यार्सागुम्बा हजारौँ वर्षसम्म चिनियाँ औषधिका रूपमा प्रयोग हुँदै आएको छ । विशेषगरी पुरूषमा यौन क्षमता वृद्धि गर्ने बहुमूल्य ‘फंगस’ वा एक प्रकारको च्याउ वा झार भनेर यसलाई धेरैले चिन्छन् । यार्सागुम्बाले आफ्नो जीवनचक्र पूरा गर्न ५–६ वर्ष लगाउँछ र यो झरीको मौसममा बढ्छ । उच्च हिमाली भेकमा मात्रै पाइने यो वनस्पति परजीवी हो । यसका मसिना स्पोर वा कण भुइँका झुसिलकीरामा पर्छन् । अनि त्यही झुसिलकीराका पौष्टिक तत्व खाँदै त्यसैमा बढ्छ । अन्ततः झुसिलकीरा रित्तिन्छ र मर्छ । मृतक झुसिलकीराको टाउको छेडेर यार्सागुम्बा टुसाउँछ । वयस्क अवस्थामा टिप्दा खोक्रो बनेको मृतक झुसिलकीरा यार्सागुम्बाको जराजस्तो देखिन्छ ।
हामी उत्पीडित पनि निरन्तर ब्राह्मणवादी समाजरूपी यार्सागुम्बाका झुसिलकीरा बन्दै आएका छौँ । लाज छोप्ने कपडा सिउँछौँ हामी । राष्ट्रको झन्डा, शिरको टोपी हाम्रै सीप हुन् । खेतबारी आवादी गर्ने हलो, कोदालो अनि दैनिक चाहिने भाँडाकुँडा बनाउने नि हामी, मर्मत गर्ने पनि हामी । गोडाको जुत्ता हाम्रै कला । तराईतिर सिनो उठाएर गाउँ–सहर सफा राख्ने पनि हामी । काठमाडौंका सडक गल्ली बढारेर सिनित्त पार्ने पनि हामी । सबै कुरामा हाम्रै मिहिनेत र सीप नभई घर नचल्ने, संस्कार सम्पन्न नहुने, समाज अघि नबढ्ने । अनि सारा सेवा गरेबापत समाजले हामीलाई नै होच्याउने, गिज्याउने, थुक्ने, पिट्ने र मार्ने !
हामी अवर्णका रूपमा परिभाषित छौँ, अछुत कहलिएका छौँ । तैपनि आफूलाई हिन्दू ठान्छौँ । बाहिरैबाट भए पनि तिनै देवीदेउता पुज्छौँ । सांस्कृतिक रूपमा दास बनेका छौँ, कुकुरभन्दा तल्लो, अशुद्ध, अपवित्र बनाइएका छौँ । तैपनि त्यही संस्कृतिमा टाँसिएर, झुन्डिएर बसिरहेका छौँ । हाम्रो आत्मसम्मान, आत्मविश्वास सबै यो समाजले, यो राज्यले, हाम्रो संस्कारले, यहाँको राजनीतिले चुसिसकेको छ । यार्सागुम्बाले झुसिलकीराको जीवनरस चुसेझैँ । हामी बाँचेर पनि मरेतुल्य छौँ । तैपनि, हामी आफूलाई यही समाजको, यही सभ्यताको, यही धर्मसंस्कारको हिस्सेदार ठान्छौँ । जति घृणा र अपमान सहेर पनि यही राष्ट्रको माया गर्छौँ । तर, दिनदिनै आफू खोक्रिएको, आफू बोक्रिएको, आफू सिद्धिएको पत्तै पाउँदैनौँ । आखिर झुसिलकीरा न प¥यौँ !
चेतना उघार्ने, समाज रूपान्तरण गर्ने, परम्परागत विभेद र अत्याचार समाप्त गर्ने माध्यम भनेकै राजनीति हो । तर दुर्भाग्य, राजनीतिमा पनि उही यार्सागुम्बाले सिध्याएको झुसिलकीराजस्तै बनेका छौँ हामी ब्राह्मणवादी नेता र नीतिका कारण । विगत दशकहरूमा कथित उच्च जातको नेतृत्वमा भूमिगत संगठन बने । विचार सर्वत्र छर्किए । कसैले समाजवाद भने, कसैले माक्र्सवादको मन्त्र जपे, कसैले माओवादमा जोड दिए । राज्यसँग लड्दा ती उच्च जातीय नेता लुक्दै भाग्दै हाम्रै घरदैलोमा आइपुगे । हाम्रै ज्यालामजदुरी गरी कमाएको मानो खाए । हाम्रै थाङ्नामा रात बिताए ।
अभियानमा हाम्रै बाले सिएको झन्डा फहराए । हाम्रै आरनमा बनेका हँसिया, खुकुरी, भरुवा बन्दुक प्रयोग गरे । मुक्तिको सुन्दर सपना देखाएर हाम्रै भाइछोरालाई घोडा बनाए– मर्न र मार्न उक्साए । हाम्रो रगतपसिनाको सिञ्चनले शनैशनै आन्दोलनको बाली फस्टायो । क्रान्तिको ज्वारभाटा उठ्यो । विद्रोेही तागत थेग्न सकेन, सत्ता पल्टियो । जनता मात्र होइन, राजालाईसमेत बन्दी बनाउने कठोर राणाशासन ढल्यो, पञ्चायती सत्ता गयो । अन्ततः २५० वर्षे हिन्दू राजतन्त्र पनि समाप्त भयो । हाम्रो देशको लोकतान्त्रिक छलाङ देखेर सायद विश्व नै चकित पर्छ होला । संविधान र कानुनमा सवै वर्ग, लिंग, जाति, क्षेत्र समान देखेर यो देश सबैका लागि भूस्वर्ग देखिन्छ होला परबाट ।
तर, जति छलाङ मारे पनि दीनदुःखीको जीउमा घाम लागेको छैन । देशका ६० लाख नागरिक अझै अनागरिक नै छन् । तराईका धेरै दलितको नागरिकता छैन, जग्गाजमिन पनि छैन । देशैभरि जातीय विभेद व्याप्त छ । छुवाछूत प्रथाले दिनदिनै पिरोलेको छ, मानसिक र शारीरिक हिंसा गरेको छ । प्रेम गर्दा मारिनुपर्छ, धारोपँधेरो र चुलो छुँदा अघोर अपराध हुन्छ । राजधानीमा, सिंहदरबारवरपरसमेत जातकै कारण डेरा पाउन गाह्रो छ । हामी पस्दा घरका कुलकुलाइन रिसाउँछन्, पितृले पिर्छन् भन्ने घरबेटीलाई डर छ । समग्रमा, जति राजनीतिक र कानुनी रूपान्तरण भए पनि हामीमाथिको परम्परागत अपमान, घृणा र हिंसा धेरै हदसम्म कायमै छ ।
हिजो मुक्तिको सपना देखाएर हामीलाई उफार्ने नेताहरू आज आफैँ शासक छन् । तर, उनीहरू नयाँ संविधान र कानुन कार्यान्वयन गर्दैनन् । हिजो धर्म अफिम हो भनेर हामीलाई घोकाउने नेताहरू आफैँ जनै लाउँछन्, ग्रहशान्ति गर्छन् । सँगै चिउरा र चाउचाउ चपाउँदै भूमिगत जीवन बिताएका कामरेडहरू हामीलाई घरभित्र लैजाँदैनन् । उल्टो, सत्ता र शक्तिको आडमा जातीय अपमान र हिंसा गर्ने अपराधीको संरक्षण गर्छन् !
यस्तो किन भइरहेछ ? यसको गम्भीर विश्लेषण र चिन्तन हुनैपर्छ उत्पीडितको दृष्टिकोणबाट । ब्राजिलियन लेखक पाउलो फ्रेरिले आफ्नो विश्वविख्यात पुस्तक ‘पेडागोजी अफ द अप्रेस्ड’मा भनेका छन्– ‘प्रत्येक उत्पीडितले उत्पीडकको सिको गर्छ, नक्कल गर्न खोज्छ ।’ हाम्रो लोकतान्त्रिक गणतन्त्रको अनुभव पनि त्यही हो । हिजो आन्दोलनमा जे–जस्ता भए पनि आज हाम्रा नेताहरू राजा र राणाको सिको गरिरहेका छन् । दलभित्र र शासनसत्तामा उनीहरूको लोकतान्त्रिक व्यवहार र आचरण कत्ति भेटिन्न । निजी स्वार्थपूर्तिका लागि नैतिकताको पनि मतलब गर्दैनन् । नोट र भोटका लागि विचार, इमान, जमान सबै बेच्छन् । तैपनि, जातीय संरचना, संस्कार र संस्कृति भने सदैव जोगाइराख्न चाहन्छन् ।
सबैभन्दा दुःखद पक्षचाहिँ यो छ कि हाम्रो प्रतिनिधित्व गर्ने नेता या अगुवाहरू यसको प्रतिवाद गर्न अक्षम छन् । आफ्नो पीडित समुदायको न्याय र डिग्निटीका लागि वकालत गर्न असमर्थ देखिन्छन् । ठूला नेताले राजा या राणाको सिको गरेजस्तै दलित नेताले आफ्ना दलको नेताको नक्कल गर्दै छन् । दलितमुक्ति होइन व्यक्तिगत, परिवारगत लाभहानिका आधारमा क्रियाशील भइरहेका छन् । आफ्नैबाट धेरैपटक बेइमानी र धोका भइरहेको हुनाले नै आमपीडितमा दलित शब्दप्रति नै एकखाले आक्रोश र घृणा जागेको छ ।
हाम्रो आत्मसम्मान र आत्मविश्वास यो समाज, राज्य, हाम्रो संस्कार र यहाँको राजनीतिले चुसिसकेको छ, यार्सागुम्बाले झुसिलकीराको जीवनरस चुसेझैँ । हामी बाँचेर पनि मरेतुल्य छौँ ।
फलस्वरूप, आज दलितको उल्लेख्य आन्दोलन नै छैन । स्वतन्त्र विचार नै छैन । बहसै छैन भन्दा हुन्छ । यार्सागुम्बामा झुसिलकीराझैँ दलमा झुन्डिएका त छन् धेरै अग्रजहरू, तर उनीहरू झन्डै मूच्र्छित अवस्थामा छन् । नेताकै गुलामी गरेर आफ्नो दशकौँको लगानी, त्याग र तपस्याको साँबा–ब्याज लिने जुक्तिमा छन् । नीतिभन्दा नेता बलियो, विचारभन्दा गुट बलियो भएपछि कसको के लाग्छ ?
नवराज हत्याकाण्डपश्चात् र पछिल्लो समय रूपा सुनार डेराकाण्डलगत्तै दलितको आन्दोलन उठ्ने ठूलो अवसर थियो । अमेरिकामा जर्ज फ्लोइडको हत्यापश्चात् कालाहरूको विद्रोहको एक झिल्को मात्रै दलित आन्दोलनमा परेको भए हाम्रो क्रान्ति उठ्ने थियो । सबै दलमा आबद्ध साथीले सुरुमा केही प्रयास गरेका पनि हुन् । तर, सल्कनै लागेको आगोमा चिसो पानी खन्याउने काम कतिपय गन्यमान्य दलित नेताबाटै भयो । केहीले त नवराज घटनापश्चात् उठ्न लागेको आन्दोलन दबाएकामा विष्टबाट पुरस्कार पनि प्राप्त गरिसके ।
समस्या स्वार्थी दलित अगुवामा मात्र देख्नु गल्ती हुन्छ । वास्तविक दोषी समग्र व्राह्मणवादी संरचना, चिन्तन, संस्कार र संस्कृति हो । नैतिक र आर्थिक भ्रष्टाचार हो । कानुनीराज्यको विनाश हो । अब पनि उच्च जातीय पार्टी नेताकै भरमा दलित मुक्ति हुन्छ, छुवाछूत मेटिन्छ, समानता र भाइचारा फैलिन्छ भन्ने सोच्नु आत्मघाती विचार हो ।
बेलायतबाट फर्किएर एक स्वतन्त्र दलित आन्दोलन उठाउने लक्ष्यसाथ गाउँघर घुम्ने क्रममा जातीय उत्पीडनको समस्या अझै विकराल देखियो । आफ्नो मुद्दा आफ्नै अगुवाले भुल्दै गएकोमा धेरै दलित आक्रोसित देखिए । सुखद पक्ष यो छ कि कतिपय समाजले पत्याएका, राजनीति वा मिडियामा केही हैसियत बनाइसकेका केही दलित अगुवा पनि स्वतन्त्र संगठनमार्फत संघर्ष चर्काउने उद्देश्य लिएर हिँडेका छन् । तर, अधिकांश दलित अभियन्ताको आन्दोलन वा विद्रोहीबारे निश्चित ‘भिजन’ छैन । पहिले उपल्लो जातले जस्तो प्रशिक्षण दिएका थिए त्यही ओकल्छन् । उनीहरू प्रायः धर्मसंस्कारको कुरै गर्न रुचाउँदैनन् । छुवाछूतको मूल स्रोत शास्त्र र परम्परा हो भन्ने जानेर वा नजानेर खालि शिक्षा, स्वास्थ्य, रोजगारी, आदि विषयमा मात्रै केन्द्रित हुन खोज्छन् ।
व्राह्मणवादी शिक्षाले उनीहरूलाई उत्पीडनबारे सही इतिहास पढाएकै छैन । बाहुन नेताले धर्मसंस्कृतिको दोष देखाएकै छैनन् । खालि वर्गीय मुक्तिको कुरो गरेर अल्मल्याउँदै आएका छन् र तिनका दलित कार्यकर्ताले त्यसैको सुगारटाइ गरिरहेका छन् । तसर्थ, हाम्रै पालामा छुवाछूतमुक्त राष्ट्र निर्माण गर्ने हो भने हामी यार्सागुम्बामा झुसिलकीराझैँ टासिन छोड्नुपर्छ । सांगठानिक र बौद्धिक दुवै हिसाबले स्वतन्त्र हुनुपर्छ ।