मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज ६ बुधबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ६ बुधबार १४:१४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल–चीन सीमा अध्ययनमा पुगेको सरकारी टोली फर्कियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ६ बुधबार १४:१४:oo

हुम्लाको उत्तरी क्षेत्रमा पर्ने चीन–नेपाल सीमामा पिल्लरको अध्ययन गर्न पुगेको सरकारी टोली मंगलबार काठमाडौं फर्किएको छ। टोलीले १५ वटामध्ये १२  वटा पिल्लर क्षेत्रको मात्रै अध्ययन गरी फर्किएको हो। चीनले नेपाली भूभाग ओगटेरे हुम्लाको उत्तरी क्षेत्रमा बनाइएको भनिएका संरचनाको स्थलगत अध्ययन गर्न सरकारी टोली भदौ २७ गते सिमिकोटबाट लिमी र लाप्चातर्फ प्रस्थान गरेको थियो। टोलीमा सातजना सहभागी थिए। उनीहरू भदौ २६ गते काठमाडौंबाट हिँडेका थिए। १७ गते बिहानै लिमी र लाप्चामा चीनसँग जोडिएका १५ वटा सीमास्तम्भको अध्ययन गर्न पुगेको टोलीले १० दिन सीमा क्षेत्रमा बिताएको छ। त्यसमध्ये  १३ वटा सीमास्तम्भको अध्ययन भएको छ। 

हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले धेरैजसो क्षेत्रको अध्ययन भएको बताए। उनले भने, ‘चीन केही सीमास्तम्भ पनि सारेको वा हराएको भन्ने सुनिएको थियो, टोलीले त्यसको खास अध्ययन गरेर फर्किएको छ, मौसमले असहज भएकोले केही क्षेत्रमा पुग्न सक्ने अवस्था भएन।’ 
टोलीले सीमास्तम्भ तथा वस्तुस्थितिको अध्ययन गरेको थियो। अध्ययन टोलीमा गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्य, नापी विभागका उपमहानिर्देशक सुशील डंगाेल,  नेपाल प्रहरीका एसएसपी उमेशराज जोशी, सशस्त्र प्रहरीका प्रदीपकुमार पाल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशन किशोर श्रेष्ठ र दुईजना कनिष्ठ कर्मचारी सहभागी थिए। 

१५ दिनसम्म अध्ययन गर्ने भनेर समयसीमा तोकेर हिँडेको टोली १० दिनमै फर्किएको छ। मौसम र वातावरणीय प्रतिकूलताका कारण तीनवटा पिल्लरको अध्ययन गर्न नसकिएको टोलीले बताएको छ। ‘अन्य ठाउँमा राम्रोसँग अध्ययन भयो, मौसम ठीक नभएका कारण तीनवटा पिल्लर क्षेत्रमा पुग्न सकिएन, अन्य पिल्लर क्षेत्रमो भने राम्ररी नै अध्ययन भयो,’ अध्ययन टोलीमा सहभागी एक अधिकारीले भने, ‘१० दिनसम्म टेलिफोनले समेत काम नगर्ने क्षेत्रमा पुगेर सम्पर्कविहीनजस्तै बनेर अध्ययन गर्‍याैँ ।’ उनले अध्ययनको प्रतिवेदन गृहमा बुझाउने गृहबाटै प्रतिवेदन सार्वजनिक हुने बताए। 

एक वर्षअघि लिमी र लाप्चा क्षेत्रमा चीनले संरचना निर्माण गरेको थियो। लिमिको लोलुङजोङमा बनाइएको एउटा भवन नेपाली भूमिमै पर्ने भन्दै विरोध हुँदै आएको थियो। गत भदौ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले नाम्खा गाउँपालिका– ६ लाम्चा र लिमी आसपास क्षेत्रमा रहेको नेपाली भूभागको स्थलगत अध्ययन गर्न समिति गठन गरेको थियो।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अध्ययन टोलीले गरेको अध्ययन प्रतिवेदन गृह मन्त्रालयमा आइनपुगेको जानकारी दिए। ‘उहाँहरू हिजो फर्कनुभएको छ, प्रतिवेदन अझै गृहलाई बुझाउनुभएको छैन,’ उनले भने। 

अध्ययन टोली पुगेर फर्किएको लाप्चा र लिमी हुम्ला सदरमुकाम सिमिकोटदेखि करिब एक सय किलोमिटर टाढा पर्छ। पहाडी र ढुंग्यान क्षेत्र भएकोले त्यस क्षेत्रमा पुग्न हिँडेर पाँच दिन लाग्छ। अध्ययन टोली गाडी र पैदल यात्रा गर्दै लिमी र लाप्चामा पुगेको थियो। टोलीलाई सुरक्षा प्रदान गर्न नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका सुरक्षाकर्मी पनिसँगै पुगेको थियो। 
निकै विकट छ लिमी र लाप्चा 
सरकारी टोली अध्ययन गर्न पुगेको लाप्चा र लिमी क्षेत्र निकै विकट मानिन्छ। त्यस क्षेत्र प्रस्थान गर्न सिमिकोटदेखि उत्तरी उकालो चढ्नुपर्छ। त्यहाँ टेलिफोनले काम गर्दैन। कैयौँ लेकहरू काटेर त्यहाँ पुग्न सकिन्छ। चट्टान र पहाडैपहाड फोडेर त्यस क्षेत्रमा पुग्ने सडक बनाइएको छ।