टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ ९ आइतबार
  • Sunday, 23 January, 2022
गणेश लम्साल बिराटनगर
२०७८ असोज १० आइतबार १२:१३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको अन्तिम सुनुवाइ आजदेखि सुरु   

Read Time : > 1 मिनेट
गणेश लम्साल, बिराटनगर
२०७८ असोज १० आइतबार १२:१३:००

३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लाबारी नगरपालिका– ७ का युवा सनम शाक्य हत्या आरोप मुद्दाको अन्तिम सुनुवाइ आज आइतबारदेखि सुरु भएको छ। तस्करी मार्ग भएर अवैध रूपमा नेपाल भित्रिएको साढे ३३ केजी सुन खोज्ने क्रममा १८ फागुन ०७४ मा सनम शाक्यको हत्या भएपछि  मोरङ प्रहरीले अनुसन्धान गरी पहिलोपटक १९ वैशाख ०७५ मा त्यसपछि थप तीनपटक मोरङ जिल्ला अदालतमा जम्मा ७७ जनाविरुद्ध दर्ता गराएको मुद्दाको आइतबारदेखि अन्तिम सुनुवाइ सुरु भएको हो।  

सरकारी वकिलको कार्यालय मोरङका अनुसार देशकै चर्चित उक्त संगठित सुन तस्करी र मानव अपहरण तथा शरीर बन्धक र हत्या आरोपको मुद्दाको अन्तिम सुनुवाइमा सरकारको तर्फबाट सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता मनीषबाबु पोखरेल र तेजबहादुर सिँजाली मगरलगायतले अन्तिम बहस गर्दै छन्।  नेपाल सरकार वादी रहेको उक्त मुद्दामा सरकारी वकिलको बहस सकिएपछि प्रतिवादीतर्फका अलग–अलग कानुन व्यवसायीले बहस गर्नेछन्।  

मोरङ प्रहरीले सुरुमा मुख्य योजनाकार गोरे भन्ने चूडामणि उप्रेतीसहित पहिलोपटक ६३ जना, दोस्रोपटक र त्यसपछि थप तीनपटक गरेर जम्मा ७७ जनाविरुद्ध संगठित सुनतस्करी र सनम शाक्य हत्या आरोपमा मुद्दा दर्ता गराएको थियो। हालसम्म जम्मा आरोपीमध्ये ५५ जना अदालतमा हाजिर भए पनि २२ जना अझै फरार छन्।   

तत्काल पुर्पक्षका लागि थुनामा पठाइएका अभियुक्तहरू पूर्व डिआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी, सइ बालकृष्ण सञ्जेल सादा तारेखमा र रामकुमार तिवारी, प्रभात अग्रवाल, विमल पोद्दार,राजेन्द्रकुमार शाक्य, राजकुमार दारुका, मदनप्रसाद घिमिरे, शैयत अक्बर र इम्तियाजलगायत उच्च अदालतबाट  धरौटीमा छाडिएका थिए।   

यसरी भएको थियो घटना
०७४ मंसिरमा थाई एयरलाइन्सबाट आएको साढे ३३ केजी सुन गायब भएको थियो।  सोही सुन खोजी गर्ने क्रममा १८ फागुन ०७४ मा सुन तस्करीका नाइके चूडामणि उप्रेती (गोरे)का सहयोगी मोरङ उर्लाबारी नगरपालिका– ७ का युवा सनम शाक्यको  हत्या भएको  थियो।  उनको शव १९ फागुनमा  स्कार्पियो जिपभित्र विराटनगर– १ पोखरियामा फेला परेको थियो।  घटनास्थलबाट तत्काल टेकराज मल्ल ठकुरी, मोहन काफ्ले र कृष्ण कार्की पक्राउ परेका थिए। 

उक्त हत्यापछि सरकारले उच्चस्तरीय छानबिन टोली गठन गरेर सुन तस्करीको छानबिन गरेको थियो।  छानबिन समितिको  प्रतिवेदनको आधारमा नेपाल प्रहरीले विभिन्न चरणमा सरकारी वकिलको कार्यालय मोरङमार्फत जिल्ला अदालत मोरङमा आपराधिक समूह स्थापना गरी सुन चोरी पैठारी निकासी गरी अवैध कारोबार गरेको र मानव अपहरण गरी हत्या गरेको आरोपमा ७७ जनाविरुद्ध अभियोग दर्ता गराएको थियो।  

सबै अभियुक्तहरूउपर २०१५ जुलाईदेखि २०१६ अगस्टसम्म  संगठित आपराधिक सञ्जाल बनाएर १७ अर्ब १ करोड ८० लाख ७१ हजार चार सय ७३ रुपैयाँबराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्रामबराबर सुन तस्करी गरेको र सनम शाक्यको अपहरण गरी हत्या गरेको  अभियोगको माग दाबी थियो।  उक्त्त मुद्दामा पूर्वडिआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी, सइ बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार  विष्णुबहादुर खड्का र अम्मरबहादुर खड्काविरुद्ध पनि आरोप लागेको थियो।