पहिलो महिला प्रहरीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

बिहिबार, २० असोज, २०७८
डिजिटल संस्करण
पहिलो महिला प्रहरीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

६६औँ प्रहरी दिवसको अवसरमा पहिलो महिला प्रहरी चैतमाया डंगोललाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा ।

पहिलो महिला प्रहरी चैतमाया डंगोललाई नेपाल प्रहरीले ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित गरेको छ । ६६औँ प्रहरी दिवसको अवसरमा बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई सो पुरस्कार प्रदान गरेका हुन् । 

यसअघि अवकाशप्राप्त उच्च प्रहरी अधिकारीले मात्र यस्तो अवार्ड पाउँदै आएका थिए । ००८ सालमा सिपाही पदमा भर्ना भएकी काठमाडौं चाबहिलकी डंगोलले असइबाट अवकाश पाएकी थिइन् । 

त्यस्तै, प्रहरीको प्रतिष्ठित पूर्ण शान्ति पुरस्कार डिएसपी धर्मराज भण्डारीलाई दिइएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत उनले ठूला अपराधको सफल अनुसन्धानमा मिहिनेत गरेको आधारमा सो पुरस्कार दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीको अर्काे महत्वपूर्ण पुरस्कार मानिने योगेन्द्र स्मृति पुरस्कार सइ सुमेश पाण्डेलाई दिइएको छ । 

यो वर्षको सर्वोत्कृष्ट अनुसन्धानकर्तातर्फको पुरस्कार प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङले पाएका छन् । संखुवासभाको मादीस्थित सामूहिक हत्याको सफल अनुसन्धान गरेबापत उनले सो पुरस्कार पाएका हुन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बुधबार आयोजित प्रहरी दिवसमा उनीहरूलाई पुरस्कार प्रदान गरे ।  उत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईं, प्रहरी निरीक्षक मणिराम थापा, प्रहरी नायव निरीक्षकद्वय सन्तोष थापा मगर र कृष्णराज सेढाईंलाई प्रदान गरिएको छ ।

प्रधानमन्त्री देउवालाई प्रमुख अतिथिका रूपमा बोलाएर प्रहरीले आफ्नो स्थापना दिवस मनाएको हो । देउवाले निष्पक्ष अनुसन्धान र कानुन कार्यान्वयन कानुनी राज्यका आधार भएको तथा निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिलाउने बताए । ‘कुनै पनि स्वार्थ तथा शक्तिबाट प्रभावित नभई निष्पक्ष अनुसन्धान कार्यमा नेपाल प्रहरीले सम्झौता गर्दैन भन्ने विश्वास लिएको छु,’ उनले भने । 

सुझावित समाचार