१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १२ मंगलबार
  • Friday, 05 July, 2024
किरण दहाल काठमाडौं
२o७८ असोज १२ मंगलबार o९:o४:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

दशबुँदेका विवाद मिलाउन एमालेले बनायो कार्यदल

Read Time : > 2 मिनेट
किरण दहाल, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १२ मंगलबार o९:o४:oo

चार महिना लामो विवाद मिलाउन बनेको दशबुँदे सहमति कार्यान्वयनमा पनि समस्या देखिएपछि एमालेले कार्यदल नै बनाएको छ । दशबुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि उपाध्यक्ष भीम रावल नेतृत्वमा कार्यदल बनाएको हो । स्थायी कमिटीको सोमबार बसेको बैठकले रावलको नेतृत्वमा ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल र लेखराज भट्ट भएको कार्यदललाई सक्रिय बनाएको हो ।

प्रचार विभाग प्रमुख योगेश भट्टराईले शंकर पोखरेललाई समावेश गरेर पुरानै कार्यदललाई दशबुँदे कार्यान्वयनमा देखिएको समस्या समाधान गर्न जिम्मेवारी तोकिएको बताए । ‘विगतमा बनेको ६ सदस्यीय कार्यदल (पार्टीका जिल्ला कमिटी, प्रदेश कमिटी, तहगत कमिटीहरू, विभागहरूलाई समायोजन गर्न बनेका कार्यदल) लाई नै अध्यक्षले थप जिम्मेवारी दिनुभएको छ’, भट्टराईले भने, ‘अध्यक्ष केपी ओलीले कार्यदललाई जहाँ–जहाँ समस्या देखिएका छन्, त्यो हल गर्नुस् भन्नुभएको छ ।’ 

कार्यदल सदस्य पाण्डेले दशबुँदे कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न आफ्नो टिओआरअनुसार कार्यदलले काम गर्ने बताए । ‘कार्यदलले आफ्नै टिओआरअनुसार काम गर्छ । पहिलो २ जेठ ०७५ लागू नभएका केही जिल्ला वा क्षेत्र छन्, त्यहाँको समस्या समाधान गर्ने हो । दश प्रतिशत मनोनयन पनि हाम्रो टिओआरमा छ । विभागलाई पूर्णता दिने भन्ने पनि छ,’ पाण्डेले भने । उनका अनुसार कार्यदलको मंगलबार बैठक बस्दै छ । ‘कहाँ कस्ता समस्या छन्, जनसंगठनमा कस्तो समस्या छ, पार्टीमा के छ, कुन–कुन जिल्लामा के गर्न बाँकी छ, यी सबै विषयमाथि कार्यदलले काम गर्छ,’ उनले भने, ‘कार्यदलको बैठक आज (मंगलबार) नै बस्दै छ ।’

योगेश भट्टराई, प्रमुख, प्रचार विभाग

विगतमा बनेको ६ सदस्यीय कार्यदल (पार्टीका जिल्ला कमिटी, प्रदेश कमिटी, तहगत कमिटीहरू, विभागहरूलाई समायोजन गर्न बनेका कार्यदल) लाई नै अध्यक्ष केपी ओलीले थप जिम्मेवारी दिनुभएको छ । अध्यक्षले कार्यदललाई जहाँ–जहाँ समस्या देखिएका छन्, त्यो हल गर्नुस् भन्नुभएको छ ।
 

प्रचार विभाग प्रमुख भट्टराईले कार्यदलले दशबुँदे सहमति जहाँ–जहाँ कार्यान्वयन भएको छैन, त्यहाँ सहजीकरण गर्ने बताए । ‘दशबुँदे कार्यान्वयनका निम्ति कार्यदलले सहजीकरण गर्छ, यो कार्यान्वयन हुँदै जान्छ,’ उनले भने । एमाले विधान महाधिवेशनको पूर्वसन्ध्यामा दशबुँदे कार्यान्वयन नभएको भन्दै केन्द्रीय कमिटीमा पनि रावललगायतका नेताहरूले आपत्ति जनाएका थिए । बैठकमा प्रस्तावित तीन प्रतिवेदनमाथि छलफल हुँदा पनि केन्द्रीय सदस्यहरूले सहमति कार्यान्वयनमा जोड दिएका थिए । 

पूर्वमाओवादीलाई पनि समेटेर रचनात्मक ढंगले दशबुँदेको कार्यान्वयन गर्ने सहमति भएको भट्टराईको भनाइ छ । उनले भने, ‘पूर्वएमालेभित्र देखिएको कतिपय समूह बन्दीको अवस्था अन्त्य गर्दै सबै साथीहरूलाई एमालेमा गोलबन्द गर्ने, एकताको प्रक्रियामा पूर्वमाओवादीबाट आउनुभएका साथीहरूको पनि मानसम्मान ढंगले सम्बोधन गर्ने भनेका छौँ,’ भट्टराईले भने, ‘त्यसो गर्दा दशबुँदे रचनात्मक ढंगले कार्यान्वयन हुन्छ भन्ने बैठकको निष्कर्ष छ ।’ दशबुँदे सहमति कार्यान्वयनको प्रक्रियामै रहेको भट्टराईले बताए । 

आफ्नो प्रतिवेदनमाथि केन्द्रीय कमिटी बैठकमा उठेका प्रश्नको आइतबार जवाफ दिँदै अध्यक्ष ओलीले पूर्वमाओवादी समूहका र सहमतिका पक्षघर दुवैतर्फका नेताहरूको सम्मान हुने गरी अगाडि बढ्ने बताएका थिए । बैठकमा उपाध्यक्ष रावलसहितका केन्द्रीय सदस्यले दशबुँदे सहमति जस्ताको त्यस्तै कार्यान्वयन हुनुपर्ने माग राखेकै वेला ओलीले मध्यमार्गी विकल्पमार्फत कार्यान्वयन गरिने स्पष्ट गरेका थिए ।

विधान महाधिवेशनमा पाँच हजार प्रतिनिधि 
सर्वोच्च अदालतले २३ फागुनमा एमाले र माओवादीबीचको एकता बदर गरिदिएपछि एमालेमा विवाद सुरु भएको थियो । विवाद बढ्दै गएपछि २७ असारमा माधव नेपाल समूहका नेता र एमाले संस्थापनपक्षबीच दशबुँदे सहमति भएको थियो । तर, उक्त सहमति अपुरो रहेको भन्दै नेपालले भिन्नै पार्टी बनाएका थिए । सहमतिअनुसार मूल पार्टीमै बसेका नेताहरूले सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि राख्दै आएका छन् । उनीहरूको यही असन्तुष्टि सम्बोधन गर्न कार्यदल बनेको हो ।

१५ देखि १७ असोजसम्म एमालेको विधान महाधिवेशन हुँदै छ । महाधिवेशनमा अध्यक्ष ओलीको राजनीतिक र महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन तथा र उपमहासचिव विष्णु पौडेलको विधान संशोधनसम्बन्धी प्रस्ताव पेस हुँदै छ । तीनवटै प्रस्तावमाथि केही नेताहरूका बुँदागत असन्तुष्टि छन् । प्रचार विभाग प्रमुख भट्टराईले विधान महाधिवेशनमा पाँच हजारको संख्यामा प्रतिनिधि सहभागी हुने बताए ।

ad
ad
ad
ad