१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सञ्जित परियार काठमाडाैं
२०७८ असोज २३ शनिबार १०:०४:००
Read Time : > 1 मिनेट
मल्टिमिडिया प्रिन्ट संस्करण

महामारीबीच दसैँको रौनक (फोटो कथा)

Read Time : > 1 मिनेट
सञ्जित परियार काठमाडाैं
२०७८ असोज २३ शनिबार १०:०४:००

अघिल्लो वर्ष कोभिड–१९ का कारण सोचेजस्तो दसैँको रौनक देखिएन । यद्यपि, महामारीले चाडपर्वलाई छेकेन । मास्क लगाएर, भौतिक दूरी कायम गरेरै भए पनि नेपालीले चाडपर्व माने । यस वर्षचाहिँ अघिल्लो वर्षको तुलनामा कोभिडको त्रास अलिकति कम भएको छ । महामारी कम भएको यही मौकामा मानिसहरू चाड मान्न राजधानी छाडिरहेका छन् । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासका अनुसार बिहीबार साँझसम्म चार लाख १२ हजार मानिसले उपत्यका छाडे । उनी भन्छन्, ‘राजधानीका चारवटै नाका नागढुंगा, साँगा, तीनपिप्ले र फर्पिङबाट त्यति मानिसहरू बाहिरिएका हुन् ।’ राजधानीबाट बाहिरिने मात्रै होइन, भित्रिनेको पनि संख्या कम छैन । रोजगारी र विभिन्न सिलसिलामा बाहिर रहेका मानिसहरू उपत्यका भित्रिरहेका पनि छन् । प्रवक्ता दासका अनुसार बिहीबार साँझसम्म तीन लाख ८७ हजार मानिस उपत्यका भित्रिए ।

शुक्रबार नयाँ बसपार्क, कलंकीआसपास पुग्दा यात्रुहरू आफ्नो गन्तव्यका लागि बस कुरिरहेका थिए । सडकतिर जताततै झोला बोकेर हतार–हतार हिँडेका मानिसहरू मात्रै देखिन्थे । कोही बस कुरिरहेका थिए, कोही झोला बोकेर हतार–हतार बसपार्क आउँदै थिए । गाडी छुट्न लागेर हस्याङफस्याङ गर्दै बसपार्कमा आइपुगेका एकजना यात्रु भन्दै थिए, ‘बल्लबल्ल टिकट काटियो । यता झन्डै बस छुटेको ।’

यस्तो दृश्य केही महिनाअघि मात्रै उपत्यकामा देखिएको थियो । त्यो लकडाउनको वेला थियो । सरकारले दोस्रोपटक लकडाउन गर्दा मानिसहरू यसैगरी हतारहतार गाउँ फर्किरहेका थिए । तर, त्यसवेला र अहिलेको दृश्यमा भने धेरै फरक छ । त्यसवेला मानिसहरू त्रासैत्रास बोकेर सहर छाडिरहेका थिए । यसपटक भने थोरै कोभिडको त्रास, अनि थोरै उमंग बोकेर मानिसहरूले सहर छाडिरहेका छन् । अछाम पुग्न बस चढेका एकजना यात्रु हाँस्दै भन्दै थिए, ‘अलिअलि कोरोनाको डर पनि छ । दसैँमा घर जान पाइयो, रमाइलो पनि लागिराछ ।’