मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असोज ११ सोमबार ०६:०९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

शतप्रतिशत बढ्यो निर्यात

कुल निर्यातमा भटमास तेलको हिस्सा मात्रै ३७ प्रतिशत, दुई महिनामै पौने तीन खर्बको व्यापार घाटा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असोज ११ सोमबार ०६:०९:००

चालू आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले ४४ अर्ब तीन करोड रुपैयाँबराबरको निर्यात गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा एक सय १५ प्रतिशतले बढी हो । सो अवधिमा भटमासको तेलको निर्यात तेब्बरले बढ्दा कुल निर्यातले उत्साहप्रद वृद्धि हासिल गरेको हो ।

कुल निर्यातको ३७.४३ प्रतिशत हिस्सा भटमासको तेलले ओगटेको छ । दुई महिनामा १६ अर्ब ४८ करोड रुपैयाँबराबरको निर्यात भएको छ । जुन अघिल्लो आवको दुई महिनाको तुलनामा झन्डै तीन गुणाले बढी हो । गत आव ०७७/७८ को पहिलो दुई महिनामा नेपालबाट पाँच अर्ब ४७ करोड रुपैयाँको भटमासको तेल निर्यात भएको थियो । पछिल्लो समय नेपालबाट भटमासको तेलको निर्यात उच्चदरमा बढिरहेको छ । गत आवमा मात्रै नेपालबाट ५३ अर्ब ६५ करोडको भटमासको तेल निर्यात भएको सरकारी तथ्यांक छ ।

 व्यापारका सबै सूचक उत्साहप्रद
अन्तर्राष्ट्रिय व्यापारका सबै सूचक उत्साहप्रद देखिएका छन् । निर्यातमा शतप्रतिशत वृद्धि भए पनि आयात उच्चदरमा बढ्दा व्यापार घाटासमेत ह्वात्तै बढेको छ । भदौसम्ममा नेपालले तीन खर्ब १४ अर्बको आयात गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७५.८६ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो महिनासम्ममा नेपालले एक खर्ब ७८ अर्ब रुपैयाँको आयात गरेको थियो । 

 व्यापार घाटा ७० प्रतिशतले बढ्यो
यो दुई महिनामा नेपालको कुल व्यापार ७९.९२ प्रतिशतले बढेर तीन खर्ब ५८ अर्ब पुगेको छ । कुल व्यापारमा आयातको हिस्सा ८७.७२ प्रतिशत र निर्यातको हिस्सा १२.२८ प्रतिशत रहेको छ । दुई महिनाको व्यापारमा नेपालले दुई खर्ब ७० अर्ब व्यापार घाटा व्यहोरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७०.७५ प्रतिशतले बढी हो । अन्तर्राष्ट्रिय व्यापारका सबै सूचक उच्चदरमा बढेका छन् । निर्यात, आयात र कुल व्यापारसँगै व्यापार घाटासमेत उच्चदरमा बढेको हो ।