
विद्यार्थीलाई पढाउने होइन, भोक जगाउने हो । कसैले कसैलाई पढाउन सक्दैन, खाली उत्प्रेरित गर्न मात्र सक्छ ।
एउटा गायक गीत गाउन नपाउँदा उदास हुन्छ । खेलाडी खेल खेल्न नपाउँदा मुर्झाउँछ । लेखक लेख लेख्न नपाउँदा भड्किन्छ । कवि कविता सुनाउन नपाउँदा मुर्झाउँछ । नियमित पढ्ने पाठक एक दिन पाठ पढ्न नपाउँदा कुण्ठित हुन्छ । आफ्नो रुचिको काम गर्न नपाउँदा अधिकांश मानिस तड्पिने, छटपटाउने, बर्बराउने गर्दछन् । तर, विद्याको भोको हुनुपर्ने विद्यार्थी भने किन पढ्नुपर्दा मुर्मुरिन्छन्, भाग्न खोज्छन् ।
विद्यार्थीका निम्ति पढाइ, सिकाइ सबैभन्दा प्यारो र रुचिको विषय बन्नुपर्नेमा किन उल्टो भइरहेको छ । शिक्षक, अभिभावक, शैक्षिक संस्था सबैका लागि आमचासो, चिन्ता र चुनौतीको विषय बनेको छ । विद्यार्थीको पढाइप्रति घृणा उत्पन्न हुनुपछाडिका मनोवैज्ञानिक कारणहरू खोजी नगरीकन जबरजस्ती पढाउन खोज्नु निरर्थक लगानी र समयको बर्बादी मात्र हो ।
जबरजस्ती पढाउने पद्धति : हाम्रो शिक्षा पद्धति जबरजस्ती पढ्नैपर्छ भन्ने मान्यताको धरातलमा उभिएको छ , झांगिएको छ । विद्यार्थीले आफ्नो रुचि, इच्छा, सपनालाई एकातिर पन्छाएर जबरजस्ती पढ्नैपर्ने हुन्छ । बुझ्नुलाई होइन, घोक्नुलाई पढाइको संज्ञा दिइन्छ । अभिभावक, शिक्षक अनि शैक्षिक संस्थाको मानसिकता जसरी भए पनि पढाउनैपर्ने बनेको छ । हो, सानामा सबै विषयको ज्ञानको आवश्यकता पर्दछ ।
घरको खम्बा जति धेरै र प्राविधिक हुन्छ, घर त्यति नै राम्रो बलियो मानिन्छ । माथिल्ला कक्षामा रुचिको विषय चयन गर्ने अवसर हुन्छ । प्रारम्भिक कक्षाहरूमा सबै विषयको जानकारी आवश्यक मानिन्छ । सबै विषयको आधारभूत ज्ञान हुनु व्यावहारिक पनि छ । तथापि, त्यही कुरालाई प्रविधिका माध्यमबाट, प्रत्यक्ष अवलोकनबाट, खेल खेलाएर अनि नाटक देखाएर अध्ययन गराउने हो भने ज्ञानका साथै रुचिको विषय बन्न सक्छ । कक्षाकोठाभित्र रोपाइँका बारेमा वर्णन गरेर, बगैँचाको महत्व दर्साएर रटाउन त सकिएला, बुझाउन भने किमार्थ सकिँदैन । ‘खाए खा नखाए घिच्’ भन्दै ज्ञान कोच्याउने प्रवृत्तिका कारण विद्यार्थीमा पढाइप्रति धेरै निराशा उत्पन्न भएको कुरा अनुसन्धानले देखाएको छ ।
पाठ्यपुस्तक : पाठ्यवस्तु पाठ्यक्रमले तय गरेको उद्देश्यतिरको मार्गचित्र हो । पाठ्यवस्तु ज्ञानवद्र्धक भएर मात्र पुग्दैन, त्यो रुचिपूर्ण पनि हुनुपर्छ । साना बालबालिकाहरूलाई चित्र, रङ, अक्षरको आकार, भाषाशैली, रोचक कथाले बढी प्रभाव पार्दछ । माथिल्ला कक्षामा विषयवस्तुको रोचकता, समसामयिकता, भाषाशैली र प्रस्तुतिले विद्यार्थीको पढाइ–लेखाइप्रति ध्यानाकर्षणमा मद्दत गर्दछ । पाठ्यवस्तुलाई रुचिपूर्ण बनाउन शिक्षकको अहम् हात हुन्छ । कुशल शिक्षकले विषयवस्तुलाई विभिन्न सामग्री, सान्दर्भिक प्रसंग आदिका माध्यमबाट रोचकता मात्र थप्दैन, त्यसलाई जीवनोपयोगी रहेछ भन्ने बोध पनि गराउन सक्छन् । विद्यार्थीले मनोरञ्जनात्मक कि त जीवनबोध, दुई कुरा मात्र बुझ्दछ । निरस विषयमा जबरजस्ती रट्टा लगाएर परीक्षा पास गराउन त सकिएला, तर जीवनको परीक्षामा भने असफल हुने निश्चित छ । पाठले जीवनबोधको आभास नदिँदासम्म विद्यार्थीले त्यसलाई गहन रूपमा बुझ्ने र लिने अवस्था सिर्जना हुँदैन ।
पढ्ने वातावरण : पढाइ शान्त वातावरणमा सम्पन्न गरिने क्रियाकलाप हो । जहाँ शारीरिक र मानसिक रूपमा विद्यार्थी एकाकार हुन जरुरी छ । गुरुकुल शिक्षाको सार्थकता, महत्व र प्रभावकारिता यसैमा हुर्केको थियो । पढाइ एक किसिमको तप हो । त्यसका लागि शारीरिक, मानसिक, आहारविहार आदि पक्षको संयमको आवश्यकता पर्दछ । बनावटी र उत्तेजना प्रदान गर्ने खाना खाएर पढ्नु–पढाउनु किमार्थ लाभदायक बन्न सक्दैन । यसैको परिणामस्वरूप पाठ पढाएर सोध्दा पाठको उद्देश्य त के पाठको सामान्य प्रश्नको उत्तर दिन पनि असमर्थ हुन्छन् ।
पढाउने शैली : शैलीमा चुम्बकीय गुण हुन्छ । विद्यार्थीलाई पढाइ–लेखाइप्रति आकर्षित गर्न, उत्साहित तुल्याउन शैलीले महत्वपूर्ण भूमिका खेल्छ । लक्षित विषयमा ध्यान केन्द्रित गर्न शैली गतिलो हतियार हो । प्रभावकारी अध्ययनमा शैलीको भूमिका सर्वोपरि हुन्छ । शैलीको मिठासका कारण निरस विषयवस्तु पनि रुचिपूर्ण र स्वादिष्ट बन्छ । विद्यार्थीलाई अन्य विषयबाट पढाइमा केन्द्रीकृत गर्दै विषयवस्तुमा चुर्लुम्म डुबाउन शैली अत्यन्त प्रभावकारी साधन हो । चलचित्र र कतिपय सिरियलहरूलाई यसका उदाहरणका रूपमा लिन सकिन्छ । कथावस्तु र पात्रहरू काल्पनिक हुन् भन्ने जान्दाजान्दै पनि शैली र अभिनयका कारण हामी घन्टौँ त्यसमा हराउने मात्र होइन, अत्यन्त भावुक पनि बन्न पुग्दछौँ । ज्ञानगंगामा डुबुल्की मार्न शैलीले अहं भूमिका खेलेको हुन्छ । यसका लागि शिक्षार्थीअनुसारको भाषा, शब्द, समसामयिक प्रसंग आवश्यक पर्दछ । यसको प्रयोग शिक्षणप्रतिको निष्ठा, विषयवस्तुको तयारी, कलाकौशल र उत्साहमा निर्भर रहन्छ ।
अभिभावकको भूमिका : छोराछोरीलाई राम्रो स्कुलमा हाल्दैमा अभिभावकको सन्तानप्रतिको कर्तव्य पूरा हुँदैन । सन्तानमा अभिभावकका क्रियाकलापको गहिरो प्रभाव पर्छ । सन्तानलाई पढ भन्नुभन्दा पनि अब पढौँ भनी उनीहरूसँगै बस्ने हो भने सायदै पढ्न नबस्ने सन्तान कमै होलान् । अभिभावक विलासितामा सरिक भएको देख्दा सन्तान पढ्न सक्दैनन् । आफ्ना सन्तानको पढाइ–लेखाइप्रति अभिभावक चिन्तित त हुन्छन् । पढाइलाई थप मजबुत बनाउन ट्युसन टिचर व्यवस्था गरिन्छ । तर, उनीहरूलाई दिनैपर्ने गुणस्तरीय समय भने दिन सकिरहेका हुँदैनन् । गाली गर्ने, अरूका छोराछोरीसँग तुलना गर्नेभन्दा उनीहरूलाई अभिभावकको आत्मीय माया, न्यानो स्पर्श, सहृदयी प्रोत्साहनको आवश्यकता हुन्छ । तर, आत्मीयता, प्रोत्साहन, मायाको आवश्यकताका ठाउँमा थप कक्षा, अतिरिक्त शिक्षकको व्यवस्था अनि गालीले समस्याको समाधान गर्न सक्दैन, बरु उल्टै वितृष्णा थपिँदै जान्छ । विद्यार्थीलाई पढाउने होइन, भोक जगाउने हो । कसैले कसैलाई पढाउन सक्दैन । पढ्न–लेख्नका लागि उत्प्रेरित गर्न मात्र सकिन्छ । प्रत्यक्ष उत्प्रेरकमा वातावरण, शिक्षक, विद्यालय अनि अभिभावकको गहन हात हुन्छ । त्यसैले बालबालिकाले किन पढेनन् भन्नुभन्दा पनि कुन पक्षका कमजोरीका कारण पढाइ–लेखाइ कमजोर भइरहेको छ भनी मनोवैज्ञानिक अध्ययन गर्नु आजको आवश्यकता हो । (लेखक शिक्षण पेसामा कार्यरत छन्)