मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १८ सोमबार ०८:२१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एक महिनामा भित्रिए १० हजार विदेशी पर्यटक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १८ सोमबार ०८:२१:००

कोभिड महामारी कम हुँदै गएपछि नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या पनि बढ्न थालेको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२१ को सेप्टेम्बरमा विभिन्न मुलुकबाट नौ हजार आठ सय ९८ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

कोभिडको पहिलो लहर मत्थर भएसँगै सन् २०२१ को सुरुवातदेखि नै विदेशी पर्यटक आगमन बढिरहेको थियो । तर, वैशाखदेखि दोस्रो लहर फैलिन थालेपछि पर्यटक आगमनमा पुनः ब्रेक लागेको थियो । कोभिडका कारण मे, जुन, जुलाई र अगस्टसम्म सुस्ताएको पर्यटक आगमन सेप्टेम्बरदेखि बढ्न थालेको तथ्यांकले देखाउँछ । बोर्डका अनुसार मे महिनामा एक हजार चार सय ६८, जुनमा एक हजार एक सय ४३, जुलाईमा दुई हजार नौ सय ९१ र अगस्टमा पाँच हजार नौ सय १७ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

 कुन देशबाट कति ?
सेप्टेम्बर महिनामा इन्डियाबाट तीन हजार पाँच सय २३, चीनबाट दुई सय ३३, साउथ कोरियाबाट एक सय २१, फ्रान्सबाट दुई सय ३५, जर्मनीबाट दुई सय २५, युकेबाट चार सय ३८ र युएसएबाट एक हजार आठ सय ६४ पर्यटक नेपाल भित्रिएका छन् । पर्यटन बोर्डका अनुसार सेप्टेम्बरमा भित्रिएका कुल पर्यटकमध्ये साउथ एसियाली मुलुकबाट तीन हजार सात सय ३४, अन्य एसियाली मुलुकबाट पाँच सय ८५, युरोपेली मुलुकबाट एक हजार सात सय ३३, ओसियाना मुलुकबाट ८१ र अमेरिकी मुलुकबाट दुई हजार एक सय २५ रहेका छन् । 

कोभिड सुरु हुनुअघि सन् २०१९ को सेप्टेम्बरमा ९२ हजार ६ सय चार नेपाल भ्रमणमा आएका थिए । कोभिड सुरु भएपछि सन् २०२० को सेप्टेम्बरमा पाँच सय ८४ पर्यटक मात्र आएको देखिन्छ । यो वर्षको सेप्टेम्बरदेखि पुनः पर्यटक आगमन बढ्न थालेको बोर्डको तथ्यांकले देखाउँछ । नेपाली पर्यटन क्षेत्र फेरि पुरानै लयमा फर्किन अझै दुई–तीन वर्षभन्दा बढी समय लाग्ने आकलन पर्यटन क्षेत्रको छ । 

सन् २०२१ को जनवरीदेखि नै पर्यटक बढ्न सुरु भएकोमा दोस्रो लहर फैलिन थालेपछि सुस्ताएको थियो । सरकारले वैशाख १६ देखि असारसम्म निषेधाज्ञा जारी गरेको थियो भने नियमित हुने अन्तर्राष्ट्रिय उडानहरू सबै बन्द थिए ।

 खोपले बढायो आत्मविश्वास
विश्वभरि नै कोभिडविरुद्धको खोपको मात्रा पूरा गर्ने नागरिकको संख्या बढ्दै गएपछि सरकारले अनअराइभल भिसा खुला गरिसकेको छ । कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेका विदेशी नागरिकले नेपाल घुम्नका लागि अनअराइभल भिसा पाउने मात्र होइन कि क्वारेन्टिन पनि बस्नुपर्दैन । तर, अझै पनि चीनसँगको नियमित हवाई सम्पर्क खुला भइसकेको छैन भने नाकामा पनि कडाइ जारी छ । नेपाल भ्रमणमा आउने पर्यटकमध्ये सबैभन्दा बढी भारतीय हुन्छन् भने दोस्रोमा चिनियाँ हुन्छन् । 

नेपालमा पनि पर्यटन क्षेत्रमा अग्रपंक्तिमा खटिले अधिकांश मजदुरहरूले कोरोना खोप लगाइसकेको पर्यटन व्यवसायीले बताउँदै आइरहेका छन् । बिस्तारै विदेशी पर्यटकको आगमन बढ्दै जाने पर्यटन बोर्डको विश्वास छ । आन्तरिक पर्यटन भने लयमा फर्किन थालिसकेको छ । काठमाडौं उपत्यकाबाहिरका अधिकांश पर्यटकीय गन्तव्यहरू नेपाली घुमन्तेले भरिभराउ हुन थालिसकेका छन् ।