनिङ्समा भीम एक्लैले नै आधाभन्दा बढी रन जोडेका थिए । 

महतोले दिलाएको आशा
स्कोर बोर्डमा पोखराले चुनौतीपूर्ण योगफल खडा गर्न सकेको थिएन । यद्यपि, महतोले चितवनका मुख्य ब्याट्सम्यानका विकेट लिँदै पोखरालाई जितको आशा दिलाए । उनले ३.५ ओभरमा २७ रन खर्चेर चार विकेट लिए । चितवनको जितमा रन बटुलेका ब्याट्सम्यानहरू नै महतोको सिकार भए । करिम, सेहजाद दिलीप तथा भीम नै महतोको बलिङमा आउट भए । यसैगरी, नन्दनले चार ओभरमा २६ रन खर्चेर दुई विकेट लिए । पोखराका यी दुई बलरबाहेक अन्य बलरले विकेट लिन नसक्दा चितवनले बाजी मार्‍यो । 

५४ रनको अन्तरमा पाँच विकेट
पहिलो ब्याटिङ गरेको पोखराले सुरुवात उत्कृष्ट गर्‍यो । दक्षिण अफ्रिकी ब्याट्सम्यान रिचार्ड लेभीले १५ बलमा पाँच चौकाको सहयोगमा २६ रन बटुल्दा पोखराले ३.३ ओभरमा पहिलो विकेटका लागि ३७ रन जोडेको थियो । त्यसपछि ६ रन जोड्दा पोखरा ४३–३ को अवस्थामा पुग्यो । पोखराले ५९ रनमा चौथो विकेट गुमाएको थियो । पोखराले ६ विकेट केवल ५४ रनको अन्तरमा गुमाउँदा सिंगो टोली नै एक सय ११ रनमा समेटियो । यसबीच, असेला गुनरत्ने र कप्तान विनोद भण्डारीले पाँचौँ विकेटका लागि ३५ रन जोड्दै १३.१ ओभरमा टोलीलाई ९४–५ को स्थितिमा राखे । पोखराको ब्याट्सम्यान क्रिजमा आउने र जाने मात्र भइरह्यो । अन्तिमका पाँच ब्याट्सम्यानमध्ये दुईजना सामना गरेको पहिलो बलमै आउट भए । असेलाले २४ बलमा ३४ रन बनाउँदा तीन चौका र एक छक्का प्रहार गरे । भण्डारीले २६ बलमा २२ रन बटुले । चितवनका लागि बलिङमा ऐरीबाहेक करिमले दुई, सेकुगे प्रसन्नाले दुई, सागर ढकालले एक तथा कप्तान सोमपाल कामीले एक विकेट हात पारे । 

फाइनलमा दुवै विकेटकिपर घाइते
फाइनलमा एउटा संयोग देखियो । चितवन र पोखराका दुवै विकेटकिपर घाइते भए । पोखराले ब्याटिङ गरेको इनिङ्सको १३.२ ओभरमा बल क्याच लिने प्रयासमा चितवनका विकेटकिपर सेहजादको औँलामा चोट लाग्यो । मैदानमा केही समय उपचार गराए पनि उनले मैदान छाडे । उनको स्थानमा दिलीप नाथले विकेटकिपिङ गरे । 

सागर इपिएलको सर्वोत्कृष्ट
चौथो इपिएलको व्यक्तिगत उपाधितर्फ च्याम्पियन चितवनकै एकाधिकार रह्यो । चितवनका स्पिनर सागर ढकाल प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनेका छन् । चितवनलाई पहिलोपटक उपाधि दिलाउने क्रममा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । म्यान अफ दी सिरिज भएका सागरले बजाज पल्सर एनएस दुई सय सिसी मोटरसाइकल प्राप्त गरेका छन् । चितवनकै ब्याट्सम्यान भीम सार्की उदीयमान खेलाडी (इमर्जिङ प्लेयर) चुनिएका छन् । चितवनकै कमलसिंह ऐरीले डेर टु ड्रिम अवार्ड पाएका छन् । भीम र कमलले समान ५१ हजार रुपैयाँ जितेका छन् । सागरले प्रतियोगिताभरि सात खेलमा २६ ओभर बलिङ गर्दै १४ विकेट लिएका थिए । सागर लिगमा सर्वाधिक विकेट लिने बलर हुन् । चितवनकै बलर कमलले सात खेलमा १२ विकेट लिएका थिए । भीम सार्की प्रतियोगितामा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् । उनले सात खेलमा ६ इनिङ्समा एक सय ९६ रन जोडे ।